28/08/2026
चीनतर्फ ठूलो ताल फुटेको सूचना, रसुवामा सतर्कता अपनाउन प्रशासनको आग्रह
रसुवा: चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम नजिक बनेको ठूलो ताल फुटेको सूचना प्राप्त भएपछि रसुवामा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार चिनियाँ पक्षबाट ताल फुटेको जानकारी प्राप्त भएको हो। ताल फुटेपछि त्यसको प्रभाव नदीको बहावमा पर्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै नदी आसपासका नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ।
स्थानीय प्रशासनले सम्भावित जोखिमलाई मध्यनजर गर्दै नदी किनार तथा आसपासका क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित स्थानतर्फ जान र अनावश्यक रूपमा नदी क्षेत्रमा नजान आग्रह गरेको छ।
ताल फुटेपछि नदीमा पानीको बहाव बढ्न सक्ने भएकाले विशेषगरी तल्लो तटीय क्षेत्रमा रहेका नागरिकलाई थप सावधानी अपनाउन प्रशासनले अनुरोध गरेको छ।
सम्भावित जोखिमको अवस्थाबारे सुरक्षा निकाय तथा सम्बन्धित निकायले निगरानी बढाएका छन्।