09/06/2026
२०५८ सालको दरबार हत्याकाण्डको फाईल फेरि अध्ययन गरिने
~~~~~
काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले बहुचर्चित नारायणहिटी दरबार हत्याकाण्डको फाइल पुनः अध्ययन गरी थप अनुसन्धान प्रक्रिया अघि बढाउने निर्णय गरेका छन्। मंगलबार मन्त्रालयमा पदभार ग्रहण गरेपछि उनले उक्त निर्णय सार्वजनिक गरेका हुन्।
वि.सं. २०५८ जेठ १९ गते नारायणहिटी राजदरबारमा भएको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्या तथा राजपरिवारका अन्य सदस्यसहित धेरैको ज्यान गएको थियो। नेपालको राजनीतिक तथा राजसंस्थाको इतिहासमा यो घटना ठूलो मोडका रूपमा लिइन्छ। घटनापछि गठित छानबिन समितिले युवराज दीपेन्द्रलाई मुख्य जिम्मेवार ठहर गरे पनि त्यसबारे विभिन्न कोणबाट प्रश्न र बहस हुँदै आएका छन्। धेरै नागरिकले घटनाको सत्यतथ्य अझै पूर्ण रूपमा बाहिर नआएको धारणा राख्दै आएका छन्।
यही पृष्ठभूमिमा गृहमन्त्री गुरुङले विगतमा तयार भएका प्रतिवेदन र अनुसन्धान सामग्रीको अध्ययन गरी आवश्यक परे थप छानबिन अघि बढाइने बताएका छन्। साथै, उनले जेनजी आन्दोलनसँग सम्बन्धित फौजदारी मुद्दाबारे अध्ययन गर्ने तथा विभिन्न निकायमा रोकिएका वा छानबिनका क्रममा रहेका फाइलहरूलाई पनि अगाडि बढाउने निर्णय गरेका छन ।