01/07/2026
हर्क साम्पाङ र भीम उपाध्यायबीच ५ फरक
१- कुनै बेला हर्क साम्पाङ एउटा नगरको प्रशासनिक अधिकृतको कार्यकक्षमा छिर्न नपाएर अफिसको ढोकामा प्लेकार्ड बोकेर उभिएको मान्छे हुन्। धरानको समस्याको बारेमा सीडीओलाई ज्ञापनपत्र बुझाउन खोज्दा उनलाई लछारपछार गर्दै प्रहरीको भ्यानमा हालिन्थ्यो। ठीक त्यही बेला यता भीम उपाध्याय भने नेपालको प्रधानमन्त्री र मन्त्रीहरूको कार्यकक्षमा उपरफुट्टी लगाएर चिया पिइरहेका हुन्थे। नेपाल सरकारको सविच भएकाले उनले सिंहदरबार भित्र बसेर प्रशासनतन्त्र चलाइरहेका हुन्थे। यसरी हेर्दा हर्क साम्पाङ एउटा असन्तुष्ट सेवाग्राहीको प्रतीक हुन् भने भीम उपाध्याय एउटा आडम्बरी शासकको प्रतीक हुन्।
२- इन्जिनियरको पदवी धारण गरेका भीम उपाध्याय जस्ता नेपालका हजारौँ सरकारी इन्जिनियरहरूसँग असारको झरीमा पनि सडकमा अलकत्रा बिछ्याइदिन सक्ने विशेष क्षमता हुन्छ। सायद त्यस्तो अद्भूत क्षमता हर्क साम्पाङसँग छैन। इन्जिनियरले काम नगरेर बजेट मात्रै निकालेर हजम गरेको नेपालमा सयौ परियोजना छन्। मानिसहरू विज्ञान र प्रविधिको कुरा गर्छन्। तर जति भीम उपाध्याय जस्ता इन्जिनियरहरूले खटाएको डोजर, टिप्पर र क्रसरले देश बिगारेको छ, त्यति हर्क साम्पाङले खटाएको डोको, झम्पाल र गैंचीले देश बिगारेको छैन। भीम उपाध्यायहरू दुम्लिङको पुल देखेर मजाक गरिरहेका छन्। त्यहाँ खोला नै छैन भनिरहेका छन्। तर मेलम्चीको कलकल बग्ने खोलाको पानी काठमाडौं ल्याउन नसकेकोमा यिनीहरूलाई एक चिम्टी लाज लाग्दैन।
३- उपल्लो दर्जाका रिटायर्ड कर्मचारीहरूलाई आफू पदमा रहँदा गरेका कुकर्महरूको कारण भविष्यमा मुद्दा लाग्छ कि भन्ने डर हुन्छ। त्यही डरले सुरक्षा देखि निजामती सेवाका ठूला-ठूला हाकिमहरू पेन्सन पकाए पछि राजनीतिमा प्रवेश गर्छन्। खोरमा जानुपर्ने डरले पार्टीमा जान्छन्। भीम उपाध्याय कुनै पार्टीमा त गएका छैनन्, तर सामाजिक सञ्जालको शक्तिलाई आफ्नो रक्षा कवच बनाएका छन्। यिनले बेलाबेलामा मेरा यति लाख फलोअर्स छन्, उति लाख फ्यान छन् भनेर दम्भ देखाउनुको कारण मलाई छोइस् भने तँलाई सक्काइदिन्छु, बदनाम गरिदिन्छु भनेर मनोवैज्ञानिक रुपमा धम्की दिएको हो। त्यसले केही हदसम्म काम पनि गरेको छ। रवि लामिछाने र अहिलेका मन्त्री, सांसदहरू बाघ-भालुसँग डराउँदैनन् तर भीम उपाध्यायको फेसबुक स्टाटससँग डराउँछन्।
४- भीम उपाध्यायहरुले हर्क साम्पाङलाई पास्टरको फर्जी बिल्ला भिराएर अपमान गर्न खोज्छन्, तर टुँडिखेलमा हरेक साल हुने उधौली-उभौलीमा गएर साकेला नाच्ने आँट यिनीहरुले गर्दैनन्। राईको जनसंख्या एकदमै कम भएको आँकडा प्रस्तुत गर्छन्, मानौ कि, कम जनसंख्या भएकालाई चिमोटेर पनि मार्न सकिन्छ। तर पहिलो र दोस्रो विश्वयुद्धमा भर्खर बिहे गरेका राई-लिम्बूका लक्का जवानहरूलाई फोल्कल्यान्ड र मलायामा कसरी बलिको बोको बनाइयो, त्यो बिर्सिन्छन्। युरोपको त जनसंख्या नै मेटिएर मोरक्को, अल्जेरिया र ट्युनिसियातिरबाट कामदार भित्राउनु परेको थियो। राई जातिले नेपालको इतिहासमा कुनै खुरापात गरेको छैन। बरु सन् १८१६ मा भएको सुगौली सन्धिमा नेपालका तर्फबाट मुख्य प्रतिनिधिमध्ये एक चन्द्रशेखर उपाध्याय थिए। भीम उपाध्यायको पुर्खाको एक हस्ताक्षरले नेपालले करिब एक तिहाइ भूभाग गुमाउनु परेको थियो।
५-एउटा सी ग्रेडको निजामती कर्मचारी भीम उपाध्यायको लहैलहैमा लागेर केही मानिसहरू भन्छन्, “तलब नपाइने श्रमदान किन गर्ने?” मानौँ कि तिनीहरूले घरको खेतबारीमा अन्न फलाएर बसिरहेका बा-आमालाई पनि मासिक तलब दिएर राखेका छन्। श्रमदान भनेको देशलाई पनि घरजस्तै ठानेर गर्ने कुरा हो। तलब खानका लागि त भीम उपाध्यायजस्तो सरकारी जागिरे हुनुपर्यो, वा कुनै ठूलो बहुराष्ट्रिय कम्पनीमा काम गर्न जानुपर्यो। एकथरीले क्यूआर कोडलाई लिएर हंगामा गरिरहेका छन्। तर क्यूआर कोडमार्फत पठाएको पैसा हर्क साम्पाङको श्रीमतीको खुद्रा तथा किराना पसलमा जाँदैन। त्यो पैसा नेपाल राष्ट्र बैंक नियन्त्रित बैंकिङ प्रणालीअन्तर्गतको बैंक खातामै जम्मा हुन्छ। हरेक दिनको बैंक ट्रान्जेक्सनको रेकर्ड हुन्छ। अनियमितता भएमा स्वर्णिम वाग्लेको एक फोनको भरमा सम्पूर्ण रकमले नै विरगति प्राप्त गर्न सक्छ।
[यति कुरा बुझ्न भेडाहरूले आफ्नी आमाको पेटभित्र लुसुक्क छिरेर फेरि औंशीको दिन पारेर फुत्त बाहिर निस्किनुपर्छ]
nishani magar