14/07/2025
बराहक्षेत्र–७ मा सार्वजनिक सुनुवाइ सम्पन्न
२०७९ असार ३०, बराहक्षेत्र, सुनसरी।
बराहक्षेत्र नगरपालिका वडा नं–७ ले आर्थिक वर्ष २०८१/८२ को सार्वजनिक सुनुवाइ कार्यक्रम आइतबार वडा कार्यालयको प्रांगणमा सफलता साथ सम्पन्न गरेको छ। कार्यक्रममा वडाको नीति, योजना, सेवा प्रवाह, उपलब्धि तथा चुनौतीहरूबारे सर्वसाधारणलाई प्रत्यक्ष जानकारी प्रदान गरिएको थियो।
कार्यक्रमको स्वागत मन्तव्य वडा सदस्य मेनुका लिम्बुले राखेकी थिइन्। प्रमुख वक्ताका रूपमा वडा अध्यक्ष कपील आचार्यले वडाको बजेट, योजना, सेवा र कार्यान्वयन प्रक्रियाबारे विस्तृत जानकारी दिँदै पारदर्शिता र जनप्रतिनिधिको जवाफदेहिता अभिवृद्धिका लागि सार्वजनिक सुनुवाइ कार्यक्रमहरू अत्यावश्यक रहेको बताए।
कार्यक्रममा वडा सदस्यहरू मेगराज राई, धनबहादुर तामाङ, अम्बिका दर्नाल, वडा सचिव सबिता लम्साल, बाँगे प्रहरी हेमा थापा, साथै विभिन्न राजनीतिक दलका प्रतिनिधि, पत्रकार, बुद्धिजीवी, सामाजिक संस्थाका पदाधिकारी तथा स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
स्थानीयवासी तथा सरोकारवालाहरूले वडास्तरीय समस्या र समाधानका विषयमा खुलस्त धारणा राख्दै शिक्षा, स्वास्थ्य सेवा सुधार, कृषकका समस्या समाधान, कृषि विकास तथा बाटोघाटो सुधार जस्ता विषयमा विशेष जोड दिएका थिए। उनीहरूले योजना निर्माणदेखि कार्यान्वयनसम्म जनताको प्रभावकारी सहभागिता सुनिश्चित गर्न माग गरे।
कार्यक्रमको समापन गर्दै वडा अध्यक्ष आचार्यले उठाइएका सुझाव र गुनासाहरूलाई गम्भीरतापूर्वक लिइने तथा समाधानका लागि आवश्यक पहल गरिने प्रतिबद्धता व्यक्त गरे। साथै, आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ व्यवस्थित, प्रभावकारी र सहभागीपूर्ण बनाउने आश्वासन पनि दिए।
कार्यक्रममा वडा नं–७ का तर्फबाट विभिन्न खेलकुद तथा चित्रकला प्रतियोगितामा उत्कृष्टता हासिल गर्ने खेलाडीहरू र विद्यार्थीहरूलाई सम्मानपत्रद्वारा सम्मानित गरिएको थियो।
कार्यक्रमको संचालन कोशी सम्मान डटकमका सञ्चालक हिरण्य कार्कीले गरेका थिए। कोशी सम्मान डटकम कार्यक्रमको सह–संयोजकको रूपमा रहेको थियो भने पूर्वी पहिलो खबर, बराह दर्पण, हाम्रो पिपलगाछी र बराह्सेरोफेरो कार्यक्रमका मिडिया पार्टनर थिए।
शुभकामना मन्तव्यका क्रममा वडा नं–७ का पूर्व वडाध्यक्ष बीरबहादुर लिम्बु तथा विभिन्न राजनीतिक दलका संयोजकहरूले आ–आफ्नो धारणा व्यक्त गरेका थिए।
कार्यक्रमले स्थानीय सरकार र जनताबीचको दूरी घटाउने, पारदर्शिता अभिवृद्धि गर्ने र जनविश्वास सुदृढ पार्ने सकारात्मक प्रभाव पारेको सहभागीहरूको धारणा थियो। साथै, यसले सुशासन, जवाफदेहिता र सहभागी विकास प्रक्रियामा टेवा पुर्याउने अपेक्षा गरिएको छ।