02/10/2026
‘म आफ्नो ज्यानका लागि लडिरहेको थिएँ, तर अरूलाई मर्न दिन सक्दिनँ’
काठमाडौं–दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको FZ1073 विमानमा सह–पाइलटको आक्रमणबाट गम्भीर घाइते भएका भारतीय क्याप्टेन स्मित मच्छारले आफूले ज्यान जोगाउन मात्रै नभई विमानमा रहेका यात्रुको जीवन बचाउनसमेत संघर्ष गरेको बताएका छन्।
घटनापछि पहिलोपटक सार्वजनिक रूपमा बोल्दै मच्छारले शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भिडियो संवादमा ककपिटभित्र आफूले भोगेको घटनाबारे बताएका हुन्। उनी हाल संयुक्त अरब इमिरेट्सको अबुधाबीस्थित अस्पतालमा उपचाररत छन्।
मच्छारका अनुसार सह–पाइलटको आक्रमणपछि उनी गम्भीर घाइते भएर ककपिटको भुइँमा ढलेका थिए। त्यही क्रममा विमान तीव्र गतिमा तलतर्फ गइरहेको उनले महसुस गरे।
‘म आफ्नो ज्यानका लागि लडिरहेको थिएँ। म यति धेरै घाइते भएको थिएँ कि भुइँमा ढलेँ। त्यसबेला मनमा आयो– म फेरि उठ्न सकिनँ भने के हुन्छ?’ उनले मोदीसँग भनेका थिए।
विमान तलतर्फ गइरहेको महसुस भएपछि आफूले अन्तिमपटक बल लगाएर ककपिटको ढोका खोल्न प्रयास गरेको उनले बताए। त्यस क्रममा पनि आक्रमणकारीले आफूलाई कुटिरहेको उनको भनाइ छ।
‘एकपटक अन्तिम बल लगाऊ, स्मित! गर। ढोका त्यहीँ छ,’ आफूले त्यतिबेला आफैंलाई भनेको उनले सम्झिए।
गम्भीर घाइते अवस्थामै मच्छारले ककपिटको ढोका खोल्न सफल भएका थिए। ढोका खुलेपछि केही यात्रु ककपिटमा प्रवेश गरेर आक्रमणकारीलाई नियन्त्रणमा लिन सफल भएको उनले बताए। त्यसपछि चालक दलका अन्य सदस्यले विमानको नियन्त्रण सम्हालेका थिए।
मच्छारले आफू आफ्नै जीवनका लागि संघर्ष गरिरहे पनि विमानमा रहेका अन्य यात्रुको सुरक्षाको चिन्ता उत्तिकै रहेको बताए।
‘म आफ्नो ज्यानका लागि लडिरहेको थिएँ। तर त्यही समयमा मलाई थाहा थियो– म अरू सबैलाई मर्न दिन सक्दिनँ,’ उनले भने।
कुराकानीका क्रममा मच्छार भावुकसमेत भएका थिए। कठिन अवस्थामा आफूले हनुमान चालिसा पाठ गरेको उनले मोदीलाई बताएका थिए।
प्रधानमन्त्री मोदीले मच्छारको साहस, धैर्य र तत्काल निर्णय लिन सक्ने क्षमताको प्रशंसा गर्दै शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
घटनाबारे सम्बन्धित निकायले अनुसन्धान गरिरहेका छन्। मच्छारको स्वास्थ्य अवस्था र घटनाको विस्तृत कारणबारे थप विवरण अनुसन्धानपछि सार्वजनिक हुने बताइएको छ।