30/08/2026
बाढीले थुनिएका यी ६ जलविद्युत् आयोजनामा चलिरहेको छ उद्धार
भोटेकोशी क्षेत्रमा आएको बाढीबाट ११ वटा जलविद्युत् आयोजना क्षतिग्रस्त भएका छन् । ती आयोजनासँग सम्बन्धित ८९७ जना व्यक्ति सम्पर्कविहीन रहेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले जनाएको छ।
इप्पानले आइतबार साँझसम्म प्रभावित आयोजनाहरूबाट प्राप्त विवरणका आधारमा सार्वजनिक गरेको तथ्यांकअनुसार बाढी प्रभावित क्षेत्रमा कुल १२ वटा जलविद्युत् आयोजना रहेका छन्। ती आयोजनाको कुल जडित क्षमता ६६९ मेगावाट छ। यसमध्ये ८ वटा सञ्चालनमा रहेका र ४ वटा निर्माणाधीन आयोजना छन्।
रसुवाका आयोजनाबाट ७२९ जना सम्पर्कविहीन
इप्पानका अनुसार रसुवा जिल्लाका बाढी प्रभावित ६ वटा जलविद्युत् आयोजनाबाट ७२९ जना सम्पर्कविहीन छन्।
सबैभन्दा धेरै २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ आयोजनाबाट ५७६ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ। यस्तै १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाबाट ९३ जना, १२० मेगावाटको रसुवा–भोटेकोशी आयोजनाबाट ४ जना, २० मेगावाटको लाङटाङ खोला आयोजनाबाट ४१ जना, २२ मेगावाटको चिलिमे आयोजनाबाट ८ जना र ५ मेगावाटको मैलुङ खोला आयोजनाबाट ७ जना सम्पर्कविहीन छन्।
नुवाकोटका आयोजनाबाट १६८ जना सम्पर्कविहीन
नुवाकोटका बाढी प्रभावित आयोजनाबाट १६८ जना सम्पर्कविहीन रहेको इप्पानको विवरणमा उल्लेख छ।
२४ मेगावाटको त्रिशूली जलविद्युत् आयोजनाबाट १ जना, १४.१ मेगावाटको देवीघाट जलविद्युत् आयोजनाबाट १ जना, ६० मेगावाटको माथिल्लो त्रिशूली थ्री ‘ए’ आयोजनाबाट ४२ जना, ३७ मेगावाटको माथिल्लो त्रिशूली थ्री ‘बी’ आयोजनाबाट १२२ जना र १५.६ मेगावाटको मिडिल त्रिशूली गंगा आयोजनाबाट २ जना सम्पर्कविहीन छन्।
इप्पानको विवरणमा २५ मेगावाटको सौर्य विद्युत् आयोजनासमेत बाढीले बगाएको छ।
रसुवागढीमा उपकरणसहित खोजी सुरु
१११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाबाट सम्पर्कविहीन भएका ९३ जनाको खोजी सुरु गरिएको इप्पानले जनाएको छ।
आइतबार उपकरणसहितको उद्धार टोली आयोजनाको विद्युत्गृहसम्म पुगेको थियो। यसअघि चार दिनसम्म प्रत्यक्ष रूपमा खोजी कार्य सुरु हुन नसकेको इप्पानको विवरणमा उल्लेख छ।
सम्पर्कविहीनमध्ये रसुवागढी हाइड्रोपावर कम्पनीका ४९ जना कर्मचारी, २ जना ज्यालादारी कर्मचारी, निर्माण कार्यमा खटिएका शेर्पा हाइड्रो कन्स्ट्रक्सनका ३५ जना, सीडब्ल्यूईका ४ जना र भन्स कन्स्ट्रक्सनका ३ जना रहेको विवरणमा उल्लेख छ।
भूमिगत डिसेन्डरमा फसेका ६ जनामध्ये ४ जना दुई दिन लगाएर आफैं बाहिर निस्कन सफल भएपछि नेपाली सेनाले हेलिकोप्टरमार्फत उद्धार गरेको जनाएको छ। यस्तै ३ जना सुरक्षित स्थानमा पुगेर ज्यान जोगाउन सफल भएका थिए।
लाङटाङ खोलाको सुरुङमा ४१ जना
२० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजनाबाट यसअघि १९ जनाको उद्धार भए पनि सुरुङमा फसेका ४१ जनाको उद्धार हुन सकेको छैन।
निजी क्षेत्रको उक्त आयोजनामा आइतबार मात्रै उद्धारका लागि उपकरणसहित नेपाली सेनाको टोली परिचालन गरिएको थियो। टोलीले खोजतलास गरे पनि सफलता मिल्न नसकेको इप्पानले जनाएको छ।
माथिल्लो त्रिशूली थ्री ‘ए’ मा सुरुङभित्र प्रवेशको तयारी
६० मेगावाटको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनामा आइतबार उद्धार टोली सुरुङको प्रवेशद्वारसम्म पुग्न सफल भएको छ।
हाल प्रवेशद्वारमा थुप्रिएको सामग्री हटाएर उद्धारकर्मी सुरुङभित्र प्रवेश गर्न सक्ने गरी बाटो बनाउने काम भइरहेको छ। प्रवेशद्वार सफा भएपछि अक्सिजनसहित उद्धारकर्मीलाई सुरुङभित्र पठाउने तयारी गरिएको छ।
सुरुङभित्रको वास्तविक अवस्था बाहिरबाट समेत हेर्न सकिने गरी क्यामेरासहित उद्धारकर्मी पठाउने तयारी भइरहेको इप्पानले जनाएको छ।
चिलिमेमा पुनः आएको बाढीले उद्धार रोकियो
२२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाको विद्युत्गृहमा फसेकाहरूको उद्धार आइतबार पनि हुन सकेन।
भारतीय प्राविधिक टोलीको सहभागितामा उद्धार कार्य सुरु गर्ने तयारी भइरहेका बेला पुनः आएको बाढीले आयोजनाको संरचना रहेको क्षेत्रमा थप क्षति पुर्याएपछि उद्धार कार्य रोकिएको इप्पानले जनाएको छ।
पुनः आएको बाढीले इन्टेक क्षेत्रका संरचनासमेत बगाएको जनाइएको छ। विद्युत्गृहमा फसेकाहरूको उद्धारबारे के गर्ने भन्ने विषयमा सोमबार निर्णय गरिने इप्पानको विवरणमा उल्लेख छ।
मैलुङ खोलाका ७ जनाको अवस्था अज्ञात
५ मेगावाटको मैलुङ खोला जलविद्युत् आयोजनाबाट सम्पर्कविहीन भएका ७ जनाको अवस्था अझै अज्ञात रहेको इप्पानले जनाएको छ।
सरकारसँग पहल गर्दा पनि सम्पर्कविहीनहरूको खोजी कार्य सुरु हुन नसकेको विवरणमा उल्लेख छ।
माथिल्लो त्रिशूली थ्री ‘बी’ मा उद्धार सफल भएन
३७ मेगावाटको माथिल्लो त्रिशूली थ्री ‘बी’ आयोजनामा फसेकाहरूको उद्धार कार्य आइतबारसम्म जारी रहे पनि सफलता मिल्न सकेको छैन।
छिमेकी मुलुक चीनबाट आएको प्राविधिक टोली र नेपाली सेनाको टोली परिचालन गरिएको छ। आयोजनाको संरचना रहेको स्थानको पहिचान गर्ने काम मात्रै सुरु भएको इप्पानले जनाएको छ।
माथिल्लो त्रिशूली–१ बाट ५७६ जना सम्पर्कविहीन
बाढी प्रभावित आयोजनामध्ये सबैभन्दा धेरै व्यक्ति २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ आयोजनाबाट सम्पर्कविहीन छन्।
इप्पानका अनुसार उक्त आयोजनाबाट ५७६ जना सम्पर्कविहीन रहेको विवरण प्राप्त भएको छ। सुरक्षित स्थानमा रहेका २५४ जनाको उद्धार भए पनि सम्पर्कविहीनहरूको खोजी कार्यमा उल्लेख्य प्रगति हुन सकेको छैन।
आयोजनाको सुरुङमा मात्रै करिब ३०० जना थुनिएको अनुमान गरिएको इप्पानले उल्लेख गरेको छ।
इप्पानका अनुसार आइतबार साँझसम्म प्रभावित आयोजनाहरूबाट प्राप्त सूचनामा आधारित रहेको जनाएको छ। उद्धार र खोजी कार्य जारी रहेकाले सम्पर्कविहीन तथा उद्धार भएका व्यक्तिको विवरणमा परिवर्तन हुन सक्ने देखिएको छ।