05/08/2026
ढल्केवरको ट्रमा सेन्टर लहान सारिएको भन्दै स्थानीय आक्रोशित, पुनः ढल्केवरमै स्थापना गर्न माग !
ढल्केवरमा स्थापना हुने भनिएको ट्रमा सेन्टर सिरहाको लहानमा सारिएको भन्दै स्थानीयवासीले असन्तुष्टि जनाएका छन्। ट्रमा सेन्टर स्थापनाका लागि विगतमा स्थानीयले आन्दोलनसमेत गरेका थिए। शिलान्यासको अन्तिम तयारीमा पुगेको आयोजना किन र कसको निर्णय वा निर्देशनमा लहान सारियो भन्ने विषयमा स्थानीयले सरकारसँग स्पष्ट जवाफ माग गरेका छन्।
स्थानीयका अनुसार करिब २८ वर्षअघि परिकल्पना गरिएको ट्रमा सेन्टरको सपना अन्ततः पूरा हुने आशा जागेको थियो। तर आयोजना अन्यत्र सारिएपछि स्थानीयको आशा निराशामा परिणत भएको उनीहरूको भनाइ छ।
स्थानीयले यस विषयमा क्षेत्रीय जनप्रतिनिधि, सांसद तथा स्थानीय सरकारको भूमिकामाथि पनि प्रश्न उठाएका छन्। "ढल्केवरका लागि तय भएको ट्रमा सेन्टर किन लहान सारियो? यसमा कसको निर्णय र प्रभाव थियो?" भन्ने प्रश्न उनीहरूले सार्वजनिक रूपमा उठाएका छन्।
पूर्व–पश्चिम राजमार्ग र मधेश प्रदेशको महत्वपूर्ण ट्रान्जिट क्षेत्र भएकाले यहाँ ट्रमा सेन्टरको आवश्यकता अझ बढी छ। दुर्घटनाका बिरामीलाई समयमै उपचार उपलब्ध गराउन पनि ढल्केवर उपयुक्त स्थान भएको उनीहरूको तर्क छ।
स्थानीयवासीले सरकारले निर्णय पुनरावलोकन गरी ट्रमा सेन्टर पुनः ढल्केवरमै स्थापना गर्नुपर्ने माग गरेका छन्। साथै, यस सम्बन्धमा सरकारले आधिकारिक धारणा सार्वजनिक गरी आयोजना स्थानान्तरणको कारण स्पष्ट पार्न पनि आग्रह गरेका छन्।