20/07/2026
नयाँ कदम नेपालको हरियाली अभियान, खुटवामा ५०० भन्दा बढी बिरुवा वितरण
बारा, साउन ४ । बारा जिल्लाको प्रसौनी गाउँपालिका वडा नं. ४ खुटुवामा नयाँ कदम नेपाल संस्थाले सोमबार वृक्षारोपण तथा आयआर्जन प्रवर्द्धन अभियानअन्तर्गत स्थानीय बासिन्दालाई करिब ५०० वटा बिरुवा निःशुल्क वितरण गरेको छ।
वितरण गरिएका बिरुवामा तेजपत्ता, कल्की, बडहर, निम, अम्लालगायतका विभिन्न प्रजाति रहेका थिए। वातावरण संरक्षणसँगै स्थानीयको आर्थिक अवस्था सुदृढ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएको छ।
कार्यक्रमको अध्यक्षता नयाँ कदम नेपालका अध्यक्ष रञ्जित पाण्डेले गर्नुभएको थियो। कार्यक्रममा संस्थाका पदाधिकारी, समाजसेवी तथा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै संस्थाकी सचिव अनुराधा अधिकारीले तेजपत्ताको खेती स्थानीयका लागि आयआर्जनको प्रभावकारी माध्यम बन्न सक्ने बताउनुभयो। उहाँले तेजपत्ताले घरायसी मसलाको आवश्यकता पूरा गर्न, बाहिरबाट खरिद गर्नुपर्ने निर्भरता घटाउन तथा उत्पादनको उचित बजारीकरणमार्फत स्थानीयको आर्थिक अवस्था सुधार गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रमको समापन गर्दै अध्यक्ष रञ्जित पाण्डेले वातावरण संरक्षण र समुदायको आर्थिक सशक्तीकरणलाई सँगसँगै अघि बढाउने उद्देश्यले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।