24/12/2025
हर्कराज साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले आज झापाको बिर्तामोडमा देखाएको हंगामाले ठूला भनिएका पुराना दललाई चुनौती पुगेको छ ।
बिर्तामोडको सिटी सेन्टरमा सयौ कार्यकर्ता भेला गराएर श्रम संस्कृति पार्टीले गरेको शक्ति प्रदर्शनले आगामी निर्वाचनमा एमाले अध्यक्ष केपी ओलीको गृहजिल्लाको विरासतमा धक्का पुग्न सक्ने देखिएको हो ।
गत कात्तिक २९ गते बिर्तामोडको सोही सिटी सेन्टरमा एमालेले जागरण सभा गरेको थियो । एमालेको सोही जिल्ला स्तरीय जागरण सभाको हाराहारीमा श्रम संस्कृति पार्टीले आफ्ना समर्थक उतारेको थियो ।
सयौको उपस्थिति देखेर उत्साहित भएका पार्टी अध्यक्ष साम्पाङले आफू सच्चा देशभक्त भएको अनुभूति गरेर यो जनसागरले साथ दिएको बताए । अव पुराना दलहरुलाई बाईबाई गरी परिवर्तनको लागि नयाँ पुस्तालाई देश जिम्मा दिनु पर्नेमा जोड दिदै उनले त्यसका लागि आगामी निर्वाचनमा माटो चुनाव चिन्हमा भोट हाल्न आग्रह गरे । जेनजी आन्दोलनपछि आफू प्रधानमन्त्री बन्न जाँदा घर फर्क भन्नेले आज हर्क साम्पाङ प्रधानमन्त्री बनेको भए हुन्थ्यो भनेर पश्चाताप गरिरहेको उनले सुनाए । आज माईतिघरमा आन्दोलन गरी लछारपछार हुँदासमेत जेनजीको पक्षमा कोही नभएको उदाहरण दिदै अध्यक्ष साम्पाङले सम्पूर्ण जेनजीहरुलाई आन्दोलन र अरुको भनाईमा नलागेर अब देशमा शान्ति स्थापनाका लागि सहयोग गर्न आग्रह गरे ।
सर्वोच्च अदालत जल्नुको मुख्य कारण पनि अदालतमा राजनीतिक नियुक्ति भएका न्यायकर्मीले गर्दा भएको दावी गर्दै उनले सिंहदरबारमा पनि सबै पहुँचवाला पार्टीको मात्र हाबी भएकाले सिंहदरबार जलेको साथै देशका प्रमुख स्थानलाई पार्टीको भर्ती केन्द्र बनाएकाले आज देश जलेर नष्ट भएको उनको भनाई थियो ।
शान्तिको प्रतीक परेवा उडाएर साम्पाङले कार्यक्रम उद्घाटन गरेका थिए । झापा जिल्ला अध्यक्ष केशव भण्डारीको अध्यक्षतामा भएको झापा जिल्ला समिति घोषणा तथा जिल्ला सभामा केन्द्रीय सचिव रबिन शेर्मा,केन्द्रीय कोषाध्यक्ष समिता राई ,केन्द्रीय उपाध्यक्ष एनएस फागो ,केन्द्रीय सदस्य हिमालयप्रकाश कन्दङ्वा ,पार्टीका झापा जिल्ला उपाध्यक्ष सुमनकुमार पोखरेललगायतको उपस्थिति रहेको थियो ।
बिर्तामोडमा आजदेखि पुष १२ गतेसम्म चार राजनीतिक दलको प्रदर्शन र सभा हुने भएको छ । आज श्रम संस्कृति पार्टीले कार्यक्रम गरिसकेपछि एमालेले भोलि गर्दैछ । त्यस्तै नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले शनिवार गर्दैछन् । श्रम संस्कृति पार्टीले देखाएको जनमानसबाट ती पार्टीहरुलाई चुनौती थपिएको हो ।
News: Pratidindaily