12/09/2025
शीतल निवासमा आजै सुशीला कार्कीको शपथग्रहण हुने
२७ भदौ, काठमाडौं ।
अन्तरिम सरकारको नेतृत्वका लागि नियुक्त पूर्वप्रधानन्यायाधीश सुशीला कार्की आज राति शीतल निवासमा शपथग्रहण गर्न लागेकी छन्।
राष्ट्रपतिको कार्यालय श्रोतका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले राति ९ बजेभित्रै उनलाई शपथ खुवाउने कार्यक्रम तय भएको छ।
शुक्रबार साँझ शीतल निवासमा राष्ट्रपति पौडेल, प्रधान सेनापति अशोकराज सिग्देल र कार्कीबीच भएको छलफलपछि संसद् विघटन गर्ने निर्णय भएको हो। सोसँगै कार्कीलाई अन्तरिम सरकार प्रमुखका रूपमा अघि बढाउने सहमति बनेको बताइन्छ।
याद रहोस्, भदौ २३ र २४ गते जे–नजी पुस्ताले चलाएको आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पदत्याग गरेका थिए। त्यसयता नयाँ नेतृत्वका लागि राष्ट्रपति, सेनाप्रमुख र जे–नजी प्रतिनिधिहरूमध्ये लगातार परामर्श हुँदै आएको थियो।
अब देशलाई चुनावतर्फ लैजाने जिम्मेवारी सुशीला कार्कीले सम्हाल्ने अपेक्षा गरिएको छ।