25/11/2023
एकादेशमा…. ए हैन हैन, यही देशमा बर्षौ देखी राजाले शासन गर्दै आएका थिए र एकदिन राजा सहर घुम्नलाई बाटोमा निस्किए । राजालाई स्वागत गर्न बाटोमा मानिसहरुको ठुलै जमात थियो र त्यसै जमातमा एउटा सानो बालक नि विधलयको पोषाक लगाएर फुलको गुच्छा बोकी राजाको स्वागतमा उभिएको थियो राजाले उसको हातबाट फुलको गुच्छा लिए र उसको हातमा कलम दिदै भने “ठुलो मान्छे बन्नु” ।
र यसरी नै समय बित्तै गयो केहि वर्ष पछि राजा फेरि सहर घुम्न सडकमा निस्किए, यसपटक पनि सडकमा ठूलै जमात थियो तर माहोल भने पहिला जस्तो थिएन् यस पटक जनता हातमा हात-हतियार बोकि राजसंस्था खारेज गर !! भन्दै कराउदै थिए । त्यसै बिचमा कालो कपडा हातमा लिएर भर्खर जुंगाको रेखी बस्न थालेको एक युवक “राजसंस्था मुर्दावाद ! लोकतन्त्र जिन्दावाद ! राजसंस्था मुर्दावाद !! लोकतन्त्र जिन्दावाद !”
भन्दै चिच्याही रहेको थियो । उसको कमीजमा त्यही कलम थियो,जुन राजाले सानो स्कुले पोषाक लगाएको बालकलाई दिएका थिए ।
यो सबै दृश्य देखेपछी राजाले त्यहा जसोतसो ज्यान जोगाई आफ्नो महलमा आइपुगे र रानी समक्ष सबै कुरा त्यागेर साधरण जिवन बिताउने प्रस्ताव राखे ।रानी अचम्ममा परिन् र रानीले भनिन् यो सबै कुरा त्यागेर हामी के गर्ने ? कॅंहा जाने? फेरि हामी यस्तै अवस्थामा फर्किन्छौ कि फर्किनौ ?
राजाले रानीका सबै प्रस्न सुने पछि यत्ति भने कि “समयले सब बताउने छ, धर्य गर “ त्यसपछी राजारानीले सबै त्यागेर साधारण जिवन बिताउन थाले, विभिन्न तिर्थधाम धाउन थाले, यता भने देशमा नॅंया सरकार बन्यो,व्यवस्थापन परिवर्तन भयो, महिनै पिछे सरकार परिवर्तन भयो, गणतन्त्र, लोकतन्त्र,लुटतन्त्र सबै आयो, युवाहरु सवै विदेस तिर पलायन हुन थाले । यसरीनै कयौ वर्ष बित्यो । देशको अवस्था झनझन तल झर्दै गयो र देशमा कोलाहल मच्चिन थाल्यो ।
फेरी एकदिन राजारानी तिर्थधाम सकेर सहरको बाटो घर फर्किदै थिए, सडकमा मानिसहरुको ठूलो हुल थियो, कोहिको हातमा ढुंगा थिए भने कसैको हातमा लाठ्ठी । संचारकर्मीहरु नि क्यामरामा दृश्य कौद गर्न तछाडमछाड गरिरहेका थिए । हजारौको संख्यामा सुरक्षाकर्मीहरु नि खटिएका थिए ।सुरक्षाकर्मीले झन्डा बोक्नेलाई ढुगां हान्नेलाई पक्डदै थिए र त्यही भिडको बिचमा एउटा अधबैसे जस्तो देखिने झुत्रो पुरानो कपडा लगाएको मानिस उसैगरी चिच्याही रहेको थियो “लोकतन्त्र मुर्दावाद! राजतन्त्र जिन्दवाद !! लोकतन्त्र मुर्दावाद! राजतन्त्र जिन्दवाद !!”
राजाले त्यस मानिसलाई एक्छिन निहालेर हेरे र केहि सम्झि मुसुक्क हासे र आफ्नो बाटो लागे ।