10/07/2026
हेटौँडामा किशोरीमाथि सामूहिक बलात्कार : ८ जना दोषी ठहर, ३ देखि साढे ६ वर्षसम्म कैद
हेटौँडाकी एक किशोरीमाथि सामूहिक बलात्कार गरेको अभियोगमा जिल्ला अदालत मकवानपुरले ८ जनालाई दोषी ठहर गर्दै ३ वर्षदेखि साढे ६ वर्षसम्म कैद सजाय सुनाएको छ। अदालतले दोषीहरूको अभिभावकबाट कुल ९ लाख ५० हजार रुपैयाँ पीडितलाई क्षतिपूर्ति भराउने आदेशसमेत दिएको छ।
जिल्ला न्यायाधीश गीता श्रेष्ठको इजलाशले हेटौँडा उपमहानगरपालिका–१४ का १८ वर्षीय सुजितकुमार लामालाई घटनाको मुख्य मतियार ठहर गर्दै साढे ३ वर्ष कैद, २ लाख रुपैयाँ जरिवाना तथा पीडितलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन फैसला गरेको हो।
त्यसैगरी, घटनामा संलग्न अन्य ६ जना नाबालकलाई जबर्जस्ती करणी कसुरमा १० वर्ष कैद हुने कानुनी व्यवस्था रहे पनि उनीहरू १८ वर्षमुनिका भएकाले बालबालिकासम्बन्धी कानुनअनुसार दुई तिहाइ अर्थात् साढे ६ वर्ष कैद सजाय सुनाइएको अदालतले जनाएको छ। उनीहरूका अभिभावकबाट कुल ६ लाख रुपैयाँ क्षतिपूर्ति भराउने आदेश पनि भएको छ।
घटनामा संलग्न एक जना १५ वर्षीय किशोरलाई ३ वर्ष कैद तथा उनका अभिभावकबाट ३ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरिएको छ।
दोषी ठहर भएका सुजित लामा हाल पूर्पक्षका लागि भीमफेदी कारागारमा रहेका छन् भने अन्य ७ जना नाबालक हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित बालसुधार गृहमा छन्। घटनामा संलग्न रहेका अन्य दुई किशोर भने अझै फरार रहेका छन्।
गत माघ ६ गते हेटौँडा उपमहानगरपालिका–२ स्थित वनस्खण्डी मन्दिरमाथिको जंगलमा लगेर आफूलाई सामूहिक बलात्कार गरिएको भन्दै पीडित किशोरीले फागुन २१ गते जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दिएकी थिइन्। सोही जाहेरीका आधारमा प्रहरीले फागुन २२ गते ८ जनालाई पक्राउ गरेको थियो।
पक्राउ परेकामध्ये जिल्ला अदालत मकवानपुरले एक युवकलाई पूर्पक्षका लागि भीमफेदी कारागारमा थुनामा राख्न तथा ७ जना नाबालकलाई हेटौँडास्थित बालसुधार गृहमा पठाउन आदेश दिएको थियो।
अदालतबाट दोषी ठहर भएका किशोरहरू र पीडित किशोरी हेटौँडास्थित एउटै क्याम्पसमा अध्ययनरत रहेका छन्। पीडित किशोरी स्नातक तहमा अध्ययनरत हुन् भने दोषी किशोरहरू कक्षा १२ मा अध्ययनरत रहेका छन्।