02/06/2026
'रामारोशन स्काई रन'असार ३ गते, ७ लाख ५२ हजार पुरस्कार
काठमाडौं — नेपाल एड्भेन्चर रनिङ फेडेरेसन (एनएआरएफ) को आयोजनामा रामारोशन स्काई रन २०२६ आगामी असार ३ गते सुदूरपश्चिम प्रदेशको प्रसिद्ध पर्यटकीय गन्तव्य रामारोशन क्षेत्रमा आयोजना हुने भएको छ ।
फेडेरेसनले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपालमा आफ्नो पहिलो आधिकारिक स्काई रनिङ प्रतियोगिताका रूपमा रामारोशन स्काई रन आयोजना गर्न लागेको जानकारी दिएको हो ।
प्रतियोगिता सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्, सामाजिक विकास मन्त्रालय, रामारोशन गाउँपालिका तथा साँफेबगर नगरपालिका को सहकार्यमा सञ्चालन हुनेछ ।
फेडेरेसनका अध्यक्ष एकेन्द्र कुँवरले नेपालमा स्काई रनिङको ठूलो सम्भावना रहेको उल्लेख गर्दै भविष्यमा अन्तर्राष्ट्रिय स्तरका स्काई रनिङ प्रतियोगिता आयोजना गर्न सकिने विश्वास व्यक्त गरे । उनले रामारोशन क्षेत्रको प्राकृतिक सौन्दर्य र चुनौतीपूर्ण भूगोलले नेपाललाई विश्वस्तरीय स्काई रनिङ गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने बताए ।
प्रतियोगिताका संयोजक निरुपमध्वज कार्कीले विगतमा यस्तै प्रकृतिका दौडहरू भए पनि फेडेरेसनको आधिकारिक आयोजनामा पहिलो पटक स्काई रनिङ प्रतियोगिता सञ्चालन हुन लागेको जानकारी दिए ।
२८ किलोमिटरको चुनौतीपूर्ण मार्ग:
प्रतियोगिताअन्तर्गत पुरुष तथा महिला खुला विधामा २८ किलोमिटर स्काई रनिङ च्यालेन्ज आयोजना हुनेछ । करिब २,१५० मिटर उकालो उचाइ (Elevation Gain) समेटिएको दौड रामेखण्डबाट सुरु भई जिइंगले ताल, लामादह ताल, रोशन पाटन, चाँखाटप (३,८२० मिटर) र किनिमिनी पाटन हुँदै पुनः रामेखण्डमै समापन हुनेछ ।
मार्गभर धावकहरूको सुरक्षा र सहजताका लागि ६ वटा वाटर पोइन्ट र ६ वटा चेकपोइन्ट को व्यवस्था गरिने आयोजकले जनाएको छ ।
यससँगै स्थानीय युवालाई प्रोत्साहन गर्ने उद्देश्यले २० वर्षमुनिका खेलाडीका लागि ५ किलोमिटर सामुदायिक दौड पनि आयोजना गरिनेछ ।......
१०० जनामात्र सहभागी, दर्ता खुला:
प्रतियोगितामा अधिकतम १०० जना धावकले मात्र सहभागिता जनाउनेछन् । खेलाडी दर्ता प्रक्रिया जेठ १९ गतेदेखि सुरु भएको छ । आयोजकका अनुसार केही विदेशी धावकहरूले समेत सहभागिता जनाउने तयारी गरिरहेका छन् ।
२८ किलोमिटर दौडका लागि प्रति सहभागी २ हजार ५०० रुपैयाँ दर्ता शुल्क तोकिएको छ भने स्थानीय सहभागीका लागि दर्ता निःशुल्क रहनेछ ।
दर्ता गर्ने पहिलो ३० जना सहभागीलाई काठमाडौं–रामारोशन–काठमाडौं निःशुल्क यातायात सुविधा उपलब्ध गराइनेछ । साथै सबै सहभागीलाई रामारोशनमा आवास, भोजन तथा अछामभित्र आवश्यक यातायात सुविधा प्रदान गरिनेछ ।
सबै सहभागीले सहभागिता प्रमाणपत्र प्राप्त गर्नेछन् भने मुख्य दौड पूरा गर्ने धावकहरूलाई फिनिसर मेडल प्रदान गरिनेछ ।......
७ लाख ५२ हजार रुपैयाँ पुरस्कार:
प्रतियोगिताको कुल पुरस्कार राशि ७ लाख ५२ हजार रुपैयाँ रहेको छ ।
२८ किलोमिटर स्काई रनिङ च्यालेन्ज
पुरुष तथा महिला दुवै विधामा:
प्रथम : १ लाख रुपैयाँ
द्वितीय : ७५ हजार रुपैयाँ
तृतीय : ५० हजार रुपैयाँ
यसका अतिरिक्त पुरुष तथा महिला दुवै विधाका शीर्ष १० स्थान हासिल गर्ने धावकहरूलाई पनि नगद पुरस्कार प्रदान गरिनेछ ।
५ किलोमिटर सामुदायिक दौड
पुरुष तथा महिला दुवै विधामा:
प्रथम : २० हजार रुपैयाँ
द्वितीय : १५ हजार रुपैयाँ
तृतीय : १० हजार रुपैयाँ
सबै विजेताहरूलाई ट्रफी, मेडल तथा प्रमाणपत्र समेत प्रदान गरिनेछ ।.......
पर्यटन प्रवर्द्धनमा टेवा
आयोजकका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य सुदूरपश्चिम नेपालको प्राकृतिक सम्पदा, स्थानीय संस्कृति, साहसिक पर्यटन तथा ग्रामीण अर्थतन्त्रको प्रवर्द्धन गर्नु हो ।
“बाह्र बण्ड अठार खण्ड” का नामले परिचित रामारोशन क्षेत्र समुद्री सतहबाट २,०५० मिटरदेखि ३,८५० मिटरसम्म फैलिएको छ । हिमाली ताल, विशाल पाटन, घना वन र मनोरम हिमशृङ्खलाले घेरिएको यस क्षेत्रले साहसिक खेलकुदका लागि विशेष आकर्षण बोकेको छ ।
करिब ४० लाख रुपैयाँ लागत अनुमान गरिएको रामारोशन स्काई रन २०२६ लाई आयोजकले केवल खेलकुद प्रतियोगिता मात्र नभई सुदूरपश्चिमको पर्यटन, संस्कृति र स्थानीय अर्थतन्त्रलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने महत्वपूर्ण अभियानका रूपमा लिएको जनाएको छ ।
फेडेरेसनको विश्वास छ कि यस प्रतियोगिताले नेपालमा स्काई रनिङ खेलको विकास, खेल पर्यटनको विस्तार तथा रामारोशनलाई विश्वस्तरीय साहसिक खेल गन्तव्यका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुर्याउनेछ ।