Letang Khabar

Letang Khabar लेटाङ नगरपालिका लगायत आसपासका छेउछाउका गतिविधिहरुलाई यस समाचार पाेर्टल मार्फत प्रकाशन गरिनेछ ।

सुचना तथा सञ्चारको सहज पहुँचका लागि लेटाङ खबरको स्थापना भएको हो । हामी निरन्तर खबरदारी गरिरहेका छौ ।

सुचना तथा बिज्ञापनका लागि सम्पर्क :- 9842145045

www.letangkhabar.com

लेटाङको राजारानीमा केराले फेरिदियो किसानको जीवनलेटाङ, २६ असोज। कुनै समय बाँझो देखिने उत्तरी मोरङको लेटाङ–१ राजारानी क्षे...
11/09/2026

लेटाङको राजारानीमा केराले फेरिदियो किसानको जीवन

लेटाङ, २६ असोज। कुनै समय बाँझो देखिने उत्तरी मोरङको लेटाङ–१ राजारानी क्षेत्र अहिले केराका बोटले हराभरा बनेको छ। पानीको अभावका कारण मकै, कोदो र जुनेलो खेतीबाट अपेक्षित आम्दानी लिन नसकेका किसानले केरालाई व्यावसायिक खेतीका रूपमा अपनाएपछि गाउँको कृषि प्रणालीसँगै किसानको आम्दानीसमेत बदलिन थालेको छ।

स्थानीय किसान विष्णुकुमार मगरले करिब ६ वर्षअघि ५० वटा बिरुवा रोपेर सुरु गरेको केराखेती अहिले १२ रोपनी क्षेत्रफलमा फैलिएको छ। उहाँले केराखेतीबाट वार्षिक करिब ६ लाख रुपैयाँ आम्दानी गर्दै आउनुभएको छ। थप १० रोपनीमा खेती विस्तार गरेपछि उहाँको केराखेती २२ रोपनी पुगेको छ। मगरका अनुसार केराखेतीमा सुरुवाती लगानी तुलनात्मक रूपमा कम हुने र एकपटक रोपिएका बिरुवाबाटै थप बिरुवा उत्पादन हुने भएकाले किसानका लागि यो खेती आकर्षक बनेको हो।

राजारानीमा मगरले सुरु गरेको केराखेतीबाट प्रेरित भएर अन्य किसानले पनि खेती विस्तार गरेका छन्। कर्णबहादुर आलेमगरले २० रोपनी र हंश मगरले २५ रोपनी क्षेत्रफलमा केराखेती गरिरहनुभएको छ। त्यस्तै, गाउँका धेरै किसानले २०–२५ वटा बोटदेखि एक–दुई रोपनीसम्ममा केरा लगाएका छन्। राजारानीबाहेक हर्दे, कात्तिके, मुर्चुङ्गे, सरुचेटार, ढाक्रे र अँधेरी क्षेत्रका किसानले समेत परम्परागत खाद्यान्न बालीको विकल्पमा केराखेती सुरु गर्न थालेका छन्।

किसानका अनुसार भोटाङे जातको केरालाई लेटाङको हावापानी उपयुक्त देखिएको छ। यसको थाम बलियो हुने भएकाले हावाहुरीबाट क्षति कम हुने गरेको उनीहरूको अनुभव छ। करिब ६० रुपैयाँमा बिरुवा खरिद गरेर खाल्डो खन्ने र रोप्ने खर्चसहित करिब २ सय रुपैयाँ आसपासमा एउटा बिरुवा रोप्न सकिने किसान बताउँछन्। रोपेको करिब एक वर्षपछि उत्पादन दिन सुरु गर्ने केराको घरी बगानबाटै ३५० देखि ४०० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ।

केराखेतीमा स्थानीय स्रोतबाट तयार हुने मल प्रयोग गर्न सकिने तथा नियमित गोडमेलबाहेक धेरै श्रम आवश्यक नपर्ने भएकाले किसानले यसलाई सहज खेतीका रूपमा लिएका छन्। केरासँगै सुपारीसमेत लगाउन थालिएको छ। केराको बगानमा सुपारीका बिरुवा हुर्काउने प्रयोगसमेत भइरहेको किसान विष्णुकुमार मगरले बताउनुभयो। उहाँले हाल करिब ३५० वटा सुपारीका बिरुवा रोपेर परीक्षण गरिरहनुभएको छ।

व्यावसायिक केराखेतीले बाँझो जमिनलाई उत्पादनशील बनाउनुका साथै स्थानीय किसानको आम्दानीको नयाँ आधार तयार गरेको छ। तर, वर्षायाममा गाउँसम्म पुग्ने सडकमा समस्या हुँदा उत्पादित केरा बजारसम्म लैजान र व्यापारीलाई बगानसम्म पुर्‍याउन कठिन हुने किसानको गुनासो छ। सडक पूर्वाधारलाई थप व्यवस्थित गर्न सके केराखेतीको विस्तारसँगै किसानको आम्दानी अझ बढ्ने स्थानीयको अपेक्षा छ।

लेटाङ–५ को कांग्रेस सभापतिमा नारायण अधिकारी (खत्री) को चर्चालेटाङ २६ भदौ। आसन्न नेपाली कांग्रेसको अधिवेशनको चर्चा चलिरहँ...
11/09/2026

लेटाङ–५ को कांग्रेस सभापतिमा नारायण अधिकारी (खत्री) को चर्चा

लेटाङ २६ भदौ। आसन्न नेपाली कांग्रेसको अधिवेशनको चर्चा चलिरहँदा मोरङको लेटाङ नगरपालिका–५ को वडा सभापतिको उम्मेदवारका रूपमा नारायण अधिकारी (खत्री) को नाम चर्चामा आउन थालेको छ। कांग्रेसभित्र संगठनलाई थप सुदृढ बनाउने र वडा तहमा पार्टीको उपस्थिति प्रभावकारी बनाउने योजनासहित अधिकारीको उम्मेदवारीबारे चर्चा बढेको हो।

अधिकारीले आफूलाई वडा सभापतिको जिम्मेवारी दिइए पार्टीभित्र एकता कायम गर्दै सबैलाई समेटेर अघि बढ्ने बताएका छन्। उनले कांग्रेसलाई जनताको घरदैलोसम्म पुर्‍याउँदै स्थानीयस्तरमा पार्टीप्रति जनविश्वास बढाउने र संगठनलाई थप सक्रिय बनाउने आफ्नो प्राथमिकता रहेको बताए।

नेपाली कांग्रेसले सार्वजनिक गरेको कार्यतालिकाअनुसार गाउँ–नगर वडा अधिवेशन २०८३ असोज ३ र ४ गते हुने तय गरिएको छ। वडा अधिवेशनबाट वडा कार्यसमिति निर्वाचनसँगै क्षेत्रीय प्रतिनिधिसमेत चयन हुनेछन्। त्यसपछि असोज ७ गते गाउँ–नगरपालिका अधिवेशन, असोज १० गते प्रदेश सभा क्षेत्रीय तथा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन र असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका रहेको छ।

तलका महत्वपुर्ण कागजात भेटिएकाे हुनाले सम्बन्धितले सम्पर्क गर्नुहाेला ।Contact: 9804323897
10/09/2026

तलका महत्वपुर्ण कागजात भेटिएकाे हुनाले सम्बन्धितले सम्पर्क गर्नुहाेला ।

Contact: 9804323897

सांसद दीपक साह बने उद्योग मन्त्रीकाठमाडौं, २५ भदाै। खाना पकाउने ग्यासको समस्या समाधान गर्न नसकेपछि उद्योग, वाणिज्य तथा आ...
10/09/2026

सांसद दीपक साह बने उद्योग मन्त्री

काठमाडौं, २५ भदाै। खाना पकाउने ग्यासको समस्या समाधान गर्न नसकेपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएपछि सुनसरी–४ बाट निर्वाचित दीपककुमार साह नयाँ उद्योग मन्त्री नियुक्त भएका छन्। साहले बिहीबार नै पदीय जिम्मेवारी सम्हालेका छन्।

इन्जिनियर पेसाका साहले जनमत पार्टी गठनमा डा. सीके राउतलाई सहयोग गर्दै उपाध्यक्ष तथा अनुशासन आयोग प्रमुखको जिम्मेवारीसमेत सम्हालेका थिए। पछि पार्टी नेतृत्वसँगको विवादका कारण जनमतबाट निष्काशित भएपछि उनले जनस्वराज पार्टी गठन गरे पनि त्यसलाई कानुनी मान्यता प्राप्त हुन सकेन। त्यसपछि ‘सर्वोदय’ नामक दल गठन गरेका साहको पार्टी चुनावअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा विलय भएको थियो।

रास्वपाबाट सुनसरी–४ मा उम्मेदवार बनेका साहले नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीलाई पराजित गर्दै पहिलोपटक प्रतिनिधिसभामा निर्वाचित भएका थिए। यसअघि विभिन्न राजनीतिक दल गठन, प्रवेश र परित्याग गर्दै आएका साह अहिले संघीय सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारीमा पुगेका छन्।

संखुवासभामा चट्याङ लागेर सुन्दरहरैँचाका उमेश दाहालको मृत्युसुन्दरहरैँचा, २५ भदौ २०८३ । संखुवासभामा चट्याङ लागेर मोरङको स...
10/09/2026

संखुवासभामा चट्याङ लागेर सुन्दरहरैँचाका उमेश दाहालको मृत्यु

सुन्दरहरैँचा, २५ भदौ २०८३ । संखुवासभामा चट्याङ लागेर मोरङको सुन्दरहरैँचा नगरपालिका–११ शुक्रबारेका उमेश दाहालको मृत्यु भएको छ।

बुधबार दिउँसो हावाहुरी र वर्षासँगै परेको चट्याङ लाग्दा पाँचखपन नगरपालिका–८ पोख्राङस्थित पुख्र्यौली घरमा रहेका दाहालको मृत्यु भएको हो। उनी अलैँची बगानमा अलैँची छोडाउने क्रममा चट्याङको चपेटामा परेका थिए।

अलैँची छोडाउने क्रममा तीन जना एउटै स्थानमा बसेका थिए। बीचमा बसेका दाहाललाई चट्याङको प्रत्यक्ष असर परेको थियो भने उनको दायाँबायाँ बसेका अन्य दुई जनालाई भने कुनै क्षति नभएको जनाइएको छ।

मृतक दाहाल लामो समयदेखि सुन्दरहरैँचा–११ शुक्रबारेमा बसोबास गर्दै आएका थिए। घटनाले स्थानीय तथा आफन्तजनमा शोक छाएको छ।

लेटाङ जेसीजको सप्ताह कार्यक्रम सुरु, वक्तृत्वकलामा शिक्षा विकास मावि प्रथमलेटाङ, २५भदौ । लेटाङ जेसीजको सप्ताहव्यापी ‘जेस...
10/09/2026

लेटाङ जेसीजको सप्ताह कार्यक्रम सुरु, वक्तृत्वकलामा शिक्षा विकास मावि प्रथम

लेटाङ, २५भदौ । लेटाङ जेसीजको सप्ताहव्यापी ‘जेसीज सप्ताह २०२६’ कार्यक्रम आजदेखि औपचारिक रूपमा सुरु भएको छ। लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी निरौलाको प्रमुख आतिथ्यतामा सप्ताह कार्यक्रमको उद्घाटन गरिएको हो। लेटाङ जेसीजकी अध्यक्ष सङ्गिता श्रेष्ठको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा जेसीज सप्ताहअन्तर्गत विभिन्न सामाजिक, शैक्षिक, रचनात्मक तथा क्षमता विकाससम्बन्धी कार्यक्रम सञ्चालन गरिने जानकारी दिइएको छ।

सप्ताहको पहिलो कार्यक्रमअन्तर्गत ‘लेटाङको सुन्दरता, प्रकृति, संस्कृति र पर्यटन’ विषयमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो। प्रतियोगितामा लेटाङ क्षेत्रका १५ वटा विद्यालयका विद्यार्थीको सहभागिता रहेको थियो। प्रतियोगितामा श्री शिक्षा विकास माध्यमिक विद्यालयकी प्रशंसा पुरी प्रथम, पब्लिक सेन्ट्रल बोर्डिङ स्कुलकी इक्सा लिम्बू द्वितीय र मोरङ पाथिभरा इङ्लिस स्कुलकी प्रज्ञालिका तामाङ तृतीय भएका छन्। सहभागी विद्यार्थीहरूले लेटाङको प्राकृतिक सौन्दर्य, स्थानीय संस्कृति तथा पर्यटनको सम्भावनाका विषयमा आफ्ना विचार प्रस्तुत गरेका थिए।

लेटाङ जेसीजकी अध्यक्ष सङ्गिता श्रेष्ठले सप्ताहलाई युवाको क्षमता विकाससँगै सामाजिक उत्तरदायित्व र सकारात्मक सोच अभिवृद्धि गर्ने अवसरका रूपमा अघि बढाइएको बताउनुभयो। सप्ताहअन्तर्गत आगामी भदौ २७ गते बिहान ७ः३० बजे बीपी चोकमा स्लो बाइक रेस, त्यसपछि संविधान, मौलिक हक तथा न्यायपालिकासम्बन्धी सचेतनामूलक कार्यक्रम, निःशुल्क आँखा जाँच शिविर, विद्यार्थी उत्प्रेरणा कार्यक्रम तथा साहित्यिक कार्यक्रम आयोजना गरिने उहाँले जानकारी दिनुभयो। सप्ताह मूल संयोजक जेसी तेजुराम राई र महासचिव जेसी पवन दाहालसहित लेटाङ जेसीजले सबै कार्यक्रम सफल बनाउन सहयोग तथा सहभागिताका लागि आग्रह गरेको छ।

पर्स तथा सवारी चालक अनुमतिपत्र हराएको सम्बन्धी सूचनालेटाङ–५, खेरुवा निवासी खड्गबहादुर खपाङ्गी मगरको आज मिति २०८३ साल भदौ...
10/09/2026

पर्स तथा सवारी चालक अनुमतिपत्र हराएको सम्बन्धी सूचना

लेटाङ–५, खेरुवा निवासी खड्गबहादुर खपाङ्गी मगरको आज मिति २०८३ साल भदौ २६ गते बिहान लेटाङ–२ बाट लेटाङ बजार आउने क्रममा पर्स तथा पर्स सहित अटो सवारी चालक अनुमतिपत्र (लाइसेन्स) हराएको हुँदा भेट्टाउनुहुने महानुभावले कृपया सम्बन्धित व्यक्तिलाई बुझाइदिनुहुन हार्दिक अनुरोध छ। फेला पार्नुहुने व्यक्तिलाई उहाँले आभारी हुने बताउनुभएको छ।

सम्पर्क नं. ९८६३८४८४१०३

उद्योगमन्त्री गौरीकुमारी यादवद्वारा राजीनामाकाठमाडौं, २५ भदाै । उद्योगमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्...
10/09/2026

उद्योगमन्त्री गौरीकुमारी यादवद्वारा राजीनामा

काठमाडौं, २५ भदाै । उद्योगमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्। मन्त्री यादवले प्रधानमन्त्री बालेन शाहसमक्ष आफ्नो राजीनामा बुझाएको उनका सञ्चार संयोजक कमल चौलागाईंले जानकारी दिएका छन्।

मन्त्री यादवले बुधबार संसदीय समितिको बैठकमा ग्यास उद्योगीहरूलाई लक्षित गर्दै विवादास्पद अभिव्यक्ति दिएकी थिइन्। उनको अभिव्यक्तिलाई लिएर उद्योगीहरूले आपत्ति जनाउँदै असन्तुष्टि व्यक्त गरेका थिए।

ग्यास उद्योगीहरूले मन्त्री यादवको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रधानमन्त्रीसमक्ष समेत ध्यानाकर्षण गराएका थिए। विवाद बढ्दै गएपछि मन्त्री यादवले पदबाट राजीनामा दिएको बताइएको छ। उनको राजीनामाबारे प्रधानमन्त्री कार्यालयबाट भने औपचारिक धारणा सार्वजनिक हुन बाँकी रहेको छ।

10/09/2026

रसुवा–भोटेकोशी बाढीपीडितका लागि लिटल फ्लावर स्कुलको सहयोग अभियान

लेटाङ, २५ भदौ । रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको सहयोगार्थ लेटाङ–५ स्थित लिटल फ्लावर बोर्डिङ स्कुलले सहयोग संकलन अभियान सञ्चालन गरिरहेको छ।

विद्यालयका संस्थापक एनके देवकोटाका अनुसार बाढीपीडित दाजुभाइ तथा दिदीबहिनीलाई सहयोग गर्ने उद्देश्यले शिक्षक, विद्यार्थी, विद्यालय र अभिभावकको सहभागितामा सहयोग संकलन भइरहेको हो। अभियानअन्तर्गत हालसम्म रु. ३० हजार सहयोग संकलन भएको विद्यालयले जनाएको छ।

संकलित रकम मोरङ प्याब्सनमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको देवकोटाले जानकारी दिए। बाढीपीडितको राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले अभियानलाई निरन्तरता दिइएको विद्यालयले जनाएको छ।

विद्यालयले सहयोग अभियान अझै जारी रहेकाले इच्छुक शिक्षक, विद्यार्थी, अभिभावक तथा अन्य शुभेच्छुकलाई मानवीय सहयोगमा सहभागी हुन आग्रह गरेको छ। ‘सानो सहयोग, ठूलो सहारा’ भन्ने भावनासहित सञ्चालन गरिएको अभियानले विपद्मा परेका परिवारलाई केही राहत पुग्ने अपेक्षा गरिएको छ।

लेटाङ खबरका सम्पादक प्रशान्त निरौला प्रेस युनियन मोरङको उपाध्यक्षमा सर्वसम्मतविराटनगर, २६ भदाै। नेपाल प्रेस युनियन मोरङक...
09/09/2026

लेटाङ खबरका सम्पादक प्रशान्त निरौला प्रेस युनियन मोरङको उपाध्यक्षमा सर्वसम्मत

विराटनगर, २६ भदाै। नेपाल प्रेस युनियन मोरङको १२औँ अधिवेशनले भोजराज बस्नेतको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। मङ्गलबार विराटनगरमा सम्पन्न अधिवेशनबाट लेटाङ खबरका सम्पादक प्रशान्त निरौला उपाध्यक्षमा सर्वसम्मत चयन भएका छन्।

नयाँ कार्यसमितिको उपाध्यक्षमा प्रशान्त निरौला र गोपाल पोखरेल चयन भएका छन् भने महिला उपाध्यक्षमा उषा सरदार चुनिएकी छन्। सचिवमा सन्तोषकुमार बास्तोला, सहसचिवमा अनुज सापकोटा र अन्जना पराजुली तथा कोषाध्यक्षमा दिलिप अग्रवाल चयन भएका छन्।

त्यसैगरी सदस्यहरूमा सरस कट्टेल, सुभास भण्डारी, पारस मण्डल, दिपेन्द्र साह, बिबेक मेहता, प्रेम पारख, अफताफ अलि, दिपा धिमाल र समय घिमिरे चयन भएका छन्। अधिवेशनबाट सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन भएसँगै नेपाल प्रेस युनियन मोरङलाई थप गतिशील बनाउँदै श्रमजीवी पत्रकारहरूको हकहित, पेशागत सुरक्षा र पत्रकारिताको विकासका लागि प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ।

Address

Letang
Dharan
56600

Alerts

Be the first to know and let us send you an email when Letang Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Letang Khabar:

Shortcuts

Share