13/09/2025
नेपालकी प्रथम महिला प्रधानन्यायाधीश सम्माननीय सुशीला कार्की नेपालकी प्रथम महिला प्रधानमन्त्री बन्नु भएकोमा हार्दिक बधाई !
आमाको कथा !
(आत्मकथा !)
"मेरो जीवनका कर्महरूमा म कति सफल भएँ, रहें, त्यो आम जनमानस र मनले गर्ने मूल्याङ्कन हो । हरेक मान्छेले आ-आफ्नो ठाउँबाट सकभर शुद्ध जीवन जिउन कोशिश गर्ने हो । कुनै पनि चिजलाई शुद्ध बनाउन त्यसभित्र र वरिपरिका अशुद्ध चिजलाई फाल्नै पर्छ । शुद्ध जीवन जिउँदा समाजमा होचो, कमजोर वा मसिनो भइएला तर मानसिक शान्ति भने शिखरजस्तै उच्च पाइन्छ । त्यही मानसिक शान्तिले मानिसलाई सफलताको मार्गमा डोऱ्याउँछ ।
मैले शान्तिको खोजका निम्ति बुद्ध बन्नुपर्छ भनेकी होइन, सदाचारका निम्ति गान्धी नै बन्नुपर्छ भनेकी होइन । मनमा बुद्ध र गान्धीको विम्ब भयो भने संसारका कुनै धाम धाउनुपर्दैन । आफ्नो मनलाई पवित्र धाम बनाउने कोशिश गर्न सकियो भने बाँच्नुको सार्थकता रहन्छ भन्ने म ठान्छु ।
आम नागरिकबाट यो देशको पहिलो महिला प्रधान न्यायाधीश बनिसकेपछि मैले भोगेका, देखेका, अनुभव गरेका र बटुलेका ज्ञानलाई बाँडिनँ भने म बाँचेको समय र समाजलाई अन्याय हुन्छ भन्ने मलाई लाग्यो र म आफ्नो आत्मकथा लेख्ने निष्कर्षमा पुगेँ । व्यक्तिगत जीवनमा सबैका आ-आफ्ना कथा र व्यथा हुन्छन्, तिनको हिसाब र मूल्याङ्कन वैयक्तिकरूपमा मात्रै गरे पुग्छ तर जब सामाजिक जीवनमा पुगिन्छ, तब हरेक कुराको जवाफ सार्वजनिकरूपमा दिन सक्ने हुनुपर्छ । म पुगेको कुर्सी, मैले गरेका काम र तिनै घटनाहरूको पुलिन्दा हो, यो आत्मकथा ।
सबैतिरबाट न्याय हरायो भने जनतालाई अन्तिम आश न्यायालयको मात्रै हुन्छ । जनताको न्यायिक क्षेत्रको अन्तिम आशाभित्रका कथा-व्यथा कस्ता छन् ? सर्वोच्च अदालतको अन्तरकथा कस्तो छ ? न्यायालयको शुद्धीकरण के हो कसरी हुन्छ ? कार्यपालिकाले न्यायपालिकालाई कसरी हस्तक्षेप गर्न खोजेको छ ? लगायतका जनचासोलाई मैले समेट्ने कोशिश गरेकी छु ।
जीवन कसैको पनि दूधले धोएको हुँदैन । मेरा पनि केही कमीकमजोरी होलान् । तिनलाई व्यक्त गर्नु मेरो कर्तव्य ठान्दछु । यो आत्मकथा लेख्नुको उद्देश्य कसैलाई होच्याउने, वैमनश्यता राख्ने वा गुनासो र सिकायत गर्ने केही होइन । म हिंडेको बाटोमा कसैले काँडा राख्दछ भने त्यसलाई पन्छाउनै पर्यो । कुनै काँडाको मन दुख्यो भने पनि म माफी चाहन्छु ।"
- सुशीला कार्की
(वि.सं. २०७५ साल असोज ६ गते लोकार्पण भएको 'न्याय'को दोस्रो संस्करण बजारमा उपलब्ध छ !)