15/11/2025
यदि मैले त्यो फुटेज सार्वजनिक नगरेको भए रवि दाइ र उनको टिमलाई ‘ह’त्या’ आरोपमा फसाइन्थ्यो - पत्रकार सन्तोष देउजाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रका विवादका बीच आफूले समय–समयमा पार्टी र सभापति रवि लामिछानेलाई ठूला सं’कटबाट जोगाउने भूमिका खेलेको दाबी गरेका छन्। सामाजिक सञ्जालमा सार्वजनिक गरेको स्टाटसमा देउजाले ढाका कुमार प्रकरणदेखि ड्राइभरको दुर्घ’टनासम्बन्धी फुटेजसम्मका घटनामा आफू अग्रसर रहेको उल्लेख गरेका छन्।
देउजाका अनुसार मन्त्री बन्न २ करोड घुस मागेको आरोप लागेका ढाका कुमार श्रेष्ठको प्रकरण आफूले सार्वजनिक नगरेको भए भ्रष्टाचार आरोपमा लिप्त पात्र संसद् हुँदै मन्त्रीसम्म पुग्ने खतरा थियो। “ढाका कुमारको घुस प्रकरण बाहिर ल्याएर मैले रास्वपालाई ठूलो अपमान र बदनामीबाट जोगाएँ,” देउजाले लेखेका छन्।
उनी भन्छन्, ड्राइभर आफैँ खसेको भिडियो फुटेज सार्वजनिक गर्नु पार्टी र नेतृत्वका लागि अर्को निर्णायक क्षण थियो। “यदि मैले त्यो फुटेज सार्वजनिक नगरेको भए रवि दाइ र उनको टिमलाई ‘ह’त्या’ आरोपमा फसाइन्थ्यो,” उनको दाबी छ।
त्यसबाहेक उनले सामाजिक सञ्जालमा अराजक पोस्ट गर्ने र शान्तिपूर्ण प्रदर्शनलाई उत्तेजित गर्ने केही व्यक्तिहरूलाई नियन्त्रणमा ल्याउन प्रहरीसँग समन्वय गरेको पनि बताएका छन्। “त्यस्तो नियन्त्रण नभएको भए पार्टी अनुशासनहीन समूहको हातमा जान्थ्यो,” उनले भने।
देउजाले हालै देखिएका बहिर्गमन र असन्तुष्टि प्रसङ्गमा परोक्ष कटाक्ष गर्दै लेखे—
“पार्टीभित्रका नक्कली सचेतकले धोका दिए पनि बाहिरको सक्कली सचेतकले रविलाई सधैं माया गर्छ।”
उनले रवि लामिछानेलाई हिरासतमा दुईपटक भेटेको उल्लेख गर्दै अन्याय भएको भन्दै सहानुभूति प्रकट गरेका छन्।
रास्वपाभित्र पछिल्ला दिनमा देखा परेको राजीनामा, आरोप–प्रत्यारोप र पुनर्गठनको बहसबीच देउजाको अभिव्यक्ति पार्टीभित्रको तनाव फेरि सतहमा आएको संकेतका रूपमा हेरिएको छ।