15/08/2025
सादा जीवन, उच्च विचार बोकेका देशका सच्चा सपूत डा. महावीर पुन आज मेचीनगरमा उभिए । बिहान काकँरभिट्टामा नगरका अभिभावक सहितको तस्वीरले केही आशाको संकेत गर्यो । झापाका अन्य नगरले गरेको जस्तो सम्मान मेचीनगरले पनि गर्ला भन्ने अपेक्षा थियो ।
किताब बेचेर बन्द कारखाना खोल्ने साहस बोकेका, पुरानो चप्पल र उस्तै कपडामा आएका पुन दिउँसो २:२५ बजे AC सहितको मेचीनगर प्रमुखको कार्यालयमा छिरे । राज्यले त चिन्न सकेको थिएन, तर केही स्थानीय तहले गरेको सम्मान पुनका लागि अविस्मरणीय बनिरहेको छ त्याे यहाँ बन्न सक्थ्यो । तर यहाँ, उनलाई एउटा किताब बेच्न आएको सामान्य व्यापारीझैँ व्यवहार गरियो- यो लाजमर्दो कुरा हो ।
हो, नगरपालिकाले दिएको समय अनुसार पुन ठीक २ बजे आउन सकेनन् । तर अद्भुत क्षमता र ठूलो सपना बोकेका व्यक्ति नगर सरकारसँग ठूलो अपेक्षासहित छिरेका थिए । त्यो अपेक्षा पुरा भएन । "किताब किनिदिउँ" भन्ने मेयरको शैली, पुनको लागि नगर प्रतिको आसा थिएन ।
पुनको उत्तर थियो "म किताब बेच्नका लागि मात्रै नगरपालिका आएको होइन" यो वाक्यभित्र धेरै गहिरो पीडा र सन्देश थियो ।
पछि, २० वटा किताब किनिदिने सल्लाह हुँदै गर्दा, मेयर अरु कार्यक्रममा जानुपर्ने भन्दै हतारमा बाहिरिए । पुनले भने "जानुस, अरुलाई पनि समय दिनुपर्ला" भन्दै बिदा गरे । अन्ततः उपमेयर, केही वडाध्यक्षसँग तस्वीर खिचेपछि, पुन उही चप्पल पड्काउँदै नगरपालिका बाहिर निस्किए । नगरपालिकाकाे गेटमा उभिएर नगरपालिका तिर गम्भीर माेडमा हेर्दै भने हामी आउनु हतार भयाे । त्यो हिँडाइमा एउटा मौन सन्देश थियो ......!!!