04/01/2024
५. पैसा ? पैसा ?? पैसा ???
मानिस मानिसलाई किन्छ, अनि बेच्छ ।
विवसताको बजारमा क्रय-विक्रय हुन्छ ।।
मानवताको हाट लाग्छ, भाडा चल्छ ।
त्यसैले धनमा मतान्धहुनेहरु कराउँछन् ।।
पैसा ! पैसा !! पैसा !!!
योग्यता प्राप्त योग्य मानवहरु जीउन
संघर्ष गरिरहेछन् ।
बेरोजगारीको कोलाहल, मच्चिरहेछ ।
मलिनतामा झोक्रीएका छन्
मानवताको उपहास देखेर ।।
केवल धन लोलुपहरु मन्त्र झै जप गर्छन् ।।।
पैसा ! पैसा !! पैसा !!!
व्यक्तिगत त के राष्ट्रिय सम्पत्ति नै उडिरहेछ ।
वियर, भोड्का र थ्रीएक्समा
पप्लु र डब्लुमा ।।
अनि चिल्लाउँछन् स्वप्नमा ।।
पैसा ! पैसा !! पैसा !!!
रचना मिति : २०४३ कार्तिक
रचना स्थान : तिराम, सिमलचौर, प्युठान
प्रकाशित मिति : २०४३/०७/०५ बुधबार
प्रकाशित : जय नेपाल, निष्पक्ष साप्ताहिक, दाङ ।