15/06/2025
Jay Shankar Sah : विभिन्न पाँच बुँदे माग गर्दै चार दिनदेखि आमरण अनशनरत जनमत पार्टी बरहथवा नगरपालिका नगर कमिटीका अध्यक्ष राजन सिंहलाई बरहथवा नगरपालिकाकी मेयर कल्पना कुमारी कटुवालले अनशन तोडाएका छन्। उनले अनशनकारीसँग वार्ताबाट पाँच बुँदे सहमति गर्दै जुस खुवाएर अनशन तोडाएका हुन्।
बरहथवा नगर अस्पतालको नाम "जयशंकर रहमानिया नगर अस्पताल" राख्न आगामी नगर सभामा प्रस्ताव पेश गर्ने सहमति भएको छ । अस्पतालको जग्गा बरहथवा नगरपालिका वडा नं.६ का वडा अध्यक्ष आफ्ताब आलम (मिस्टर) का हजुरबुबा रहमानियाले दान गरेकाले उनको पनि नाम जोडेर "जयशंकर रहमानिया नगर अस्पताल" नामले नामाकरण गरिने लिखित सहमति भएको हो ।
त्यस्तै, नगर अस्पताल परिसरमा स्वर्गीय जयशंकर साह र जग्गा दाता रहमानियाको सालिक निर्माण गर्ने कार्य तत्काल अगाडी बढाइने, सकेसम्म दुइ महिनाभित्र सालिक अनावरण गर्ने, बरहथवा नगरपालिकाको आयव्यय विवरण तत्काल नियमानुसार सार्वजनिक गर्ने सहमति भएको छ ।
त्यसैगरी, बरहथवा नगरपालिकाको चालु आर्थिक वर्षलगायत २ वर्षको रातो किताब माग गर्ने ब्यक्ति वा संस्थालाई तत्काल उपलब्ध गराउने र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अस्पताल निर्माणको सबै कागजात नियन्त्रणमा लिएर छानबिन गरिरहेकोले नगर अस्पताल निर्माण संग संबंधित आयव्यय संबैधानिक आयोगबाट छानबिन भइ टुंगिएमा संबंधित कार्यालयबाट सार्वजनिक गराउन सबै पक्षले प्रयास गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको छ।
नगरपालिकाको सभाहलमा बसेको बैठकमा मेयर कल्पना कुमारी कटुवाल, उप मेयर रामबाबु प्रसाद साह, विभिन्न वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, ईलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी निरन्जन भट्टराई, जनमत पार्टीका सर्लाही जिल्ला इन्चार्ज श्रीचन यादव, जनमतका स्थानीय नेता, उद्योग वाणिज्य संघ बरहथवाका महासचिव अमरनाथ सोनि, स्थानीय समाजसेवीलगायतको सहभागिता रहेको थियो ।
जनमतका जिल्ला इन्चार्ज यादवले लिखित रुपमा सम्झौता भएको माग समयमा सम्बोधन नभए आफ्नो पार्टी चरणबद्ध आन्दोलनमा जाने नगरपालिकालाई चेतावनीसमेत दिएका छन् ।
प्राथमिक स्वास्थ्य केन्द्र बरहथवाको स्तरोन्नतिको विषयलाई लिएर भएको आन्दोलनमा प्रहरीले चलाएको गोली लागेर स्थानीय जयशंकर साहको मृत्यु भएपछि केही दिन अवस्था तनावग्रस्त बनेको थियो । जयशंकरको मृत्युपछि त्यसबेला जिल्ला प्रशासन कार्यालय मलङ्गवामा भएको सहमती कार्यान्वयन नभएको भन्दै जनमत पार्टीका नगर अध्यक्ष सिंहले बुधबारदेखि गोरु बजारमा टेण्ट लगाएर आमरण अनसन सुरु गरेका थिए । स्वास्थ्य अवस्था बिग्रेर अनशनको तेस्रो दिन ऊनी अस्पताल भर्ना भएका थिए । सिंहले जयशंकरको सालिक निर्माण र जयशंकरकै नामबाट बरहथवा नगर अस्पतालको नामाङ्करण गर्नुपर्ने माग राखेका थिए ।
यस्तै बरहथवा नगर अस्पतालबाट सरकारले तोकेको निःशुल्क औषधि उपलब्ध गराउन, बरहथवा नगरपालिकाको तीन वर्षको आय–व्यय विवरणसहित सार्वजनिक गर्न र नगर अस्पताल निर्माण गर्न निकास गरिएको बजेटको खर्चको अवस्था सार्वजनिक गर्नसमेत माग राखेका थिए ।