09/08/2026
फिल्मको हिरो बन्ने खबरले भावुक भए भक्ते भाइ, आँसु थाम्नै सकेनन् 😢
‘भक्ते भाइ’ नामले सामाजिक सञ्जालमा लोकप्रिय कमेडियन अमित सुब्बाको जीवनमा अब नयाँ अध्याय सुरु हुने भएको छ। आफ्नै ठेट शैली, रैथाने लवज र मौलिक कमेडीमार्फत दर्शकलाई हँसाउँदै आएका भक्ते भाइ अब नेपाली फिल्मको पर्दामा नायकका रूपमा देखिने भएका छन्।
नेपालसँगै दार्जिलिङ र सिक्किमसम्म ठूलो प्रशंसक वर्ग बनाउन सफल भक्ते भाइले चलचित्र ‘पच्चीस पच्चीस’ बाट नेपाली फिल्म क्षेत्रमा डेब्यु गर्ने पक्का भएको हो।
कुनै समय गाउँघरमा सामान्य जीवन बिताउँदै हिँड्ने अमितले आफू एकदिन फिल्मको हिरो बन्छु भन्ने कल्पनासमेत नगरेको बताउने गरेका छन्। तर आज त्यही सपना नसोचेको ढंगले पूरा हुन लागेपछि उनी भावुक बनेका छन्।
फिल्मको नायक बन्ने अवसर पाएपछि आफ्ना संघर्ष र विगत सम्झिँदै भक्ते भाइले आँसु रोक्न नसकेको बताएका छन्। सामाजिक सञ्जालबाट सुरु भएको उनको यात्रा अब ठूलो पर्दासम्म पुगेको क्षणलाई उनका प्रशंसकले पनि विशेष उपलब्धिका रूपमा लिएका छन्।
निर्माण पक्षका अनुसार ‘पच्चीस पच्चीस’ सामाजिक–कमेडी जनरामा निर्माण हुँदैछ। चलचित्रमा समाजमा घटिरहेका वास्तविक घटनालाई व्यङ्ग्य, हास्य र मनोरञ्जनको माध्यमबाट प्रस्तुत गर्ने प्रयास गरिएको बताइएको छ।
आफ्नो मौलिक कमेडीका कारण नेपाल, भारतलगायत विभिन्न देशमा समेत लोकप्रियता कमाइसकेका भक्ते भाइ पहिलोपटक फिल्मको मुख्य भूमिकामा देखिन लागेकाले चलचित्रप्रति दर्शकको चासो पनि बढेको छ।
सोसल मिडियाको छोटो भिडियोबाट यात्रा सुरु गरेका भक्ते भाइ अब ठूलो पर्दाको हिरो बन्ने तयारीमा छन्। उनको यो नयाँ यात्राले कस्तो प्रभाव पार्छ, त्यो भने फिल्म प्रदर्शनपछि नै थाहा हुनेछ।
फिल्मी यात्राको नयाँ सुरुवात गर्न लागेका भक्ते भाइलाई सफलताको शुभकामना!