17/10/2025
कञ्चनरुपमा पत्रकारमाथि दुर्व्यवहार : विद्यालय प्रमुखहरूको भर्त्सना, पत्रकार महासंघको चेतावनी
कञ्चनरुप (सप्तरी), असोज ३१
कञ्चनरुप नगरपालिका परिसरमा मंगलबार तलब निकासा सम्बन्धी छलफलका क्रममा पत्रकार अनिश शेखमाथि भएको दुर्व्यवहार घटनाले स्थानीय तहदेखि जिल्लासम्म चर्को विरोध पैदा गरेको छ।
बुधबार बसेको सामुदायिक विद्यालयका २३ जना प्रधानाध्यापकहरूको सामूहिक भेलाले घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै त्यसको घोर भर्त्सना गरेको छ। भेलाले दुर्व्यवहारलाई अस्वीकार्य ठहर गर्दै दोषीमाथि निष्पक्ष छानबिन गरी कानुनी कारबाही गर्न माग गरेको छ।
प्रधानाध्यापकहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ,
“कञ्चनरुप नगरपालिका परिसरमा पत्रकारमाथि भएको अभद्र व्यवहारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। सो कार्यको घोर भर्त्सना गर्दै घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कानुनी कारबाही होस् भन्ने हाम्रो माग छ।”
भेलाले पत्रकार अनिश शेखद्वारा नगर शिक्षा समितिका सदस्य तथा शंकर माध्यमिक विद्यालय रूपनगरका शिक्षक प्रमोद कटुवालमाथि लगाइएको आरोपलाई कपोकल्पित र निराधार ठहर गर्दै जाहेरीबाट उनको नाम फिर्ता गर्न पनि माग गरेको छ।
सर्वोदय माध्यमिक विद्यालयका प्रमुख तारानन्द मल्लिक, शंकर माविका गजेन्द्र चौधरी, ठेलियाका अशोक गोजेवार, धरमपुरका अनुज कुमार गुप्ता, बरमझियाका राजेश्वर साह, पथरीका गजेन्द्र देवललगायत २३ जना विद्यालय प्रमुखले हस्ताक्षर गरेको निर्णयपत्र बुधबार सार्वजनिक गरिएको हो।
नगर प्रमुखको भनाइ
घटनापछि अवलोकित दैनिक का पत्रकार कैलाश माझीसँगको अन्तर्वार्तामा नगर प्रमुख ललन प्रसाद गुप्ताले आफू घटनामा प्रत्यक्ष संलग्न नभएको दाबी गरेका छन्। उनले भने, “शिक्षकहरूले पत्रकारसँग मात्र प्रश्न सोधेका थिए र मोबाइलमा रहेको सामग्री डिलिट गर्न लगाएको हो। म घटनामा प्रत्यक्ष संलग्न थिइनँ।”
तर पत्रकार अनिश शेखको जाहेरीमा नगर प्रमुख गुप्ताको नाम समेत समावेश गरिएको छ। स्थानीय पत्रकारहरूले मेयरको यो प्रतिक्रिया ‘पाखण्डपूर्ण’ र ‘सत्य ढाकछोप गर्ने प्रयास’ भएको भन्दै आलोचना गरेका छन्।
पत्रकार महासंघको कडा आपत्ति
नेपाल पत्रकार महासंघ सप्तरी शाखाले घटनाप्रति कडा आपत्ति जनाउँदै पत्रकारमाथि भएको दुर्व्यवहारलाई प्रेस स्वतन्त्रतामाथिको प्रत्यक्ष आक्रमण भनेको छ।
महासंघका अध्यक्ष सुरेश यादवले भने,
“नगर प्रमुखकै उपस्थितिमा सञ्चारकर्मीमाथि गरिएको दुर्व्यवहार अस्वीकार्य छ। दोषीलाई राजनीतिक हैसियतका आधारमा जोगाउने प्रयास भयो भने हामी सडक आन्दोलनमा उत्रिनेछौं।”
महासंघले २४ घण्टाभित्र घटनामा संलग्नहरूमाथि कानुनी कारबाही अघि नबढाइए कठोर आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनीसमेत दिएको छ।
अनुसन्धान अघि बढ्दै
इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लेखबहादुर बिष्टका अनुसार, जाहेरी दर्तापछि प्रारम्भिक अनुसन्धान सुरु गरिएको छ र घटनास्थलको मुचुल्का तयार पार्ने कार्य भइरहेको छ। उनले भने, “जिल्ला प्रहरी प्रमुखसँग समन्वय गरी निष्पक्ष अनुसन्धान अघि बढाइनेछ।”
नागरिक समाज र अधिकारकर्मीहरूको चिन्ता
घटनापछि कञ्चनरुपमा सञ्चारकर्मीहरूको सुरक्षा, प्रेस स्वतन्त्रता र स्थानीय तहमा बढ्दो दमनकारी प्रवृत्तिप्रति नागरिक समाज, दलित अधिकारकर्मी र स्थानीय पत्रकारहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनीहरूले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि तत्काल कानुनी कारबाहीको माग गरेका छन ।