
08/08/2025
नेपाल तरुण दल बुद्धशान्ति गाउँ समितिको पाँचौं पालिका अधिवेशन सम्पन्न, करण लाबुङ लिम्बुको अध्यक्षतामा नयाँ समिति चयन
बुद्धशान्ति, झापा । राष्ट्रियता, लोकतन्त्र र समाजवादको मूल मर्म बोकेको नेपाल तरुण दल बुद्धशान्ति गाउँ समितिको पाँचौं पालिका अधिवेशन भव्यरूपमा सम्पन्न भएको छ ।
बुद्धशान्ति–४ स्थित कृषि मण्डीमा आयोजित अधिवेशनले करण लाबुङ लिम्बुको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
नवगठित समितिमा उपसभापतिमा सुनीत राई ‘विक्की’ र दिनेश फागो चयन भएका छन् भने सचिवमा दिपक खतिवडा र केशव बस्नेत रहेका छन् ।
कार्यक्रम नेपाली काँग्रेस बुद्धशान्ति गाउँ समिति सभापति चक्र शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो भने झापा जिल्ला सभापति देउमान थेबे प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।
त्यसैगरी, महासमिति सदस्यहरू राम कट्टेल, प्रेम समबाम्फे, चन्द्रकला भट्टराई, क्षेत्र नं. १ का सभापति इन्द्र बुढाथोकी, क्षेत्र नं. २ का सभापति खगेन्द्र मैनाली, महाधिवेशन प्रतिनिधिहरू पुष्पराज पौडेल, खड्ग धिमाल लगायत कांग्रेस र तरुण दलका विभिन्न पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रममा सह-सचिव अशोक लाखेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने केन्द्रीय सदस्य राजेन्द्र उप्रेतीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो ।
अधिवेशनमा सचिव विनोद रिजालले गाउँ समितिका तर्फबाट हालसम्मका गतिविधिको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी, तरुण दललाई निरन्तर सहयोग पुर्याउँदै आउनुभएका पूर्व सभापतिहरू ध्रुव ढकाल र इन्द्रजित इन्सुहाङलाई प्रमाणपत्र र खादामालाले सम्मान गरिएको थियो ।
कार्यक्रममा अतिथिहरूले नयाँ समितिलाई बधाई दिँदै शुभकामना मन्तव्य राखेका थिए । साथै, विगतका समितिहरूको योगदानप्रति आभार व्यक्त गर्दै आगामी दिनमा नेपाल तरुण दल अझ सशक्त ढंगले अघि बढ्ने विश्वास व्यक्त गरिएको थियो ।
कार्यक्रम सञ्चालन सचिवद्वय विनोद रिजाल र अर्जुन मेन्याङ्बोले संयुक्त रूपमा गर्नुभएको थियो ।