30/08/2026
पहिचान नखुलेका शव सामूहिक रूपमा गाड्ने निर्णयप्रति विनय जंग बस्नेतको आपत्ति
रसुवाको भोटेकोशी बाढीमा परी चितवनसम्म बगाएर ल्याइएका पहिचान नखुलेका शवलाई जमिनमुनि व्यवस्थापन गर्ने निर्णयप्रति लामो समयदेखि बेवारिसे शवको सद्गत गर्दै आएका विनय जंग बस्नेतले आपत्ति जनाएका छन्।
शनिबार चितवन पुगेका बस्नेतले पहिचान नखुलेका शवलाई सामूहिक रूपमा गाड्नुको सट्टा परम्पराअनुसार सम्मानपूर्वक दाहसंस्कार गर्न आफू र आफ्नो टोली तयार रहेको बताएका छन्।
उनले प्रहरीको आवश्यक प्रक्रिया पूरा भइसकेका शवलाई देवघाट वा सम्बन्धित घाटमा लगेर दाहसंस्कार गर्न आफूहरूलाई अनुमति दिन आग्रह गरे।
बस्नेतका अनुसार उनले विगत १७ वर्षदेखि बेवारिसे तथा पहिचान नखुलेका शवको सद्गत गर्दै आएका छन्। उनका अनुसार हालसम्म ५४ जिल्लाका शाखामार्फत ७ हजार ७८१ शवको सद्गत गरिएको छ।
उनले भविष्यमा डीएनए परीक्षणबाट शवको पहिचान खुलेमा आफन्तलाई समस्या पर्न सक्ने भन्दै सबै शवको डीएनए परीक्षण, अभिलेखीकरण र पहिचान प्रक्रिया पूरा गरेर मात्र अन्तिम व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका छन्।
“मान्छेको मृत्यु भएपछि उसले पाउनुपर्ने सद्गत पाउनुपर्छ। मृत्यु भएपछि सम्मानपूर्वक अन्तिम संस्कार हुनुपर्छ।”