21/08/2026
मनिषा कोइरालालाई हिरोनी हुनुअघि नै चिनेको र भेटेको हुँ लीला दिदीको घर बानेश्वरमा ।
त्यो भेटमा उनले भृकुटीमण्डपको हाइभिजन हलमा गएर नेपाली फिल्म हेरेँ तर त्यो फिल्म मन परेन भनिन् । पछि उनले फुर्बा छिरिङ गुरुङको निर्देशनमा फेरि भेटौँला भन्ने फिल्म खेलिन् । यो फिल्मको स्क्रिप्ट लेख्न मलाई यस फिल्मका प्राविधिक सल्लाहकार राजविक्रम शाहले आग्रह गरेका थिए तर त्यो काम मैले गर्न भ्याइनँ ।
अरुण कायस्थ लगायत मेरा अरू केही मित्रले बनाएको फेरि भेटौँलापछि मनिषाजी सित फेरि भेट्न गाह्रो भयो । यही फिल्म उनको पहिलो निशानी हो र धेरै वर्षपछि उनले अर्को फिल्म खेलिन् – धर्मा , राजेश हमालसित । फिल्म खास चलेन ।
यसपछि शायद मनिषाको नेपाली फिल्मको यात्रा अवरुद्ध
भयो र अहिलेसम्म त्यो कथा यति नै छ ।
तर यो फोटोले अर्कै कथा बोकेको छ – त्यसको साक्षी हुन् फोटोग्राफर मीनरत्न बज्राचार्य, शायद उनले यसबारे धेरै भन्ने छन् कुनै दिन ... [प्रकाश सायमी]
Manisha Koirala ले नेपाली फिल्म फेरि भेटौँला (सन् १९८९) बाट अभिनयमा डेब्यू गरिन् र पछि हिन्दी चलचित्र सौदागर (सन् १९९१) बाट भारतीय सिनेमामा डेब्यू गरिन् । पछि उनले बम्बे (१९९५), अग्नि साक्षी (सन् १९९६), इन्डियन (सन् १९९६), गुप्त: द हिडन ट्रुथ (सन् १९९७), कच्चे धागे (सन् १९९९), मुधलवन (सन् १९९९) र कम्पनी (सन् २००२) सहित बलिउडमा व्यावसायिक सफलताका साथ आफूलाई स्थापित गरिन् ।
उनले १९४२: अ लभ स्टोरी (सन् १९९४) मा सिधासाधा केटी, अकेले हम अकेले तुम (सन् १९९५) मा महत्त्वाकांक्षी पत्नी, खामोशी: द म्युजिकल (सन् १९९६) मा बहिरा-मूक आमाबाबुकी छोरी, दिल से.. ( १९९८) मा आतंकवादी र लज्जा (२००१) मा दुर्व्यवहार गरिएको महिलाको भूमिका निर्वाह गरेकि छिन् ।