05/05/2025
चक्रपथ बाहिर मेलम्चीको पानी वितरण गर्ने तयारी
काठमाडौं । काठमाडौं उपत्यकाको चक्रपथ बाहिरका क्षेत्रमासमेत मेलम्चीको खानेपानी वितरण सञ्जाल निर्माण गर्ने तयारी गरिएको छ ।
आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी)ले ‘काठमाडौं उपत्यका खानेपानी सुधार आयोजना (दोस्रो चरण)’ अन्तर्गत वितरण सञ्जाल सुधार तथा प्रणाली स्थायीत्व सेवाका लागि आज खुला बोलपत्रसमेत आह्वान गरेको छ ।
काठमाडौं उपत्यका खानेपानी सुधार आयोजना (दोस्रो चरण) अन्तर्गत नेपाल सरकारको बजेट र एसियाली विकास बैङ्कको सहयोगमा सुरू गर्न लागिएको उपत्यका खानेपानी सुधार आयोजना (दोस्रो चरण) अन्तर्गत काठमाडौं, बूढानीलकण्ठ, गोकर्णेश्वर, कीर्तिपुर, भक्तपुर, सूर्यविनायक र मध्यपुर ठिमी नगरपालिकामा मेलम्चीको पानी वितरण सञ्जाल निर्माण गर्न लागिएको आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) टिकाबहादुर चौधरीले जानकारी दिए ।
आयोजनाको दोस्रो चरणमा भक्तपुर नगरपालिका र सूर्यविनायक नगरपालिकाका विभिन्न क्षेत्रमा गरी १५१ दशमलव ३० किलोमिटर, कीर्तिपुर, काठमाडौं र चन्द्रागिरी नगरपालिकाका विभिन्न क्षेत्रमा गरी ७५ दशमलव ९८ किलोमिटर, मध्यपुर थिमी नगरपालिका क्षेत्रमा ३०८ दशमलव १५ किलोमिटर, कपन र जोरपाटी उत्तर क्षेत्रमा गरी २०० दशमलब २३ किमी र जोरपाटी दक्षिण र पेप्सीकोला क्षेत्रमा १३९ दशमलव ७४ किमी गरी कूल ८७५ दशमलव ४ किमी खानेपानी वितरण सञ्जाल निर्माण गर्ने लक्ष्य रहेको आयोजना उपनिर्देशक एवं प्रवक्ता ई विकेश बधानथाछेले बताए।
उनका अनुसार जसअन्तर्गत वितरण सञ्जालका ८२८ दशमलब ९२ किमी पिइपाइप र ४६ दशमलब ४८ किमी डिआई पाइप बिच्छ्याइनेछ ।
यी क्षेत्रमा खानेपानी वितरण सञ्जाल निर्माणलाई छिटोछरितो रूपमा अगाडि बढाउन भक्तपुर, कीर्तिपुर, ठिमी, कपन, जोरपाटी उत्तर तथा जोरपाटी दक्षिण र पेम्सीकोला क्षेत्र गरी विभिन्न पाँच प्याकेजमा वर्गीकरण गरी खानेपानी वितरण सञ्जाल निर्माण गरिने प्रमुख चौधरीले बताए ।
आयोजनाको दोस्रो चरणमा निर्माण गरिने खानेपानी वितरण सञ्जालबाट ती क्षेत्रका करिव ६३ हजार घरधुरी लाभान्वित हुनेछन् । आयोजनाको दोस्रो चरणको निर्माण सुरू भएको मितिले तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।