Mero Lumbini

Mero Lumbini News from the world

07/06/2026
06/06/2026

राष्ट्रपति रनिङ शिल्डमा गुरुकुलकि छात्रा गरिमाको ऐतिहासिक सफलता : दुई स्वर्णसहित चार पदक

दाङ, २३ जेठ । दाङ घोराहीको गुरुकुल एकेडेमीमा अध्ययणरत छात्रा प्रतिभाशाली धाविका गरिमा चौधरीले १६औँ राष्ट्रिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८३ मा उत्कृष्ट प्रदर्शन गर्दै दुई स्वर्णसहित चार पदक जित्न सफल भएकी छन् । काठमाडौंस्थित दशरथ रंगशाला मा जेठ २० गतेदेखि २३ गतेसम्म सञ्चालन भएको राष्ट्रियस्तरको प्रतियोगितामा उनले लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्दै उल्लेखनीय सफलता हासिल गरेकी हुन् ।

घोराही उपमहानगरपालिका–१७ निवासी चौधरी हाल गुरुकुल एकेडेमी मा अध्ययनरत छिन् । प्रतियोगिताको छात्रातर्फ १०० मिटर र २०० मिटर दौडमा उत्कृष्ट प्रदर्शन गर्दै उनले स्वर्ण पदक जितेकी हुन् । तीव्र गति र आत्मविश्वासपूर्ण प्रदर्शनका कारण उनले दुवै विधामा प्रतिस्पर्धीलाई पछि पार्दै प्रथम स्थान सुरक्षित गर्न सफल भइन् ।

त्यसैगरी, ४×१०० मिटर रिले दौडमा उनले रजत पदक जितिन् भने लङ जम्प प्रतियोगितामा कांस्य पदक हासिल गर्दै कुल चार पदक आफ्नो नाममा दर्ज गरिन् । राष्ट्रियस्तरको प्रतिष्ठित प्रतियोगितामा एउटै खेलाडीले चार पदक जित्नु आफैंमा महत्वपूर्ण उपलब्धि मानिएको छ ।

गरिमालाई गुरुकुल एकेडेमी ले पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने अवसर प्रदान गरेको विद्यालयले जनाएको छ । अध्ययनसँगै अतिरिक्त क्रियाकलाप तथा खेलकुदमा समेत सक्रिय रहेकी गरिमाले विद्यालयस्तरदेखि नै विभिन्न प्रतियोगितामा उत्कृष्ट नतिजा निकाल्दै आएकी थिइन् । विद्यालयले उनको प्रतिभालाई पहिचान गर्दै आवश्यक प्रशिक्षण, हौसला र अवसर प्रदान गरेको थियो ।

विद्यालयका शिक्षक तथा खेल प्रशिक्षकहरूका अनुसार गरिमा सुरुवातदेखि नै मेहनती, अनुशासित र लगनशील विद्यार्थीका रूपमा परिचित थिइन् । नियमित अभ्यास, आत्मविश्वास र विद्यालयको सहयोगकै कारण उनले राष्ट्रिय स्तरमा सफलता हासिल गर्न सकेको बताइएको छ ।

गरिमाको यस सफलताले दाङ जिल्लासहित समग्र लुम्बिनी प्रदेशको खेलकुद क्षेत्रमा नयाँ उत्साह थपेको छ । स्थानीय तह, विद्यालय, खेलप्रेमी तथा अभिभावकहरूले उनको उपलब्धिको प्रशंसा गर्दै आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शनको शुभकामना व्यक्त गरेका छन् ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता विद्यालय तहको सबैभन्दा प्रतिष्ठित राष्ट्रिय खेल प्रतियोगितामध्ये एक मानिन्छ । यस्ता प्रतियोगिताले ग्रामीण तथा मोफसलका प्रतिभावान खेलाडीलाई राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने गरेको छ । गरिमा चौधरीको उपलब्धिले दाङमा खेलकुद क्षेत्रको सम्भावना अझ उजागर गरेको स्थानीय सरोकारवालाहरूको भनाइ छ ।

Address

Ghorahi

Alerts

Be the first to know and let us send you an email when Mero Lumbini posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share