01/09/2026
नेपाल–तिब्बत सीमा क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोबाट ठूलो जनधनको क्षति भइरहेका बेला भारतीय आध्यात्मिक गुरु सद्गुरु जग्गी वासुदेवले नेपालका बाढीपीडितका लागि १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।
सद्गुरुले ईशा नेपालमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग गर्ने बताएका हुन्। साथै, नेपाललाई आवश्यक पर्ने अन्य सहयोग उपलब्ध गराउन आफूहरू तयार रहेको पनि उनले बताएका छन्।
विपद्को सम्पूर्ण जिम्मेवारी नेपाल सरकारमाथि मात्र थोपर्न नहुने उल्लेख गर्दै उनले यस्तो ठूलो प्राकृतिक विपद्को सामना गर्न क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताए।
सद्गुरुले नेपाल, भारत, चीन, पाकिस्तान र भुटान सम्मिलित एउटा साझा संयन्त्र अर्थात् ‘हिमालयन बोर्ड’ गठन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्।
उनका अनुसार हिमालय राजनीतिक सीमाभन्दा माथिको साझा प्राकृतिक सम्पदा हो। जलवायु परिवर्तन र प्राकृतिक विपद्का चुनौती बढ्दै गइरहेका बेला हिमालय क्षेत्रको संरक्षण तथा विपद् व्यवस्थापनका लागि यी राष्ट्रहरूले मिलेर काम गर्न आवश्यक छ।
विपत्तिको यो कठिन समयमा नेपालप्रति देखाइएको ऐक्यबद्धता र सहयोगले पीडित परिवारमा केही आशा जगाउन सक्छ।
t