09/10/2026
ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन नीतिगत पहलमा जोड
जनकपुरधाम, २३ असोज। मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृषि तथा लैङ्गिक उत्तरदायी शासनलाई नीति, योजना र बजेटमा संस्थागत गर्न सरोकारवालाले जोड दिएका छन्।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, मधेश प्रदेशको आयोजनामा बिहीबार जनकपुरधाममा ‘महिला नेतृत्व, जलवायु उत्थानशीलता र लैङ्गिक उत्तरदायी शासनमार्फत कृषि–खाद्य प्रणाली रूपान्तरण’ विषयक प्रादेशिक नीति संवाद आयोजना गरिएको हो।
कार्यक्रमको अध्यक्षता मन्त्रालयका प्रदेश सचिव डा. सञ्जयकुमार यादवले गरेका थिए भने खेलकुद तथा समाज कल्याणमन्त्री लखन दास तात्मा प्रमुख अतिथि थिए।
कार्यक्रममा मन्त्री तात्माले ग्रामीण महिला किसानलाई कृषि क्षेत्रका लाभग्राहीका रूपमा मात्र नभई किसान, उद्यमी, नेता र परिवर्तनका संवाहकका रूपमा हेर्नुपर्ने बताए। महिला किसानको भूमि, प्रविधि, वित्त, बजार र निर्णय प्रक्रियामा पहुँच बढाउनुका साथै अवैतनिक हेरचाहको भार घटाउन आवश्यक रहेको उनको भनाइ थियो।
उनले उद्यम कोष विकास गर्ने र किसान परिचयपत्र वितरण गर्ने तयारी भइरहेको जानकारी दिँदै महिला किसानको सम्मान र सशक्तीकरणका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए।
कार्यक्रममा संयुक्त राष्ट्रसङ्घीय महिला निकाय (यूएन वुमन) नेपालकी प्रतिनिधिले ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरणका लागि उत्पादनशील स्रोत तथा वित्तमा पहुँच, हेरचाहसम्बन्धी पूर्वाधार तथा सेवा र महिला नेतृत्व एवं सहभागितालाई प्राथमिकता दिनुपर्ने धारणा राखिन्।
उनका अनुसार महिला किसानको भूमि, कृषि सामग्री, प्रविधि, वित्तीय सेवा, ऋण तथा बजारमा पहुँच विस्तार गर्न आवश्यक छ। उत्पादनका साधन र वित्तीय स्रोतमा महिलाको पहुँच बढेमा कृषि तथा उद्यमबाट थप आम्दानी सिर्जना गर्न सकिने उनले बताइन्।
सिरहा र सप्तरीका पाँच स्थानीय तहमा कार्यक्रम
जेपी आरडब्लूईई (JP RWEE) कार्यक्रमले मधेश प्रदेशका सिरहा र सप्तरीका पाँच स्थानीय तहमा काम गरिरहेको छ। कार्यक्रमसँग हालसम्म पाँच हजार ६०० भन्दा बढी सहभागी जोडिएका छन् भने २०० महिला किसान समूहलाई कृषि सामग्री, उद्यमशीलता, वित्तीय साक्षरता र नेतृत्व विकासमा सहयोग पुगेको जनाइएको छ।
कार्यक्रमका उपलब्धिअनुसार सहभागी परिवारमा खाद्य असुरक्षा १३ प्रतिशतले घटेको, औसत वार्षिक कृषि आम्दानी ६३ प्रतिशतले बढेको तथा गैरकृषि आम्दानी १४ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै, ८१ प्रतिशत महिलाले जलवायु–स्मार्ट कृषि सामग्रीमा पहुँच पाएका छन् भने ४५ प्रतिशत महिलाले व्यवसाय सुरु वा विस्तार गरेका छन्।
कार्यक्रममा रोशन चिरानको स्क्रिप्ट तथा सुनील मल्लिकको सङ्गीतमा मिथिला नाट्यकला परिषद्का कलाकारहरूले ‘नारी, माटो तथा उद्यमशीलता’ विषयमा गीतिनाटक प्रस्तुत गरेका थिए। प्रस्तुतिमार्फत महिला, कृषि, माटो र उद्यमशीलताबीचको सम्बन्धलाई सांस्कृतिक माध्यमबाट उजागर गरिएको थियो।
नीति संवादले महिला किसानको नेतृत्व, जलवायु–स्मार्ट कृषि, बजार पहुँच, श्रम बचत गर्ने प्रविधि तथा हेरचाहमैत्री सेवामा लगानी बढाउन प्रदेश र स्थानीय सरकारका नीति, बजेट तथा कार्यक्रमलाई जोड्ने प्रतिबद्धता व्यक्त गरेको छ।