29/04/2026
जीवन विज्ञान आरोग्य स्वजागरण कार्यक्रम सम्पन्न , अनुशासनसँगै आन्तरिक जागरणको सन्देश
आज मिति २०८२/०१/१६ गते, नेपाली सेना पूर्वी पृतना हेडक्वाटर इटहरी मा एक महत्वपूर्ण आध्यात्मिक तथा प्रेरणादायी कार्यक्रम “जीवन विज्ञान आरोग्य स्वजागरण” सफलतापूर्वक सम्पन्न भएको छ। उपरथी गौरब कुमार केसी र सहायक रथी भुवन पूर्ण सत्यालज्यूको विशेष उपस्थितिमा, पृतना हाता भित्रका सात वटा युनिटका सकल दर्जाहरूको सहभागितामा करिब २५० जनाले उत्साहपूर्वक कार्यक्रमलाई सार्थक बनाएका थिए।
कार्यक्रममा जीवन विज्ञानका शिक्षक श्री क्षेत्र बहादुर कार्की ज्यु र श्री सीता कार्की ज्यु ले “जीवन विज्ञान के हो?”, “योग किन आवश्यक छ?” र “नेपाली सेनामा यसको आवश्यकता किन अझ महत्वपूर्ण छ?” भन्ने विषयमा गहिरो र व्यवहारिक रुपले प्रकाश पार्नुभयो। उहाँहरूको प्रस्तुतिले सैनिक जीवनमा अनुशासन मात्र नभई मानसिक सन्तुलन, आत्मचेतना र आन्तरिक शान्तिको आवश्यकता कति महत्वपूर्ण छ भन्ने स्पष्ट बनायो।
त्यसैगरी प्रशिक्षकद्वय गगन चौधरी र दिपक बरालले विभिन्न योग अभ्यास, प्राणायाम र ध्यान गराउँदै सहभागीहरूलाई प्रत्यक्ष अनुभव गराउनुभयो। अभ्यासका क्रममा धेरै सैनिकहरूले मनको हल्कापन, एकाग्रता र सकारात्मक ऊर्जाको अनुभूति गरेका थिए।
कार्यक्रमको अन्त्यमा उपरथी गौरब कुमार केसीज्यूले धन्यवाद ज्ञापन गर्दै आफ्नो अनुभव साझा गर्नुभयो। उहाँले भन्नुभयो कि, “सैनिक जीवन बाहिरी अनुशासनमा मात्र सीमित छैन, वास्तविक शक्ति त भित्री स्थिरता र स्पष्ट चेतनाबाट आउँछ। आजको अभ्यासले मनलाई शान्त, सन्तुलित र सशक्त बनाउने अनुभूति दिलायो। यस्तो कार्यक्रमले हाम्रो कार्यक्षमता मात्र होइन, जीवनप्रतिको दृष्टिकोण नै बदल्न सक्छ।”
यो कार्यक्रमले एउटा सन्देश दिएको छ ,
साँचो शक्ति बन्दुकमा मात्र होइन, चेतनामा पनि हुन्छ।
जब मन स्थिर हुन्छ, तब निर्णय स्पष्ट हुन्छ; जब आत्मा जागृत हुन्छ, तब जीवन अर्थपूर्ण बन्छ।
जीवन विज्ञानको यो स्वजागरणले सैनिकहरूमा केवल शारीरिक बल होइन, मानसिक र आध्यात्मिक बलसमेत सुदृढ बनाउने दिशामा महत्वपूर्ण योगदान पुर्याएको छ।