Ojhelka Khabar

Ojhelka Khabar लुकेको लुकाइएको, दबेको दबाइएको आवाज

"ओझेलका खबर” समग्रमा लुकेको-लुकाईएको, दबेको-दबाईएको आवाज हो । यो कार्यक्रमले समाजमा रहेका भ्रष्ट्राचार, अनियमितता र अन्य अनैतीक कृयाकलापहरुको डटेर समाना गर्दछ । साथै समाजका बिकृति-बिसंगती, ओझेलमा परेका स्थान र ब्यक्ती, हाम्रो कला सँस्कृतीको पनि खुलेर चर्चा गर्दछ । सामुदायिक रेडियो स्काइले उत्पादन गरेको बहुचर्चित रेडियो पत्रीका “ओझेलका खबर” हरेक हप्ताको सोमबार बेलुकी ८ बजे पछि सुन्न सकिनेछ त्यसैगरी

रुरु एफएम ९४.८ मेगा हर्ज बाट पनि हरेक हप्ताको मंगलवार बेलुकी ७.१५ बजे पछि सुन्न सकिनेछ भने गुल्मी दिगाम सेरोफेरो (फेसबुक पेज गुल्मी)मा पनि जुनसुकै बेला सुन्न सकिने छ सुन्ने प्रयास गर्नुहोला...
यदि तपाईको जानकारीमा कुनै त्यस्ता सामाग्री छन् भने पनि हामी लाइ [email protected] मा इमेल गर्न सक्नु हुन्छ अथवा फेसबुक पेज www.facebook.com/Ojhelkakhabar मा पनि म्यासेज गर्न सक्नु हुनेछ । त्यस्तै ज्ञवा संचार अभियानको फेसबुक पेज www.facebook.com या www.facebook.com/ मा पनि मेसेज लेख्न सक्नुहुनेछ |
उचित समाचारलाई हामीले राष्ट्रिय समाचार बनाउनेछौ आबस्यक भएमा तपाईकै ठाउंमा हामी आउनेछौ, कुनै सुझाब, सल्लाह या प्रतिकृया भएमा पनि इमेल / म्यासेज गर्दै गर्नुहोला धन्यबाद।

16/08/2026

रुद्र गण बुटवलद्वारा नयाँगाउँमा भजन-किर्तन

हरेक शनिबार झै हिजो पनि रुद्र गण बुटवलले बुटवल -१२ को नयाँगाउँमा भजन-किर्तन सम्पन्न गरेको छ ।

रोल्पामा पहिरोले घर पुरिँदा थप एक जनाको मृत्युरोल्पा ,  साउन -३१ । अविरल वर्षासँगै आएको पहिरोले घर पुरिँदा रोल्पामा थप ए...
16/08/2026

रोल्पामा पहिरोले घर पुरिँदा थप एक जनाको मृत्यु

रोल्पा , साउन -३१ । अविरल वर्षासँगै आएको पहिरोले घर पुरिँदा रोल्पामा थप एक जनाको मृत्यु भएको छ।
जिल्लाको लुङ्ग्री गाउँपालिका–५ धैरेनीमा पहिरोले घर पुरिँदा अन्दाजी ७२ वर्षीया अम्मी गुरुङको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार गएराति परेको अविरल वर्षाका कारण घरमाथिबाट एक्कासि पहिरो खसेर अम्मी गुरुङ सुतिरहेको घर पुरिएको थियो।

घटना भएको सूचना आज बिहान करिब ३ बजे प्राप्त भएपछि प्रहरी चौकी किलाचौरबाट टोली घटनास्थल पुगेको थियो। घर पूर्ण रूपमा पुरिएको अवस्थामा रहेको र पहिरोमा च्यापिएकी गुरुङको टाउकोको भाग मात्रै देखिएको प्रहरीले जनाएको छ।
प्रहरी र स्थानीयवासीको सहयोगमा पुरिएको घरबाट शव निकाल्ने उद्धार कार्य भइरहेको छ।
रोल्पाका विभिन्न स्थानमा तिन दिन यता बाढि - पहिरोले घर -गोठ बगाउँदा अकल्पनीय मानविय क्षति भएको छ । आज बिहान सहित १७ जनाको ज्यान गएको छ । एक जना बेपत्ता छ्न । दुई जना घाइते छ्न ।

जाजरकोटमा पहिरोले घर भत्कायो, ७ जना घाइते, दुई जना सम्पर्कविहीनजाजरकोट । अविरल वर्षासँगै आएको पहिरोले जाजरकोटको भेरी नगर...
15/08/2026

जाजरकोटमा पहिरोले घर भत्कायो, ७ जना घाइते, दुई जना सम्पर्कविहीन
जाजरकोट । अविरल वर्षासँगै आएको पहिरोले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ क्षेत्रमा घर तथा टहरा भत्किनुका साथै सात जना घाइते भएका छन्। पहिरोबाट भाग्ने क्रममा दुई जना सम्पर्कविहीन भएका छन्।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार आज साउन - साउन ३० गते अपराह्न करिब ४ बजेदेखि परेको अविरल वर्षाका कारण भेरी नगरपालिका–२ रिसाङ क्षेत्रका विभिन्न स्थानमा पहिरो गएको हो।

पहिरोका कारण भेरी नगरपालिका–३ स्यालाका पूर्णबहादुर विकको ६ कोठे दुईतले ढुंगा–माटोले बनेको कच्ची घर पूर्ण रूपमा क्षति भएको छ। घरमा रहेका पाँच जना परिवारका सदस्य आफन्तको घरमा बसेका छन्।
त्यस्तै सोही स्थानका भैरवी केसीका दुई वटा टिनका अस्थायी टहरा पनि पूर्ण रूपमा भत्किएका छन्। ती टहरामा हाल मानिस बसोबास नगर्ने प्रहरीले जनाएको छ।
आरनमा काम गरिरहेका बेला पहिरो
भेरी–२ रिसाङका ४५ वर्षीय सिद्धीबहादुर कामीको आरनमा काम गरिरहेका बेला माथिबाट पहिरो खस्दा ६० वर्षीय रामबहादुर शाही घाइते भएका छन्। शाहीको छाती, टाउको र हातमा चोट लागेको छ।

जिल्ला अस्पताल जाजरकोटमा सामान्य उपचारपछि उनको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ। उपचारमा उनका छोरा सुनिल शाही संलग्न छन्।
आरन सञ्चालक सिद्धीबहादुर कामीको ढाडमा समेत चोट लागेको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

पहिरोमा परी घाइते हुनेमा—
रामबहादुर शाही, ६० वर्ष — अवस्था गम्भीर, नेपालगञ्ज रिफर
सिद्धीबहादुर कामी, ४५ वर्ष — ढाडमा चोट, अवस्था सामान्य
भद्राकली कार्की, ५७ वर्ष — अवस्था गम्भीर, सुर्खेत रिफर
मनवीर चदरा, ४५ वर्ष — टाउकोमा चोट, अवस्था मध्यम
मनिषा विक, १६ वर्ष — शरीरमा चोट, अवस्था मध्यम
मोतीकला विक, ४७ वर्ष — हातखुट्टा तथा शरीरमा चोट, अवस्था मध्यम
केदार कार्की, ५२ वर्ष — हातखुट्टा तथा शरीरमा चोट, अवस्था मध्यम
भेरी नगरपालिका–२ चिसापानीकी भद्राकली कार्कीलाई जिल्ला अस्पताल जाजरकोटमा सामान्य उपचारपछि थप उपचारका लागि सुर्खेत रिफर गरिएको प्रहरीले जनाएको छ।
पहिरोबाट भाग्ने क्रममा दुई जना सम्पर्कविहीन
पहिरो आएपछि भाग्ने क्रममा भेरी नगरपालिका–२ फारुलाकी करिब ५४ वर्षीया उमासिंह खत्री र चिसापानीका करिब ७० वर्षीय भीमबहादुर कार्की सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ।
उनीहरूको खोजी कार्यका लागि प्रहरी परिचालन गरिएको छ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट प्रहरी निरीक्षक राजेश शाहीको कमाण्डमा ११ जना तथा सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म हेडक्वार्टर जाजरकोटबाट सशस्त्र प्रहरी निरीक्षक कमल कार्कीको कमाण्डमा १० जनाको टोली घटनास्थलतर्फ खटिएको छ।
घटनास्थल जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट करिब ८–९ किलोमिटर उत्तरपूर्वमा पर्छ। पहिरोका कारण सडक अवरुद्ध भएकाले उद्धार टोली पैदल घटनास्थलतर्फ गएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनाको थप विस्तृत विवरण आउन बाँकी छ। { प्रयोग भएको फाईल तस्विर हो )

15/08/2026

रोल्पामा बाढी–पहिरोको कहर : साँझ सपना बुन्दै सुतेका १६ जना शव बने ...
साँझसम्म सबै ठीकठाक थियो। घरमा चुलो बल्यो। परिवारले सँगै खाना खायो। कसैले भोलिको कामको योजना बनायो। कसैले विदेश पुगेका छोराछोरीको अनुहार सम्झियो। कसैले परदेशमा रहेका श्रीमान् वा श्रीमतीलाई सम्झँदै निदायो।
बालबालिकाले होमवर्क सके। भोलि स्कुल जाने झोला र कपडा मिलाए। अनि निदाए।
तर त्यो रात उनीहरूका लागि अन्तिम रात बन्दैछ भन्ने कसैलाई थाहा थिएन।
राति पहाड खस्यो। घरहरू पुरिए। शरीरहरू पुरिए। र पुरिए—भोलिका योजनाहरू।
रोल्पामा बाढी–पहिरोमा परी १६ जनाको मृत्यु भएको छ। एक जना अझै बेपत्ता छन् भने दुई जना घाइते छन्।
जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख डिएसपी पञ्चकुमार बाखुका अनुसार थबाङ गाउँपालिका–५ कोटलबारा र सुनछहरी गाउँपालिका–२ का छुट्टाछुट्टै घटनामा परी हालसम्म १६ जनाको मृत्यु भएको हो। बेपत्ता एक जनाको खोजी भइरहेको छ।
मृत्युको संख्या मात्रै होइन, १६ परिवारका उजाडिएका संसार
पहिरोले पुरिएका मान्छे खोज्दै गर्दा उद्धारकर्मीले कतै पूरा शरीर भेटेनन्।
कसैको पैताला मात्रै भेटियो।
त्यही पैतालालाई हेरेर आफन्तले भने—
‘हो, यही हो हाम्रो मान्छे।’
कसैलाई हातखुट्टा मात्रै देखेर पहिचान गर्नुपर्‍यो। कसैको शरीरमा रहेको साँझ लगाएको कपडाले आफन्तलाई आफ्नै मान्छे चिनायो।
जसको अनुहार हेरेर जीवनभर चिनिन्थ्यो, उसैलाई शरीरको टुक्रा, अंग वा कपडाबाट पहिचान गर्नुपर्ने नियति कति पीडादायी होला?
कल्पना गर्न पनि कठिन छ।
माटो पन्छाउँदै जाँदा टुक्रा–टुक्रा शव निस्किन थाले। हरेक शवसँगै घटनास्थलमा अर्को चित्कार थपियो। आफन्तको रोदन र विलापबीच उद्धारकर्मीहरू पनि भावविह्वल बने।
माटो मात्रै हटिरहेको थिएन, हरेक पटक एउटा परिवारको आशा पनि भत्किरहेको थियो।
कसैले विदेश पुगेका छोराछोरी सम्झेर सुतेका थिए
साँझ खाना खाएपछि कसैले विदेश पुगेका छोराछोरीलाई सम्झिए होलान्।
‘छोराले फोन गर्छ कि?’
‘छोरी कहिले घर आउली?’
कसैले परदेशमा रहेका श्रीमान्को मुहार सम्झेर आँखा चिम्लिए होलान्।
कसैले टाढा रहेकी श्रीमतीलाई सम्झेर भोलिको भेटको कल्पना गरे होलान्।
कसैले खेतबारीको काम सम्झिए होलान्।
कसैले घर बनाउने योजना बुने होलान्।
र बालबालिकाले?
होमवर्क सके। झोला मिलाए। भोलि लगाउने कपडा तयार पारे। अनि निदाए।
तर त्यो भोलि आएन।
आयो त पहिरो।
५ वर्षको बालकदेखि ८५ वर्षकी वृद्धासम्म
थबाङ–५ मा मृत्यु हुनेमा ५ वर्षका अशोक पुन मगरदेखि ८५ वर्षकी हस्तकला रोका मगरसम्म छन्।
१८ वर्षकी शान्ती पुन मगर, ६० वर्षीय कमल बहादुर पुन मगर, ७५ वर्षीय दल बहादुर पुन मगर, ८० वर्षकी मनखना पुन मगर, ३८ वर्षकी जुन कुमारी पुन मगर, ८० वर्षीय बल बहादुर पुन मगर, ६६ वर्षकी मनि पुन मगर, ३४ वर्षीय महेन्द्र घर्ती, ६१ वर्षीय लिलबहादुर पुन मगर र ८० वर्षीय अजम्बर पुन मगरलगायतले ज्यान गुमाएका छन्।
कसैको मृत्युको खबर शवबाट आयो।
कसैको पहिचान नदी किनारमा भेटिएको शवबाट भयो।
र लिलबहादुर पुन मगरलाई त पैतालाबाट पहिचान गर्नुपर्‍यो।
अजम्बर पुन मगरको शव प्युठानको सरुमारानी गाउँपालिका–२ ददेरीस्थित राप्ती नदीको बीच भागमा फेला पर्‍यो। उनका भतिजा नाता पर्ने सुशिल पुनले सनाखत गरे।
सुनछहरीमा पनि उस्तै चित्कार
थबाङको पीडा सेलाउन नपाउँदै सुनछहरी गाउँपालिका–२ बाट अर्को दुःखद खबर आयो।
फलवाङमा पहिरोले घर पुरिँदा ७७ वर्षीय विरु घर्ती मगर, उनकी ६८ वर्षीया श्रीमती सनी घर्ती मगर र छिमेकी ७० वर्षीया लली घर्ती मगरको मृत्यु भयो।
मङरारुमा भान्साघरमा रहेकी ६४ वर्षीया लामी घर्तीलाई पनि पहिरोले पुर्‍यो। खोजी गर्दा उनको शव घटनास्थलमै फेला पर्‍यो।
एउटा घरमा श्रीमान्–श्रीमती थिए।
छिमेकी पनि त्यही रात बसेकी थिइन्।
बिहान उनीहरू थिएनन्। घर थियो—तर घरभित्रको संसार थिएन।
१३ संरचना मात्रै पुरिएका होइनन्
थबाङ–५ कोटलबारामा पहिरोले ९ वटा घर, एक घुम्ती पसल, दुई वटा गोठ र एक चर्च गरी १३ वटा संरचना पुरिएको वा बगाएको प्रहरीले जनाएको छ।
तर सरकारी विवरणमा गन्न सकिने संरचना १३ वटा भए पनि,
त्यसभित्र पुरिएका सपना कति थिए?
कुनै घरमा छोराछोरीको भविष्य थियो।
कुनै घरमा विदेशबाट फर्किने सन्तानको प्रतीक्षा थियो।
कुनै घरमा छोरीको विवाहको योजना थियो।
कुनै घरमा भोलिको स्कुल थियो।
पहिरोले घर मात्रै पुरेन—भोलि पनि पुर्‍यो।
चार महिनाअघि मात्रै २० जनाको सपना चुँडिएको थियो
रोल्पाले यो पीडा पहिलोपटक भोगेको होइन।
गत वैशाख १७ गते जलजलामा भएको जिप दुर्घटनामा पूर्वी रुकुम, रोल्पा र दाङसम्मका २० जनाले ज्यान गुमाएका थिए।
त्यो दुर्घटनामा कोही अमेरिका उड्ने तयारीमा थिए।
कोही नयाँ ठाउँमा पुगेर जीवन बदल्ने सपना देख्दै थिए।
कोही परिवारको भविष्य उज्यालो बनाउने योजनामा थिए।
तर एउटा दुर्घटनाले ती सबै सपना चुँडिदियो।
चार महिना पनि पूरा भएको छैन।
आँसु अझै ओभाएका छैनन्।
त्यस पीडामाथि फेरि प्रकृतिको अर्को प्रहार भएको छ।
पहिले दुर्घटनाको चोट।
अहिले पहिरोको चोट।
आँसुमाथि आँसु।
चोटमाथि चोट।
अझै एउटा परिवारको आशा बाँकी छ
रोल्पामा अहिले १६ जनाको मृत्यु, दुई जना घाइते र एक जना बेपत्ता छन्।
बेपत्ता छन्—९ वर्षीय अशिम पुन मगर।
उनी कहाँ छन्?
माटोमुनि छन् कि कतै बाँचिरहेका छन्?
यो प्रश्नको उत्तर अझै भेटिएको छैन।
उद्धारकर्मी माटो पन्छाइरहेका छन्।
परिवार आँखामा आशा बोकेर हेरिरहेको छ।
सायद कुनै क्षण—
‘अशिम भेटिए’ भन्ने खबर आउला।
सायद त्यो एउटा खबरले शोकमा डुबेको रोल्पामा फेरि एउटा परिवारको सास फर्काउला।
तर अहिले त्यहाँ माटो छ, भग्नावशेष छ, र आफन्तका आँसु छन्।
साँझ सपना बुन्दै सुतेकाहरूको बिहान सपनाको होइन, सन्नाटाको बिहान बन्यो।
रोल्पाको पहिरोले १६ जनाको ज्यान मात्रै लिएन—१६ परिवारको भोलि खोसेर लग्यो।

15/08/2026

७५ हजारबाट सुरु भएको बोमबहादुर कार्कीका छोराको बिदेश यात्रा : २० करोडको मालिक सम्म

सन् २००२ मा फिनल्यान्ड उड्दा जहाजको टिकट भाडासहित करिब ७५ हजार रुपैयाँ मात्र खर्च भएको बताउने वरिष्ठ लोकगायक बोमबहादुर कार्कीका छोरा गणेश भनेर चिनिने अभिनास कार्की अहिले फिनल्यान्डमा करिब २० करोड रुपैयाँ बराबरको सम्पत्तिका मालिक बनेका छन्।
विदेश जाने सपना बोकेर हिँडेका कार्कीको विदेश यात्रा भने त्यति सहज थिएन। फिनल्यान्ड जानुअघि उनी करिब चार वर्ष बेल्जियम बसेर फर्किएका थिए। त्यसपछि फिनल्यान्डकी युवतीसँग प्रेम सम्बन्ध भएपछि उनैसँग विवाह गरेका कार्की विगत १८ वर्षदेखि फिनल्यान्डमै बस्दै आएको बताउँछन्।
आज फिनल्यान्डमा खाद्यान्नसहित दैनिक उपभोग्य वस्तुको पसल सञ्चालन गरिरहेका कार्कीले व्यवसायमा नेपाली करिब १० करोड रुपैयाँ लगानी गरेको बताएका छन्। घर, गाडी तथा अन्य सम्पत्तिसहित आफ्नो कुल अचल सम्पत्ति करिब २० करोड रुपैयाँ बराबर रहेको उनको भनाइ छ।
विदेशमा कमाए, गाउँलाई पनि सम्झिए
विदेशमा बसेर व्यवसायमा सफलता हासिल गरेका कार्कीले केही महिनाअघि गुल्मीको रेसुङ्गा नगरपालिका–१३, दुबिचौरस्थित घोर्ले माध्यमिक विद्यालयमा ५० हजार रुपैयाँको अक्षय कोष स्थापना गरेका छन्।
पश्चिम गुल्मीको मालिका गाउँपालिका–७ घमिरका कार्कीले दुबिचौरको विद्यालयमा किन अक्षय कोष स्थापना गरे?
जिज्ञासा स्वाभाविक थियो। कारण रहेछ—दुबिचौर उनको मावली गाउँ हो। उनकी आमा युवा कुमारी कार्कीले यही विद्यालयमा अध्ययन गरेकी थिइन्। आमाको स्मृतिमा अक्षय कोष स्थापना गरेको कार्कीले बताएका छन्।

युवा कुमारी कार्की वरिष्ठ लोकगायक बोमबहादुर कार्कीकी जेठी श्रीमती हुन्। उनको कोरोना संक्रमणका क्रममा निधन भएको थियो। बोमबहादुर कार्कीकी कान्छी श्रीमती गायिका शिव आले हुन्।

श्रीमती काठमाडौं आइन्, पुर्ख्यौली घर पुग्न बाँकी
फिनल्यान्डकी कार्कीकी श्रीमती भने नेपाल आएर काठमाडौंसम्म बाबुआमालाई भेटिसकेको उनी बताउँछन्। तर अहिलेसम्म आफ्नो पुर्ख्यौली घर गुल्मी भने पुग्न नपाएको उनको भनाइ छ।

विदेशमा लामो समय बिताए पनि कार्कीको नेपाल फर्किने योजना भने छ।
उनका अनुसार अब करिब १० वर्ष फिनल्यान्डमा काम गर्ने र त्यसपछि परिवारसहित नेपाल फर्किने योजना छ।
विदेशमा कमाएको धन र सीपलाई अन्ततः आफ्नै देशमा प्रयोग गर्ने उनको सोच छ।
७५ हजारबाट २० करोडसम्म

सन् २००२ मा फिनल्यान्ड जाँदा आफूले जहाजको टिकट भाडासहित करिब ७५ हजार रुपैयाँ खर्च गरेको बताउने कार्की आज करिब २० करोड रुपैयाँको सम्पत्ति जोड्न सफल भएको दाबी गर्छन्।
तर यो यात्रा केवल पैसाको हिसाब होइन।
चार वर्ष बेल्जियमको बसाइँ, फिनल्यान्डको नयाँ परिवेश, प्रेम, विवाह, व्यवसाय र निरन्तर मेहनत—
यी सबै पार गर्दै बनेको उनको जीवनयात्रा हो।
७५ हजार रुपैयाँ बोकेर विदेश उडेका एक गुल्मेली युवा आज करिब २० करोडको सम्पत्तिको मालिक कसरी बने?
प्रस्तुत छ उनै सफल युवा अभिनास कार्कीसँग सहकर्मी प्रेम सुनारले गरेको छोटो कुराकानी :

‘समय पर्खिँदैन, अवसर फर्किँदैन’ : चन्द्र भण्डारीको संकेत कतातिर ?काठमाडौं । नेपाली काङ्ग्रेसका नेता तथा पूर्व प्रतिनिधि ...
15/08/2026

‘समय पर्खिँदैन, अवसर फर्किँदैन’ : चन्द्र भण्डारीको संकेत कतातिर ?
काठमाडौं । नेपाली काङ्ग्रेसका नेता तथा पूर्व प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीले वर्तमान समयलाई बुझेर उपलब्ध अवसरलाई समयमै कर्ममा बदल्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ। उहाँले आफ्नो सामाजिक सञ्जालमार्फत समय र अवसरको महत्वबारे यस्तो धारणा सार्वजनिक गर्नुभएको हो।
भण्डारीले लेख्नुभएको छ— “वर्तमानलाई बुझ्नु भनेको अवसरलाई चिन्नु र त्यसलाई समयमै कर्ममा उतार्नु हो। पछुतोले अवसर फर्काउँदैन।”
उहाँले एलन मस्कले अन्तरिक्षमा समेत मानव बसोबासको सम्भावना खोज्दै भविष्यका घरको डिजाइन गरिरहेको उदाहरण दिँदै नेपालसँग रहेको सम्भावनालाई उपयोग गर्नुपर्ने संकेत गर्नुभएको छ।
“यति सुन्दर, सम्भावनायुक्त र सानो जनसंख्या भएको देशलाई समृद्ध बनाउने अवसर छाडेर जलेको घरलाई अझै जलाउन राँको बोकेर दौडिरहेका छौँ,” उहाँको भनाइ छ।
भण्डारीले समयले साथ दिएकाहरूलाई अब अल्झिन नहुने भन्दै महाभारतको युधिष्ठिरको प्रसंगसमेत जोड्नुभएको छ। “गन्तव्य सही हुनु मात्र पर्याप्त हुँदैन; सही समयमा सही कर्म र सही निर्णय पनि उत्तिकै महत्वपूर्ण हुन्छ,” उहाँको निष्कर्ष छ।
अन्त्यमा उहाँले भन्नुभएको छ— “समय पर्खिँदैन, अवसर फर्किँदैन।”
देउवाको स्वागतपछि आएको धारणा, कांग्रेसभित्र अर्थ खोजिँदै
पूर्व पार्टी सभापति शेरबहादुर देउवा लामो समयपछि नेपाल फर्किएपछि भएको स्वागत कार्यक्रमको पृष्ठभूमिमा भण्डारीको यो अभिव्यक्ति आएको हो। देउवा स्वदेश फर्किएपछि कांग्रेसको आन्तरिक शक्ति–समीकरणबारे बहससमेत चर्किएको छ।
विशेष महाधिवेशनअघि भण्डारी कुनै पक्षमा खुलेर प्रस्तुत नभई न्युट्रल भूमिकामा देखिनुभएको थियो। विशेष महाधिवेशनपछि भने कांग्रेसको नेतृत्व परिवर्तन भइसकेको छ र गगन थापा सभापतिमा निर्वाचित भइसकेका छन्। निर्वाचन आयोगले समेत विशेष महाधिवेशनबाट निर्वाचित गगन थापालाई कांग्रेस सभापतिको रूपमा अभिलेख गरेको विवरण सार्वजनिक भएको छ।
यस्तो अवस्थामा भण्डारीले सार्वजनिक गर्नुभएको ‘समय र अवसर’को सन्देशलाई कतिपयले समसामयिक राजनीतिक सन्दर्भसँग जोडेर हेर्न थालेका छन्।
के यो केवल देश निर्माण र समयको महत्वबारे सामान्य धारणा हो?
कि कांग्रेसभित्रको बदलिएको राजनीतिक परिस्थितिप्रतिको संकेत?
विशेष महाधिवेशनअघि मौन र न्युट्रल देखिएका भण्डारी अब गगन नेतृत्वको कांग्रेसमा कुन भूमिकामा प्रस्तुत हुनुहुन्छ?
देउवाको नेपाल आगमन र स्वागत कार्यक्रमपछि सार्वजनिक भएको उहाँको यो धारणाले कांग्रेसभित्र नयाँ राजनीतिक कौतुहलता थपेको छ।
भण्डारी कतै खुल्न लागेका हुन् कि अझै पनि ‘समय र अवसर’लाई पर्खिरहेका छन्?
यही प्रश्न अहिले कांग्रेस वृत्तमा चासोको विषय बनेको छ।

15/08/2026

कतारमा जारी महिला भलिबल प्रतियोगिता: नेपाली महिला सेमिफाइनलमा प्रवेश
कतार । कतारमा जारी सामुदायिक मैत्रीपूर्ण महिला भलिबल प्रतियोगितामा नेपाली महिला टोलीले उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ।

शुक्रबार भएको क्वार्टरफाइनल खेलमा नेपालले फिलिपिन्स ‘सी’ टोलीलाई लगातार दुई सेटमा २५–४ र २५–१४ को प्रभावशाली अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।

खेलको सुरुदेखि नै आक्रामक लयमा देखिएको नेपाली टोलीले सर्विस, ब्लक र स्पाइकमा उत्कृष्ट समन्वय प्रस्तुत गर्दै विपक्षीलाई दबाबमा राखेको थियो। पहिलो सेटमा नेपालले एकतर्फी प्रदर्शन गर्दै सहज जित निकालेको थियो भने दोस्रो सेटमा पनि आफ्नो लय कायम राख्दै खेल आफ्नो पक्षमा पारेको हो।
यसअघि नेपालले ट्युनिसिया र कतार फाउन्डेसनलाई पराजित गर्दै क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो। कप्तान कोशेली मगरको नेतृत्वमा रहेको नेपाली टोलीले लगातार देखाइरहेको उत्कृष्ट प्रदर्शनले कतारमा रहेका नेपाली समर्थकमा उत्साह थपिएको छ।
खेल मैदानमा उपस्थित नेपाली समर्थकहरूले ‘नेपाल–नेपाल’ को नारासहित टोलीलाई निरन्तर हौसला प्रदान गरेका थिए। समर्थकहरूको उत्साह र खेलाडीहरूको आत्मविश्वासले नेपाली टोलीको प्रदर्शन अझ सशक्त बनेको देखिएको छ।
अब नेपाली महिला टोली उपाधिको यात्राका लागि सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ। टोलीको निरन्तर सफलताले प्रतियोगितामा नेपालको सम्भावनालाई अझ बलियो बनाएको छ।

15/08/2026

काठमाडौंमा कहलाएका गुल्मेली गहनाहरू।
भिडियो : गायक रामचन्द्र चन्द

फार्मेसीको आडमा लागूऔषध कारोबार ? गुल्मी प्रहरीको निगरानी बढ्योगुल्मी । औषधि बिक्री गर्ने फार्मेसी नै लागूऔषधको लुकिछिपी...
15/08/2026

फार्मेसीको आडमा लागूऔषध कारोबार ? गुल्मी प्रहरीको निगरानी बढ्यो
गुल्मी । औषधि बिक्री गर्ने फार्मेसी नै लागूऔषधको लुकिछिपी कारोबारको माध्यम बन्न थालेको आशंका बढेपछि गुल्मी प्रहरीले निगरानी र अनुसन्धान तीव्र बनाएको छ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी डिएसपी वीरेन्द्र विश्वकर्माका अनुसार केही फार्मेसीबाट लुकाई–छिपाई लागूऔषधजन्य औषधिको कारोबार हुने गरेको पाइएको छ।

“फार्मेसीहरूबाट लुकाई–छिपाई लागूऔषध कारोबार हुने गरेको पाइएको छ। हामीले निगरानी बढाएका छौँ। एक जना फार्मेसी सञ्चालकलाई सप्रमाण हिजो समातेका छौँ,” डिएसपी विश्वकर्माले भन्नुभयो।

प्रहरीका अनुसार पछिल्लो घटनामा मदाने गाउँपालिका–६ पुर्कोटदह बजारमा २३ वर्षीय रोशन कुँवरको साथबाट Merogaba 75 का ३९ क्याप्सुल र Clonaz 0.5 का २९ ट्याब्लेट बरामद भएको छ।

त्यसपछि प्रहरीले मालिका गाउँपालिका–४ ठूलाचौरस्थित मालिका मेडिकल हलमा खानतलासी गर्दा Clonaz 0.5 का २२५ ट्याब्लेट बरामद गरेको जनाएको छ। मेडिकल हल सञ्चालक अमर थापा पक्राउ परेका छन्।

दुवै घटनामा बरामद औषधिको प्रकृति र कारोबारको उद्देश्यबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। प्रहरीले अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको जनाएको छ।

फार्मेसीबाटै चिकित्सकीय प्रयोजनका औषधि अवैध रूपमा बिक्री–वितरण भइरहेको भए त्यसले लागूऔषध नियन्त्रणमा नयाँ चुनौती थप्ने प्रहरीको बुझाइ छ। त्यसैले अब प्रहरीले फार्मेसी, मेडिकल हल र औषधि बिक्री–वितरण हुने स्थानलाई समेत निगरानीको दायरामा राखेको जनाएको छ।

प्रहरीको पछिल्लो कारबाहीले एउटा प्रश्न पनि उठाएको छ—लागूऔषधको कारोबार सडक र सुनसान ठाउँमा मात्रै भइरहेको छ कि औषधि पसलको वैधानिक आवरणभित्र पनि यसको सञ्जाल फैलिएको छ?

गुल्मी प्रहरीले अबको अनुसन्धानमा बरामद औषधि कहाँबाट आयो, कसरी बिक्री भयो र यसको पछाडि थप व्यक्ति वा सञ्जाल संलग्न छन् कि छैनन् भन्ने विषयमा समेत अनुसन्धान गर्ने जनाएको छ।

15/08/2026

नुवाकोटमा बस र ईभी भ्यान दुर्घटना, उपचारका क्रममा दुई महिलाको मृत्यु
नुवाकोट, साउन -३० । नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा आज बिहान बस र ईभी भ्यान दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
बिहान करिब ८ः२५ बजे टोखा–छहरे सडकखण्डमा काठमाडौंबाट दुप्चेश्वरतर्फ जाँदै गरेको बा.प्र.०८–००१ ख ००५२ नम्बरको बस सडकछेउमा रोकेर चालक तथा यात्रुहरू खाजा खान गएको अवस्थामा बस अचानक गुडेको प्रहरीले जनाएको छ।
गुडेको बसले अगाडि सडकछेउमा रोकिराखेको बा.प्र.०३–००१ ज ११७६ नम्बरको खाली ईभी भ्यानलाई ठक्कर दिएपछि दुवै सवारीसाधन सडकबाट करिब ३०/४० मिटर तल भिरमा खसेका थिए।
दुर्घटनामा बसमा सवार पाँच जना महिला घाइते भएका थिए। उनीहरूलाई उपचारका लागि काठमाडौं ल्याइएकोमा दुई जनाको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिनुभयो।
उहाँका अनुसार मृत्यु हुनेमा काभ्रे बनेपा नगरपालिका–८ की ५४ वर्षीया कृष्णमाया प्रजापती डंगोल र रामेछाप ठाडादेवी गाउँपालिका–२ की ६५ वर्षीया उदयमाया खत्री रहेका छन्।
घाइतेमध्ये सर्लाही लालबन्दी नगरपालिका–९ घर भई हाल काठमाडौं काँडाघारी बस्ने २५ वर्षीया सुजता पोखरेल, काभ्रे बनेपा नगरपालिका–१० की ४२ वर्षीया सर्मिला श्रेष्ठ र दोलखा मेलुङ गाउँपालिका–६ घर भई हाल काठमाडौं काँडाघारी बस्ने ६० वर्षीया ज्ञानु श्रेष्ठ रहेका छन्।
घाइते तीनै जनाको काठमाडौंस्थित ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा बस चालक काभ्रे पाँचखाल नगरपालिका–७ का करिब ४५ वर्षीय सीताराम आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बसमा सवार यात्रुको यकिन संख्या खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Address

Gulmi Tamghas

Alerts

Be the first to know and let us send you an email when Ojhelka Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ojhelka Khabar:

Shortcuts

Share