
26/07/2025
धादिङ — नीलकण्ठ नगरपालिका–४ स्थित रानाडाँडामा प्रदेश सरकारको बजेट प्रयोग गरी नेताहरूका व्यक्तिगत जग्गामा सम्याउने र गरा बनाउने कार्य भइरहेको खुलासा भएको छ।
स्थानीय स्रोतका अनुसार नेकपा एमाले धादिङका उपाध्यक्ष अर्जुन कु श्रेष्ठ (गोर्खाली)को व्यक्तिगत वारीमा सरकारी बजेटबाट डोजर लगाएर सम्याउने, उकास्ने र गरा बनाउने कार्य तीव्र रूपमा भइरहेको छ। सोही क्षेत्रको केही तलपट्टि नेपाली कांग्रेसका नेता बिरबहादुर सिंह ठकुरीले समेत आफ्नो खेत सम्याउने काम गरिरहेका छन्।
दुवै दलका नेताहरूले सरकारी स्रोतको व्यक्तिगत लाभमा प्रयोग गरिरहेको विषयमा स्थानीयवासीहरूले गम्भीर आपत्ति जनाएका छन्। उनीहरूका अनुसार सार्वजनिक बजेट जनताको साझा विकासमा प्रयोग हुनुको साटो सीमित व्यक्ति र नेताहरूको निजी स्वार्थ पूर्तिमा खर्च भइरहेको छ।
हालसम्म प्रदेश सरकार, नगरपालिका वा सम्बन्धित निकायबाट यसबारे कुनै आधिकारिक प्रतिक्रिया आएको छैन। स्थानीयले यो विषयमा छानबिन गर्न माग गर्दै सम्बन्धित निकायलाई जानकारी गराइसकेको जनाइएको छ।