25/11/2025
सोलुदुधकुण्ड–१०, टाप्टिङमा फाइबर इन्टरनेट जडान कार्य आज देखि सुरु, अब सञ्चार सेवामा थप सहजता,
सोलुखुम्बु मंसिर ९ — सोलुदुधकुण्ड नगरपालिका वडा नं. १० टाप्टिङमा दिगो तथा भरपर्दो इन्टरनेट सेवा विस्तारको काम औपचारिक रूपमा सुरु भएको छ। समाजसेवी आङ ङिमा गोर्जाको १,५०,०००/- रुपैयाँको सहयोग तथा Arrownet (एरोनेट) का प्रतिनिधि कुन्दन गुरुङको समन्वयमा सो क्षेत्रका बस्तीहरूमा फाइबर इन्टरनेट जडान कार्य अगाडि बढाइएको हो।
नयाँ जडान भइरहेको Arrownet फाइबर लाइन हावा, हुरी, वर्षा, झरी तथा बादल जस्ता प्रतिकूल मौसमस्थितिमा समेत प्रभावित नहुने किसिमले निर्माण गरिएको छ। दुर्गम भूभागका उपभोक्ताका लागि यो सेवा अत्यन्त उपयोगी, भरपर्दो र स्थिर बन्ने अपेक्षा गरिएको छ।
इन्टरनेट सेवा विस्तारसँगै अब टाप्टिङ–१० का विद्यालय, अस्पताल, स्थानीय बासिन्दा तथा विदेशमा रहेका आफन्तसँग नियमित सम्पर्क राख्नुपर्ने दाजुभाइ दिदीबहिनीहरूलाई ठूलो सहजता हुने भएको छ। नेपाल टेलिकमको 4G सेवा बेलुका ४ बजेपछि राति १० बजे सम्म अवरुद्ध हुने तथा बिहान–दिउँसो मात्र सामान्य रूपमा चल्ने समस्या स्थानीयले झेल्दै आएका थिए। अब फाइबर इन्टरनेटले सो खालीपन पूरा गर्नेछ।
Arrownet कम्पनीका अनुसार अब आगामी १ हप्ता भित्र ताप्टिङ–१० को साविकका ९ वटै वडामा फाइबर इन्टरनेट जडान पूरा गरिनेछ। उक्त सेवा ‘भर्पर्दो र विश्वासिलो’ रूपमा उपलब्ध गराइने कम्पनीले जनाएको छ।
स्थानीयवासीहरूले इन्टरनेट सेवाले शिक्षादेखि स्वास्थ्य र सञ्चारका क्षेत्रमा महत्वपूर्ण परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका छन्।