03/08/2025
बझाङ देखि भारतमा मजदुरी गर्न पुगेका बेला त्यहिं कमाएको पैसाले ट्रेनिङ गर्न र खेल खेलेका थिए ! भारतको राष्ट्रिय MMA प्रतियोगिता जितेपछि रविन्द्र ढाँटका सामु एक ऐतिहासिक मोड आयो। भारतीय झण्डा उठाउँदै विश्वस्तरमा लड्न सक्ने अवसर थियो। धेरैको सपना त्यतिनैमा पुरा हुन्थ्यो, तर रविन्द्रका लागि त्यो आफैँलाई बिर्सनु जत्तिकै पीडादायी थियो।
“भारतीय झन्डा उठाउँ भन्नुभयो, तर म त नेपाली थिएँ नि। म त्यो गर्न सक्दिनथेँ,” उनले दृढताका साथ भने।
उक्त अफरले उनलाई नेपाली नागरिकता त्यागेर भारतीय बन्न भनेको थियो - तब मात्रै अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न मिल्ने भनिएको थियो। तर रविन्द्रले आफ्नो पहिचान, आफ्नो माटो र आफ्नो देशसँगको सम्बन्ध कुनै पदक वा नामकै लागि साट्न चाहेनन्।
त्यसपछि उनले आफूले जितेको राष्ट्रिय उपाधिसँगै भारतलाई छाडे र नेपाल फर्किए - जहाँ त्यतिबेला MMA को कुनै संघ थिएन, न कुनै संरचना। यो निर्णयले उनको यात्रा कठिन बनायो, तर आत्मा शान्त थियो। उनले देशलाई रोजे - खेल होइन।