31/08/2026
प्रधानमन्त्री राहत कोषमा २५ हजार दिँदा एलिनालाई गाली, दुखाइन चित्त 😭
गायिका एलिना चौहानले बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा २५ हजार रुपैयाँ सहयोग गरेकी छन् । तीज विशेष सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलिया पुगेकी चौहानले क्युआरमार्फत उक्त रकम कोषमा जम्मा गरेकी हुन् ।
बाढी आएको भोलिपल्ट नै प्रधानमन्त्री राहत कोषमा सहयोग गरेको सहयोग रकमलाई लिएर सामाजिक सञ्जालमा आलोचना र घोचपेच हुन थालेपछि एलिनाले असन्तुष्टि व्यक्त गरेकी छन्।
कतिपयले सहयोग रकम कम भएको भन्दै टिप्पणी गरेका छन् भने केहीले अन्य कलाकारसँग तुलना गर्दै आलोचना गरेपछि एलिनाले सामाजिक सञ्जालमार्फत सबैलाई जवाफ दिँदै यसो भनेकी छिन् –
"फलानो कलाकारले यति थोरै सहयोग गर्यो, उसले त्यति मात्रै गर्यो” भनेर गाली गर्ने समय होइन यो।
सहयोग भनेको ठूलोसानो हुँदैन, मन ठूलो हुनुपर्छ।
कसैको क्षमता लाखौँको होला, कसैको हजारौँको होला, कसैले श्रमले सहयोग गर्ला, कसैले आवाज उठाएर। जसको जति क्षमता छ, उसले त्यति नै गर्छ।हो, अहिले देखावटी र नाटक गर्ने जमाना पनि छ। तर त्यसको हिसाबकिताब गर्दै बस्ने बेला होइन। कसैले साँचो मनले गरेको सानो सहयोग पनि कसैको जीवनमा ठूलो बन्न सक्छ।
सक्नुहुन्छ भने सहयोग गरौँ। सक्नुहुन्न भने कम्तीमा भुक्न छोडौँ।
अरूले कति गर्यो भनेर औँला उठाउनुभन्दा आफूले कति गर्न सकिन्छ, त्यो सोचौँ। मैले जति गरेँ, मनबाट गरेँ। आफ्नो औकात र क्षमताअनुसार गरेँ। कसैलाई देखाउन, ठूलो बन्न वा वाहवाही पाउनका लागि गरेको होइन। कस्तो जमाना आयो है… सहयोग गर्दा पनि गाली खानुपर्ने !"