14/09/2026
कठै, निस्तिखोलाले बगायो कल्पनाको तीजमा माइती जाने सपना, दुई छोराछोरी भए आमाविहीन, ‘आमा खोइ ?’ भन्दै कुरिरहेका छन् कलिला सन्तान ।
तीजको दर खाने दिन। बिहानैदेखि २८ वर्षीया कल्पना पुनको घरमा खुसी थियो। माइती जाने दिन भएकाले उनले आफू सिङ्गारिइन्, छोराछोरीलाई पनि तयार पारिन्। भान्साको कुनामा राखिएको झोला निकालेर माइतीका लागि पाहुरसमेत बाँधिन्।
मनमा एउटै खुसी थियो । तीजमा माइती जाने, दिदीबहिनी भेट्ने र सँगै दर खाने। गुल्मीको मुसिकोट नगरपालिका–४ दजाकोट घर भई मुसिकोट–५ इन्द्रगौडामा डेरा गरी बस्दै आएकी कल्पना छोराछोरीसहित माइतीतर्फ लागिन्। उनको माइती इस्मा गाउँपालिका–४ हुलामा थियो। माइती पुग्ने क्रममा उनी बाङ्गेको फेदी हुँदै निस्तिखोला र अध्यारीखोलातर्फ पुगेकी थिइन्। त्यतिबेला निस्तिखोलामा पानीको बहाव बढेको थियो।
कल्पनाले पहिले आफ्ना छोराछोरीलाई सुरक्षित रूपमा खोला तारिन्। पल्लो किनारमा पुगेका बच्चाहरू आमालाई कुरिरहेका थिए। तर आमाको हातमा माइतीका लागि बोकेको पाहुरको झोला थियो। छोराछोरीलाई खोला तारिसकेपछि उनी आफैँ फर्किइन्। त्यही क्रममा उर्लिएको निस्तिखोलाले उनलाई बगायो।
माइतीका लागि बोकेको पाहुरको झोला र चप्पल खोलाको किनारमै भेटिए। तर कल्पना भने तत्काल भेटिइनन्। आमालाई कुरिरहेका कलिला छोराछोरीले ‘आमा... आमा...’ भन्दै बोलाइरहे। तर आमाको आवाज फर्किएन।
उता इस्मा–४ हुलास्थित माइतीघरमा भने तीजको दिन छोरी आउने प्रतीक्षा भइरहेको थियो। घरमा चेली आउने खुसी थियो। तर साँझतिर कल्पना निस्तिखोलामा बगेको खबर पुगेपछि त्यो खुसी एकाएक शोकमा बदलियो।
प्रहरी र स्थानीयवासीले खोलाको किनार हुँदै कल्पनाको खोजी सुरु गरे। खोजीका क्रममा बगेको स्थानभन्दा तल ‘ढड्यान’ भन्ने ठाउँमा उनको शव फेला परेको हो।
कल्पनाले माइतीका लागि पाहुर बोकेकी थिइन्। तर त्यो पाहुर माइतीघर पुग्न सकेन। तीजमा माइती हिँडेकी कल्पना पनि माइतीको आँगनसम्म पुग्न सकिनन्।
माइतीघरमा छोरी आउने प्रतीक्षा सकियो। तर उनका दुई कलिला छोराछोरीको आमाको प्रतीक्षा भने अब कहिल्यै सकिने छैन।
तीज हरेक वर्ष आउँछ। दिदीबहिनी माइती जान्छन्, दर खान्छन्, गीत गाउँछन् र रमाउँछन्। तर कल्पनाका छोराछोरीका लागि आउने हरेक तीजले सायद एउटै प्रश्न बोकेर आउनेछ—‘आमा खोइ ?’
यसपालिको तीज धेरै परिवारका लागि खुसीभन्दा बढी पीडा बोकेर आएको छ। कतै बाढीले चेली खोसेको छ, कतै श्रीमतीको प्रतीक्षामा श्रीमान् छन्, कतै आमाको बाटो हेर्दै बालबालिका छन्।
कल्पनाको तीज एक दिनका लागि मात्र रोकिएको होइन। उनका छोराछोरीका लागि अब हरेक तीज अधुरो हुनेछ। माइतीका लागि बोकेको पाहुर बाटोमै छुट्यो, माइतीघरमा छोरी भेट्ने खुसी अधुरै रह्यो र दुई कलिला बालबालिकाबाट आमाको साथ सदाका लागि खोसियो।