09/08/2026
सप्तकोशी नदीको बाढी र कटानका कारण सुनसरीको बराहक्षेत्र नगरपालिका (वडा ६ र ९) तथा उदयपुरको बेलका नगरपालिका (वडा १, २ र ३) मा पर्ने चिलिया र श्रीलङ्का टापुका बासिन्दा बर्सेनि गम्भीर जोखिममा पर्दै आएका छन्। खेतीपाती र पशुपालनमा निर्भर यहाँका करिब ६०० घरपरिवार र ३ हजार जनसङ्ख्या हरेक बर्खामा बस्ती नजिकिँदै आएको कोशीको कटानबाट आतङ्कित हुने गरेका छन्। कटान नियन्त्रणका लागि बनाइएका १८ मध्ये ९ वटा स्पर पूर्ण रूपमा क्षतिग्रस्त भइसकेका छन् भने गत वर्ष निर्माण गरिएका तारजालीयुक्त संरचनासमेत नदीले बगाउन थालेको छ।
हाल स्थानीय, नगर प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले श्रमदानमार्फत बालुवा तथा सिमेन्टका बोरा राखेर अस्थायी तटबन्ध निर्माण गरिरहेका छन्। जसका लागि कोशी बक्राहा नदी नियन्त्रण आयोजनाले ५,५०० बोरा र ७० थान डोरीजाली उपलब्ध गराएको छ। बराहक्षेत्रका प्रमुख रमेश कार्कीका अनुसार यो समस्या राष्ट्रिय सरोकारको विषय भएकाले सङ्घीय सरकारले पर्याप्त बजेटसहित वैज्ञानिक अध्ययन गरेर स्पर, ड्याम र नोचजस्ता दीर्घकालीन नदी नियन्त्रण संरचना निर्माण गर्नुपर्ने आवश्यकता छ।