29/05/2026
के हो त प्राण प्रतिष्ठान
चाहे हिन्दू परम्परा होस् या बौद्ध, प्राण प्रतिष्ठाको मुख्य मर्म एउटै छ:
जबसम्म मूर्तिको प्राण प्रतिष्ठा वा रम्ने हुँदैन, तब सम्म त्यसलाई केवल ढुङ्गा, माटो, धातु वा एउटा कला कृति मात्र मानिन्छ। तर, भित्र 'शोङ' भरेर विधिवत् रूपमा यो संस्कार सम्पन्न गरिसकेपछि उक्त मूर्ति साक्षात भगवान् वा बुद्धको जीवन्त रूप बन्दछ र पूर्ण रूपमा बुद्व धर्ममा पूजनीय योग्य हुन्छ।
घरपझोङ गाउँपालिकाले निर्माण गरेको शालिग्राम विश्वकै सबैभन्दा ठूलो हो। यति ठूलो र ऐतिहासिक संरचनाको प्राण प्रतिष्ठा पनि उत्तिकै उच्च र विशिष्ट गुरुबाट गराउनु आवश्यक थियो। त्यसैले हिन्दू जगत्कै सर्वोच्च गुरु जगद्गुरु शंकराचार्य श्री विधुशेखर भारती महाराजमार्फत यो अनुष्ठान गराएर गाउँपालिकाले यसको धार्मिक गरिमालाई शिखरमा पुर्याएको छ।
प्राण प्रतिष्ठा र बौद्ध परम्परा (रम्ने)
हिन्दू धर्ममा जस्तै बौद्ध धर्ममा पनि मूर्ति, छोर्तेन वा गुम्बाहरू निर्माण गरिसकेपछि तिनलाई पवित्र बनाउन प्राण प्रतिष्ठा गरिन्छ।
हिमाली भेग र तिब्बती बौद्ध परम्परामा प्राण प्रतिष्ठाको विधिलाई 'रम्ने' भनिन्छ। उच्च लामा वा रिन्पोछेद्वारा विशेष मन्त्रोच्चारण र पूजापाठ गरेर मूर्ति वा छोर्तेनमा बुद्धत्व वा दिव्य ऊर्जा भर्ने काम यसै विधिमार्फत गरिन्छ।
बौद्ध मूर्ति वा छोर्तेनको भित्री भाग खाली राखिएको हुन्छ। प्राण प्रतिष्ठा (रम्ने) गर्नुअघि त्यसको भित्र बहुमूल्य धातुहरू (सुन, चाँदी, तामा), मन्त्र लेखिएका कागजका रोलहरू ,बहुमूल्य जडीबुटी, र पवित्र धुलिकणहरू भरिन्छ। यसरी भित्र राखिने पवित्र र बहुमूल्य सामग्रीहरूलाई तिब्बती ,थकाली भाषामा 'शोङ भनिन्छ।