20/09/2023
गुल्मीको सदरमुकाम तम्घासको शिरमा बनेको रेसुङ्गा पार्क निर्माण भएको करिब ८ महिना बित्दा समेत सञ्चालनमा आउन सकेको छैन् । पार्कमा ५ करोड ५९ लाख ५३ हजार ५०१ रुपैयाँको लागतमा धुलिखेल(अर्जुन)न्यु लिजा जेभी तम्घास गुल्मीले पार्क निर्माणको काम गरेको हो । पार्क निर्माण कार्य २०७९ साल फागुन ३० गते सम्पन्न गर्ने गरी सम्झौता भएको थियो
कम्पनीले सम्झौता मितिभन्दा एक महिना अगाबै सम्पन्न गरेको थियो । सम्झौता अनुसार करिब ४९ प्रतिशत रकम भुक्तानी नहुँदा निर्माण कम्पनीले रेसुङ्गा नगरपालिकालाई आयोजना हस्तान्तरण नगरेको हो ।। निर्माण कम्पनीले काम सम्पन्न गरेको महिनौ हुँदा पनि भुक्तानी नपाउँदा गुल्मीको रेसुङ्गामा बनेको पार्क अलपत्र छ। भुक्तानी नपाउँदा निर्माण कम्पनीले आयोजना हस्तान्तरण नगरेपछि त्यसको सञ्चालन तथा व्यवस्थापनमा समस्या देखिएको हो। गुल्मीको सदरमुकाम तम्घासको शिरमा र रेसुङ्गाको काखमा बनेको यो गर्जुरामा पार्क अवलोकन गर्न जानेहरु जान पाएका छैनन् । पार्क क्षेत्र ३ दशमलव ९६ हेक्टर क्षेत्रफलमा फैलिएको छ । पार्क भित्र भ्यूटावर, पीङ, पाँच वटा पिकनिक ट्रस, फोटोग्राफी जोन, बच्चाबच्चीको लागि प्ले जोन, पिकनिक स्पोर्ट, भलिबल र व्याडमिन्टन मैदान, बीचबीचमा पैदल मार्ग (बाग्लुङबाट ल्याइएको ढुंगाबाट), शौचालय, टिकट काउन्टर, विभिन्न जनावरका आकृति देखिने फोहोर मैला फाल्ने डसबिन, पार्किङ्ग लगायतका निर्माणको काम भएको छ ।
पार्कले रेसुङ्गासँगै धार्मिक, ऐतिहासिक, प्राकृतिक एवं पर्यटकीय दृष्टिकोणले महत्व बढाउने अपेक्षा लिइएको छ । पार्क निर्माणको लागि नागरिक उड्डयन मन्त्रालयको ७० प्रतिशत र रेसुङ्गा नगरपालिकाको ३० प्रतिशत लगानी रहेको छ ।
आयोजनाको रकम भुक्तानी नहुँदा आफूहरुले थप आर्थिक क्षति व्यहोर्नु परेको निर्माण कम्पनीका प्रतिनिधि महेन्द्र जिसीले गुनासो गरेका छन् । यसैगरी नगरपालिकाका मेयर खिलध्वज पन्थीले आफू निर्वाचित हुनुअघिकै योजना भएको बताउँदै त्यो समयमा भुक्तानी हुनु पर्ने रकम पनि रोकिएको भन्दै आफूलाई दोषबाट मुक्त गर्ने प्रयास गरे छन् । तत्कालिन मेयर तथा हाल लुम्बिनी प्रदेश सांसद डिल्लीराज भुसालले निर्माण कम्पनीलाई रकम भुक्तानी नभएको विषयमा सरकारसँग आग्रह गर्ने उल्लेख गरे छन् ।