Arjun Shrestha

Arjun Shrestha Personal vlogs

राजाको काट्टो खाने ब्राम्हण भनेर थानकोटका बच्चाहरु ढुङ्गाले हान्न थालेपछि….---------------------------------------------...
07/04/2024

राजाको काट्टो खाने ब्राम्हण भनेर थानकोटका बच्चाहरु ढुङ्गाले हान्न थालेपछि….
-------------------------------------------------------------------------
२०११ सालको चैत्र ४ गते दिउँसोको १२ बजेर २५ मिनेट भएको थियो । गौचरमा भारतीय वायु सेवाको जहाज आइपुग्यो । चारैतिर रुवावासी र कोलाहलको आवाज सुनिन थाल्यो । जहाजको इञ्जिनको आवाज बन्द पनि भइसकेको थिएन, सेनाको ४० टोपको सलामीको पहिलो तोप पड्कियो । जहाजको ठूलो ढोका खुल्नासाथ चाँदीको ठूलो पालकीमा राजाको शव बाहिर निकालियो । यो पालकी त्यही थियो, जसमा यिनै राजा बालकमा राजा हुँदा शुभराज्याभिषेकमा बसेका
थिए ।

मानिसहरुको रुवाइ टाढा टाढासम्म सुनिन्थ्यो । महिलाहरु पनि हाय जुजु गर्दै रोइरहेका थिए । गौचरदेखि पशुपतिसम्म हजारौँ महिला एवम् पुरुषहरु लामबद्ध आफ्नो प्रिय राजाको अन्तिम पटक दर्शन गर्न लालायित थिए । यो दुखद घडीमा उपत्यकाका बिसौँ हजार जनता यहाँ आइपुगेका थिए । राजालाई विष्णुको अवतार मान्ने देशमा आफ्नो जीवनको बाजी थापेर देशमा राणाहरुको एकतन्त्रिय शासन समाप्त पार्न सफल हुनुभएको हुँदा पनि यि राजा अझ बढि प्यारो भएका थिए ।

सबै नेपाली शोकमा डुबेका थिए । कतिपयले आफ्नो कपाल मुण्डन गरेका थिए । आफ्नो अविभावकको मृत्युको शोकमा सबैको आँखामा आँसु थियो । छालाको जुत्ता कसैले पनि लगाएनन् । कतिपयले सेतो वस्त्र नै लगाएर बसे । तेह्र दिनसम्म नुन बारे । राजाप्रति सबैको गहन आस्था यही समय देखिएको थियो । यता युवराज महेन्द्र कालो चश्मामा चुपचाप देखिन्थे । उनको आँखामा आँसु कसैले पनि देखेनन् । केही समयमा नै उनलाई नयाँ राजा बनाइयो । पारिवारिक कर्तव्य भन्दा पनि देशको कर्तव्यको लागि शोकमा डुब्न नसक्ने अवस्थामा थिए युवराज महेन्द्र ।

शव पशुपतिनाथ मन्दिर नजिकको बागमतीको आर्यघाटमा पुऱ्याइयो । बागमती किनारको सबै सिँढी फूलका मालाले ढाकिएका थिए । बिस्तारै शवलाई बागमती किनारमा राखिएको साँपको आकृती कुँडिएको ढुङ्गामा सुताइयो । खुट्टालाई बागमतीमा छुवाइयो, ताकि मृतआत्मा स्वर्ग पुगोस् । यसपछि ब्राम्हणले नाभीनिरको सानो टुक्रा मासु काटेर निकाले । यही तौलबराबरको सुनको सिक्का तौलिएर मासुको टुक्रालाई बागमतीको बिचमा रहेको सानो ढिस्कोमा गाडियो । त्यसमाथि दियो बालियो यसर्थ कि मृतआत्माले हेर्न सकोस् ।

त्यसपछि निधारको हड्डीको सानो टुक्रा निकालियो । यसलाई सुनको भाँडामा राखियो । यसरि निकालिएको हड्डीको टुक्राको दुई भाग बनाइयो । एक टुक्रा दरबार लगियो । अर्को टुक्रा बोकेर एक ब्राम्हण त्यहाँबाट रिडी जान हिँड्यो । ८ दिनको पैदल यात्रा हिँडेर कालीगण्डकी नदिको बीचमा यो हड्डीलाई गाड्नु पर्ने रहेछ । यता ब्राम्हणबाट शव जलाउने कर्मकाण्ड गर्न थालियो ।

शव दहनपछि मुख्य ब्राम्हणको रुपमा काशीबाट ल्याइएका श्रीकृष्ण भट्ट नै प्रमुख ब्राम्हणको रुपमा थिए । विगत एघार दिनदेखि उनको विशेष सत्कार दरबारमा गरिएको थियो । राजाको पलङमा सुत्ने राजाको कपडा लगाउने राजालाई मनपर्ने खाना भान्सामा विशेष रुपले पाक्थ्यो । यो सबै श्रीकृष्ण ब्राम्हणको अहोभाग्य झैँ लाग्थ्यो । तर कमैलाई थाहा हुन्थ्यो कि उनको भोजनमा स्वर्गारोहण भएका राजाको जल्दै गरेको शवको निधारबाट निकालिएको सानो हड्डीको टुक्रालाई पिसेर उनको खानामा मिसाइन्थ्यो ।

यो कर्म राजाको स्वर्गारोहणपछि किन गर्नुपर्छ भन्ने कुनै शास्त्रमा उल्लेख गरेको भेटिँदैन, तर काट्टो खाने नाममा राजाको शवबाट निकालिएको हड्डीको थोरै धुलोलाई खानामा मिसाएर खुवाउने गर्दा मृतआत्माले दरबारमा दुःख दिँदैन भन्ने विश्वास थियो । यसरी मृत राजाले झैँ दरबारमा रहँदा मृतात्मा ब्राम्हणमा सर्ने र पुण्य प्राप्त हुने मान्यता थियो ।

तेह्र दिन बितेपछि काट्टो खाने ब्राम्हणलाई यथासक्य खुशी बनाएर २० हजार नगद तथा २ लाखको जिन्सी, दुइवटा हात्ती र एक सजाइएको घोडा उपहार दिएर बिदा गरियो । अन्तिम दिन ब्राम्हण राजाको पोशाक लगाएर हात्तीमा चढेर थानकोट कटाइएको थियो । यसरी राजाको काट्टो खाने ब्राम्हणलाई राज्यबाट र जातबाट निकालिने गरिन्थ्यो । यस्ता ब्राम्हणले पछि कर्मकाण्ड गर्न पाउँदैनथे ।

हात्तीमा चढेर थानकोट जाने क्रममा बाटोभरि केटाकेटीहरु गिज्याउँथे । काट्टो खाने ब्राम्हण भनेर गिज्याएका थिए । साथै नेवार बच्चाहरु ढुङ्गाले हान्दै थिए । विदेशी पत्रकारहरु पनि यो अनौठो प्रक्रिया हेरेर बसेका थिए ।

राजाको काट्टो खाने प्रचलन कहिलेबाट भयो भन्ने कुनै जानकारी नभए पनि पृथ्वीनारायण शाहको काट्टो भने खनाल थरका नेपाली ब्राम्हणले खाएका थिए भन्ने लिखौट भेटिएको छ । तर पछि कुन समयदेखि काशीका भट्टलाई ल्याइयो कुनै उल्लेख भेटिँदैन । राजा त्रिभुवनको काट्टो भने काशीबाट ल्याइएका श्रीकृष्ण भट्टलाई खुवाइयो । त्यसपछि राजा महेन्द्रको समयमा पनि काट्टो खाने ब्राम्हण काशीबाट नै ल्याइयो । राजा महेन्द्रको काट्टो श्रीगणेश भट्टलाई खुवाइएको थियो, तर राजा वीरेन्द्रको समयमा भने काठमाडौं गौशाला बस्ने दुर्गाप्रसाद सापकोटालाई र, दीपेन्द्रको समय देवीप्रसाद आचार्यलाई काट्टो खुवाइयो । तर, अब भने ब्राम्हणले सम्भवतः कहिल्यै राजाको काट्टो खानुपर्ने छैन्।

नेपालका धेरैवटा सन्धिहरु गोर्खा रास्ट्र सग भएका छन : यो गोर्खा शक्ति अजय थियो । यसलाई जित्न मुस्किल थियो ।किनकी गोर्खा भ...
07/04/2024

नेपालका धेरैवटा सन्धिहरु गोर्खा रास्ट्र सग भएका छन :

यो गोर्खा शक्ति अजय थियो । यसलाई जित्न मुस्किल थियो ।
किनकी गोर्खा भनेको - गोरक्ष काली = गोर्खाली , शिव र शक्तिको मिश्रण सहितको शक्ति थियो । अंग्रेजले यो कुरा बुझे र षडयन्त्र पुर्बक गोर्खा शब्द हटाउन सफल भए ।

यहाँ उल्लेख हाल भारतको भुमिमा रहेका धेरैवटा राज्यले कुनै बेला नेपाललाई कर बुझाउथे ।

दासताको यात्रामा निस्केका - हामि गोर्खालीले कुरा बुझ्न मुस्किल ।

पाखेले ठूलो राज्य बनाउन खोजे, सकेनन्--------------------------------------‘वैद्यको छोरी गलगाँड, ज्योतिषीको छोरी राँण’ भन...
24/01/2024

पाखेले ठूलो राज्य बनाउन खोजे, सकेनन्
--------------------------------------
‘वैद्यको छोरी गलगाँड, ज्योतिषीको छोरी राँण’ भनेको मै हुँ, मसँग इतिहास सोध्न आउनेहरूले धोका पाउँछन् । आफूसँग नेपाली इतिहासका विषयमा जिज्ञाशा राख्न पुगेकाहरूलाई ठट्टैठट्टामा यस्तो जवाफ फर्काउँछन् प्रा. दिनेशराज पन्त । कारण रोचक छ, आफ्नै पुस्ताको (बराजु) कलानिधिभन्दा माथिको बारेमा उनीसँग जानकारी नहुनु तर राजा/महाराजा, शासक/प्रशासकहरूका जन्म, विवाह, मृत्युसम्मको तिथि मितिसम्म कण्ठाग्र हुनु ।

जीवनका चार दशक प्राध्यापन, दुई कार्यकाल नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ रहेर अहिले निवृत्त जीवन बिताइरहेका ७४ वर्षीय पन्त नेपाली इतिहासको अध्ययन, अनुसन्धान र उत्खननका हकमा ‘विकिपिडिया’ नै हुन् । कुनै विद्यालय वा विश्वविद्यालयबाट औपचारिक शिक्षा नलिई स्वर्गीय नयनराज पन्तद्वारा स्थापित ‘संशोधन मण्डल पद्धति’का विद्यार्थीसम्म हुन् । उनैको मार्गनिर्देशनमा दुई दर्जनभन्दा बढी विद्यार्थीले पिएचडी गरिसकेका छन् । जसरी नेपाली इतिहासकारको रुपमा चितरञ्जन नेपाली, डिल्लीरमण रेग्मी, बाबुराम आचार्य, पुरुषोत्तमसमशेर जबराको नाम आउँछ, उसैगरी उनका पिता नयराज, दाजु महेशको नामसमेत चर्चित छ । पछिल्लो समय इतिहासको बांगो व्याख्या गर्ने प्रवृत्ति बढेकोप्रति चिन्ता पोख्छन् यी विद्वान् । हालसम्म उनका ४२ पुस्तक प्रकाशित छन् ।

– हरि गजुरेल

० शुक्रवार मात्र ३०२ औं राष्ट्रिय एकता दिवस तथा पृथ्वीजयन्ती मनाइयो । यो दिवसको शुरुवात कसरी भयो ?

– २००७ सालमा प्रजातन्त्र आएपछि नरहिरनाथको अगुवाईमा पृथ्वीजयन्ती मनाउने काम शुरु भएको हो । कहिले पुरातत्व विभाग, कहिले गाउँफर्क त केही समयदेखि नेपाल प्रज्ञा प्रतिष्ठानले मनाउन थालेका हुन् । नरहरिनाथ आदिले गुण तथा दोषको आधारमा भन्दा सन्त सुखायले मनाएका हुन् । गणतन्त्र आएपछि उनका सन्तानलाई त हामीले हटायौं, शालिक पनि फुटायौं । दिवस मनाउन छाड्यौं ।

यो कुनै विचारपूर्वक गरिएको कर्म थिएन । जसरी ललितपुरको गुसिङ्गाल (कुपण्डोल, हनुमानस्थान) का मान्छेले आजभन्दा अढाई सय वर्षअगाडि थापाथली र उता थापाथलीका मान्छेले कुपण्डोलको ऐश्वर्य भोग गर्न पाउँदैन थिए । आज जुनसुकै तह र तप्काका नेपालीले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको ऐश्वर्य भोग गर्न पाएका छन् । यसमा पृथ्वीनारायण शाहको देन छ कि छैन ? संसारकै नियम हो, व्यवस्था परिवर्तन हुन्छ । तर, त्यसो हुँदैमा पृथ्वीनारायण शाहलाई दुत्कार्न, उनको शालिकमा थुक्न मिल्छ ?

० कसरी मनाइनु पर्दथ्यो एकता दिवस ?

– पृथ्वीनारायण शाहको शालिकमा थुक्नका लागि पनि त नेपाल चाहिएला नि ! उनीपछि जो शासक आए ती आफ्नो योग्यताले मात्रभन्दा पनि अरुको अयोग्यताका कारण आएका हुन् । पृथ्वीनारायण शाह कुनै एउटा पार्टी र धर्मले उठाउने व्यक्ति÷चिज होइनन् । लिच्छविकालमा नेपाल स्वतन्त्र थियो, विभिन्न कारण टुंगियो । वि.सं. १७७९ पुस २७ गते पृथ्वीनारायण शाह जन्मँदा यस भूभागमा स–साना ५२ वटा राज्य थिए । त्यसमध्ये गोर्खा कमजोर थियो । एकीकरणको प्रयास पृथ्वीनारायणभन्दा अगाडि यक्ष मल्ल र मुकुन्द सेनहरूले पनि गरेकै हुन् । केही सफल भए, केही भएनन् । पृथ्वीनारायणको नीतिज्ञताका कारण आज हामी नेपाली हुन पाएका छौं । उनलाई एक दिन या एक हप्ता मनाएर पुग्दैन, हुँदैन ।

० पृथ्वीनारायण शाहलाई कीर्तिपुर विजय गर्नका लागि तीन पटक आक्रमण गर्नुपरेको देखिन्छ । यति सकस पर्नुको कारण के रहेछ ?

– वि.सं. १८०० आश्विन १५ मा उनले जिते नुवाकोट । जहाँबाट काठमाडौंको दूरी जम्मा साढे सात कोश छ तर यति दूरी पार गर्ने २५ वर्ष लाग्यो । कीर्तिपुरमाथि विजय हासिल गर्न गाह्रो पर्नाको कारण किल्लाको व्यवस्था थियो । १८२५ मा कान्तिपुर जिते जबकि १८२२ को आसपास शोभाभगवतीसम्म आइसकेका थिए । कारण हो फेरि पनि किल्ला । अहिलेको वीर अस्पताल, रानीपोखरी, टँुडिखेल सबै किल्ला बाहिरका हुन् । पृथ्वीनारायणले धनजनको क्षति कम गर्न खोज्ने हुँदा पनि त्यस्तो स्थिति भएको हुन सक्छ । प्रत्यक्ष अप्रत्यक्षरुपमा कीर्तिपुरे बलिया थिए । कीर्तिलक्ष्मीजस्ता वीरांगना पनि थिए । धेरै कष्ट अनुभूतिका साथ विजय हासिल भएका कारण तिनको नाक काट्न पुगेको हुन सक्छ ।

० पृथ्वीनारायण शाहले कीर्तिपुरवासीको १७ धार्नी नाक काटेको विषयमा विवाद छ । खास तथ्य के हो ?

– १८२२ चैत ३ गते कीर्तिपुर जिते । २७ गते नाक काटे । स्वयं पृथ्वीनारायण शाह पनि यो कुरा लुकाउन चाहँदैनन् । वि.सं १८२७ मा पृथ्वीनारायण दरबारिया कवि ललितावल्लभले लेखेको काव्यमा कीर्तिपुरमा नाकादी काटे भनिएको हो । वंशावलीमा भने १७ धार्नी लेखिएको छ । १८२६ माघ १ ले भक्तपुर जितेपछि पादरीलाई यहाँबाट निकाले र ती भारतको बिहारतिर पठाइए । तर, इतिहासलाई इतिहासकै रूपमा हेर्ने मान्छेले त्यसरी व्याख्या गरेको पाइँदैन । यसरी नाक नकाटी दिएको भए सुनमा सुगन्ध हुन्थ्यो । तीन पटकको प्रयासपछि मात्र जित्दा जोश आयो होला । उनकै पालाका विजेताहरूले कस्तो क्रुर व्यवहार गरेका थिए भन्ने तथ्य पनि अध्ययन हुनुपर्ने हो । हालै सुरेश आले मगरले पृथ्वीनारायण शाहले १८ धार्नी नाक काटेको भनेर लेखेको पढेँ । किन १८ धार्नीमात्र, तीन गुणा बढी अर्थात् ५४ धार्नी लेख्या भए हुने नि ?

० एकथरी भन्छन्, इतिहासकारहरूले वीरांगनाको भूमिकालाई इतिहास लेख्दा अवलम्बन गरे, अर्काथरीबाट पृथ्वीनारायण शाहको अभियानलाई न्यूनीकरण गर्ने गरी महिला पात्र (कीर्तिलक्ष्मी)को चर्चा हुन थाल्यो । खासमा कीर्तिपुर विजय गर्दा पृथ्वीनारायण शाहसँगै जोडिने कीर्तिलक्ष्मी मिथक हुन् वा वास्तविक ?

– प्राचीन हाम्रा वंशावलीमा पनि कीर्तिलक्ष्मीबारे केही उल्लेख छैन । कीर्तिलक्ष्मी पछिल्लो समय अलिकति कल्पना गरिएको पात्र पनि हुन सक्छ । पृथ्वीनारायण शाहसँगै अन्तिम समयसम्म लड्ने वीरांगनाको रूपमा उनलाई अगाडि सारिएको पाइन्छ । पृथ्वीनारायणले हाम्रो राज्य खाइदिए भनेर मधेशका मान्छेहरूले भन्छन्, तामाङलगायतका अन्य बन्धुहरूले पनि यसै भनेको सुनिन्छ ।

० नेपालका इतिहासकारहरूले विगतलाई बंग्याउने काम कत्तिको गर्छन् ?

– हाम्रोमा इतिहासको स्रोतसम्म पुगेर लेख्ने, हेर्ने, पढ्ने बानी नै भएन । न त यसमा योग्यता नै देखियो !

० कीर्तिलक्ष्मीको सवालमा पनि इतिहासकारहरूले तथ्य बंग्याएका हुन् त उसो भए ?

– हाम्रो समाज पुरुष प्रधान । विवाहपछि महिलाको गोत्र फरक । जो महिला बाहिर आए, उनीहरूलाई नराम्रो आँखाबाटै हेरिने प्रवृत्ति विगतदेखि छ । ५२२ को चाँगुनारायणको एउटा स्तम्भलेख हेरौं । लिच्छविराजा धर्मदेव अकस्मात् बिते । त्यसपछि रानी राज्यवती सती जान्छु भन्दा छोरा रणदेव सानै थिए, उनले आमालाई तपाईं सती जाने हो भने म पनि सँगै जान्छु भनेपछि रोकिइन् । यसको अर्थ सतीप्रथा पनि स्वेच्छिक रहेछ नि ! वि.सं. १९७७ मा चन्द्रसमशेरले सतीप्रथा हटाए । सतिप्रथा पनि कोही माथि गयो भने लगाइदिने दरबारको षड्यन्त्रजस्तै हो कि ! जस्तो : अहिले कसैलाई खुइल्याउन र सिध्याउन परे यौन, भ्रष्टाचारको काण्ड लगाइन्छ ।

१८३३ का अभिलेखहरूमा स्त्रीले पनि आफ्नो पुरुषसँग प्रतिस्पर्धा गरुन भनेर लेखिएको भेटिन्छ । भेटिएका तथ्य त लेखिएका छन् महिलाका पनि तर कीर्तिलक्ष्मीको अहिलेसम्म भेटिएको छैन । नरभुपाल शाहले नुवाकोटमाथि आक्रमण गर्न खोजे सफल भएनन्, पछि तनहुँमा पनि सकेनन् । त्यसपछि विक्षिप्त भएका उनले मितेरी लगाए रणजित मल्लसँग र पृथ्वीनारायण शाह मित बा कहाँ आएर बसे । पृथ्वीनारायण भक्तपुर बसेको बेला नेवार्नी पत्नी थिइन् । तिनीतर्फबाट रणसिंह शाह भन्ने छोरा जन्मिए । ती महिलालाई पृथ्वीनारायणले उपत्यका जित्नुअघि क्षयरोगले समातेछ । अन्तिम अवस्थामा देवघाट जाने इच्छा व्यक्त गरिछन् । देवघाट लगियो ।

तनहुँका राजा थिए त्रिविक्रम सेन । पृथ्वीनारायण शाहकी एक जना सौतेनी आमा तनहुँकी राजकुमारी भएकीले उनको मावली राज्य पनि भयो तनहुँ । उनलाई डोलीमा छोपेर लगिरहेको बेला तनहुँका पहरेदारहरूले रानी हुन् कि होइनन् भनेर डोली खोलेर हेरे पनि । यसो भएपछि पृथ्वीनारायण शाहलाई रिस उठ्यो र ती पहरेदारलाई काट्न अह्राए आफ्ना सेनालाई । त्यही रिसमा राजालाई समाएर ठूलो पिँजडामा राखेको कुरा नुवाकोटको सात तले दरबारमा गर्वसाथ भनेका थिए । राजकाजमा पृथ्वीनारायण शाहले स्त्रीहरूलाई हस्तक्षेप गर्न दिएको देखिँदैन । उनले योग्य मान्छेलाई योग्य ठाउँमा राख्नुपर्छ भनेको चाहिँ पाइन्छ ।

० जयप्रकाश मल्लको अहिले श्राद्ध हुन छाडेकोबारे अलि प्रष्ट्याइदिनु न !

– जयप्रकाश मल्ललाई गोली लाग्यो र नबाँच्ने भएर आर्यघाट लगियो । पृथ्वीनारायणले के चाहियो भन्दा छाता र खड्कुलो भने । तिनको श्राद्ध गर्ने पद्धति चलाइदियो भने त मसँग रहने मान्छे कम होला भन्ने भयो होला । ०३९/४० सालसम्म जयप्रकाश मल्लको श्राद्ध भनेर तीन सय रूपैयाँ दिइन्थ्यो ।

० पृथ्वीनारायण शाहले राज्य एकीकरण गरेका हुन् वा विस्तार, तपाईंंको बुझाइ के हो ?

– शुरुमा ठूलो राज्य बनाउन खोजेका हुन् । यसमा असफल भए । उनी सानो राज्यका राजा । पाखे भनेर हेपिएका । काठमाडौं जित्दा नजित्दै भाइहरूले राज्य मागे र कीर्तिपुरेको नाक काटेपछि त्यहाँ प्रशस्त गुठी हालिदिए ।

० पृथ्वीनारायण शाहबाट नेपालका वर्तमान शासकहरूले के सिक्नुपर्दछ भन्ने लाग्छ ?

– शासक त प्रजाको हुनुप¥यो । शासक भनेको निमित्त हो । तिनले अरुको कुरामा हस्तक्षेप गर्नुभएन । तर, हाम्रा शासक जहाँ जान्छन् विशेषज्ञ भएर बोल्छन् । पृथ्वीनारायण शाहले नुवाकोटमा आक्रमण गर्दा गर्दै सल्यानकोट पुगे र त्यहाँको मन्दिरका पुजारीलाई सोधे– हामीले यहाँ पूजा गर्न हुन्छ कि हुँदैन । पूजारीले झुकेर भने, यहाँको परम्परा पुजारी वा सरसफाइ गर्नेले मात्र भित्र पसेर पूजा गर्ने हो, बाँकी सरकारको जो हुकुम । उनी बाहिरै बसेर पूजा पाठ गरे । हाम्रा शासकले यस्तो गर्दैनन् । प्रताप मल्लको पालामा ठूलो खडेरी प¥यो । तान्त्रिकहरूले स्वयम्भूको शान्तिबुद्धभित्र ठूला तपस्वी छन् । त्यहाँ सर्पको रगतले लेखेको किताब छ । त्यो बाहिर ल्याएको खण्डमा वर्षा हुन्छ भनेपछि दुई तीन जना गुभाजुलाई स्वयम्भू पठाइयो तर ती सबै बत्ती लिएर गए पनि काँपेर फर्किए ।

अन्तिममा राजा प्रताप मल्ल आफैंले तपस्वीसँग कुरा गरेर त्यो पुस्तक बाहिर ल्याए र वृष्टि भयो तर हाम्रा शासक जहाँ जान्छन्, आफूभन्दा बढ्ता अरु कसैले जान्दैनन् झैं व्याख्या छाड्छन् । राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री सबैको रोग उही हो । शासकहरूले अर्काको कुरामा हस्तक्षेप गर्न भएन । उनीहरूलाई दिइएको जिम्मेवारी राजकाज मात्र राम्रोसँग चलाए भइगयो नि ! दुई दिनअघि बिजुली काट्ने, दुई दिनपछि नै जोड्ने यस्ता कच्चा काम नगरुन् न !

० उपत्यकामा रजगज गरेका त्यत्रा मल्ल राजाहरू आज कहाँ कुन अवस्थामा छन् ? तिनले जात फेरे वा विदेश पलायन भए ?

– तपाईंले प्रश्न गरेजस्तै जात फेरेका पनि हुन सक्छन् वा विदेश भासिएको पनि । जब शासन व्यवस्था परिवर्तन हुन्छ तब यस्तो स्थिति बन्दो रहेछ । केही बस्नेत काजीका सन्तान हुन्, मसँग भन्थे– जागिरै पनि नपाउने भएका कारण जातै फेर्ने बाध्यता आइलाग्यो । त्यत्रा काजीका सन्तान सानो तिनो सिपाही वा भनौं कुनै जागिर खान आउँदा आफ्नो बेइज्जती हुने, शासकले पनि नदिने भएका कारण आफ्नो पहिचानै मेट्ने वा लुकेर बस्ने पनि हुँदा रहेछन् । जयप्रकाश मल्लको आफ्नै सन्तान थिए कि थिएनन् ? लिच्छविकालदेखि मानदेव द्वितीय र जयदेवसम्मको कुरा गर्दा अहिले लिच्छवि भनेर आफूलाई चिनाउने मान्छे कोही छैनन् । प्रसिद्ध नाटककार विजयबहादुर, गोविन्दबहादुर, ऋृद्धिबहादुरजस्तै आफूलाई मल्ल भनेर चिनाउने कति होलान् ? योमात्र होइन लिच्छविकालका बाहुन, क्षेत्रीहरू कहाँ गए ?

० १०४ वर्ष राज गरेका राजादेखि शाहवंशीय सन्तानहरू पनि त्यति चर्चामा आउँदैनन् । कहाँ गुमनाम भए होलान् ती ?

– तत्कालीन शासन पद्धति प्रधानमन्त्री र श्री ३ महाराजामा केन्द्रित रह्यो । सुरेन्द्रविक्रम शाह १८४६ सालमा जन्मिए । यदि, जंगबहादुरले आड नदिएको भए उनी राजा हुन पाउँथे कि पाउँदैन थिए ? सौतेनी आमा राज्यलक्ष्मीको छोरा रणेन्द्र नै राजा हुन्थे कि ! उता त्रैलोक्यविक्रमले राजै हुन पाएनन् । पृथ्वीवीरविक्रम ६ वर्षमै राजा भए । त्रिभुवन ५ वर्षमै राजा भए । पृथ्वीनारायण शाहपछि जसरी पनि लडेर आएका महेन्द्र मात्रै हुन् ।

० वर्षौ पुराना तिथि मिति स्मरणमा राखिरहने तरिकाचाहिँ के हो ?

– बाल्यकालदेखि नै घोकन्ते विद्याबाट आएँ । घोेकन्ते विद्या काम छैन, हुँदैन भन्नेहरूलाई म फटाहा भन्छु । नघोकी हुँदै हुँदैन । मैले बिहान उठेदेखि बेलुका सुतेसम्म जानेको काम यही हो । मियाँजीका दौड मस्जिद तक भनेझैं अरु केही जानिएन । बाजेकै पालादेखि यही काम गरिएको । योभन्दा दायाँबायाँ केही जानिएन । ४२ वटा पुस्तक लेखियो । यसैमा रस बस्यो । अरु केही काम गर्न जानिएन । ध्यान गएन ।

24/01/2024

प्राध्यापक मोहन खनालसंगको कुराकानीः पृथ्वी नारायण शाह एकिकरणकर्ता हुन्, विस्तारबादी थिएनन्, किन?

जङ्गबहादुरका पालाको त्यो जीवनारायण तेल, जसलाई लिन मन्त्री र सचिवको चिट लिएर आउँथे---------------------------- असहायजस्तै...
26/12/2023

जङ्गबहादुरका पालाको त्यो जीवनारायण तेल, जसलाई लिन मन्त्री र सचिवको चिट लिएर आउँथे
----------------------------
असहायजस्तै देखिने एउटी महिलाले उपचारको अपेक्षासहित नरदेवी चिकित्सालयको प्राङ्गणमा पाइला राखिन् । त्यहाँ भर्ना भएर उपचार गर्न कोही अभिभावक साक्षी बस्नुपथ्र्यो । सुन्निएको शरीर, मैली–निन्याउरी, कपाल झ्याम्ल्याङ्ङ भएकी, हातमा सलाइनको बोतल र कपडाको पोको बोकेकी ती महिला एक्लै आएकी थिइन् । कविराज माया गौतमलाई दया पलायो र सोधपुछ गरिन् ।

ती महिलाले भनिन्– ‘घर सिन्धुपाल्चोकतिर हो । बिरामी परेपछि लोग्नेले सौता ल्याएर घरबाट निकालिदिए । उपचार होला, कुनै काम पाइएला भन्ने आशाले काठमाडौँ आएकी थिएँ, न काम पाएँ न उपचार पाएँ । बेवारिसे भएँ ।’

मायाले कृत्य अभिभावक खडा गरेर ती महिलालाई भर्ना गरिन् । एनिमिया लगायत समस्या भएकी ती महिलाको एक महिनाजति उपचार गरियो । उनको स्वास्थ्यावस्थामा धेरै नै सुधार आएको थियो, पूर्ण निको भने भएको थिएन । चिकित्सालयका हाकिमले तिनलाई निकालिदिए ।

केही दिन राखेर पूर्ण निको बनाएर पठाउने मायाको चाहना थियो । चिकित्सालयले दिने निःशुल्कबाहेकको आवश्यक औषधी खर्च मायाले नै बेहोरेकी थिइन् । ती महिलालाई केही समय राख्न मायाले हाकिमसँग झगडा समेत गरिन्, तर सफल भइनन् ।

ती महिलालाई त्यत्तिकै बेवारिसे छाडिदिन मायाको मनले मानेन । मायाले उनलाई अभिनेत्री शुभद्रा अधिकारीकहाँ पठाइन्, शुभद्रासँग मायाको चिनजान थियो । शुभद्राको घरमा काममा सघाएर बस्दै गर्दा तिनलाई पुनः रोगले चाप्यो, मायाले नरदेवीमै ल्याएर उपचार गरिन् । यसपालि पूर्ण निको भएर ती महिला कतै
लागिन् ।

यसको केही वर्षपछि । नरदेवीमा उपचाररत एक बिरामीको मृत्यु भयो । मृतकका आफन्त र चिनजानका मानिसले चिकित्सालयको प्रांगण भरिएको थियो । माया पनि त्यहीँ थिइन् । त्यो भीडबाट एउटी महिला आएर मायाको खुट्टा छुन खोजिन् । कपाल छोटो पारेकी, राताराता गाला भएकी ती महिलालाई चिन्न नसकेर माया अलमलमै थिइन् । त्यहाँ उपस्थित अन्य मानिस पनि अचम्म मान्दै थिए ।

मायाको अगाडि उभिएर ती महिलाले रुँदै भनिन्, ‘दिदी ! हजुरले मेरो उपचार गर्नुभएको थियो ।’

‘ऊ त कसरी–कसरी तुलसीमेहेरको गान्धी आश्रम (नेपाल चर्खा प्रचारक गान्धी तुलसी स्मारक महागुठी) मा काम गर्न पुगिछ,’ केही दिनअघि रातोपाटीसँगको भेटमा ७९ वर्षीया माया गौतमले भनिन्, ‘गान्धी आश्रमकै एकजना पालेको मृत्यु भएकाले ऊ पनि भेट्न आएकी रहिछ । मलाई देखेर खुट्टै ढोग्न आई । धेरै खुसी लाग्यो ।’

मायाले जीवनका ३५ वर्ष आयुर्वेद चिकित्सा सेवामा बिताइन्, कविराज र डाक्टर भएर । २०२९ सालमा कविराजका रूपमा सेवामा प्रवेश गरेकी माया २०५१ सालमा डाक्टर भइन् र ०६४ सालमा अवकाश लिइन् । यो अवधिमा नरदेवी, सिंहदरबार वैद्यखाना, फर्पिङ आयुर्वेद औषधालय र आफ्नै क्लिनिकबाट उनले थुप्रै बिरामीलाई उपचार गरिन् । देशका उच्च पदस्थदेखि कोही नभएका असहाय कैयौँले उनको हात र हृदयको सेवा पाए ।

मायाकै भनाइ अनुसार, नेपालमा आयुर्वेदमा आचार्य गरेर सरकारी जागिरमा प्रवेश गर्ने उनी पहिलो महिला हुन् । उनले आयुर्वेदीय चिकित्सा कसरी पढिन्, सेवा कसरी सुरु गरिन्, सेवावधि कस्तो रह्यो र पहिले हामीकहाँ के–कस्ता आयुर्वेदीय औषधी बन्थे भन्ने सम्बन्धमा कुराकानी गर्न हामीले उनको समय लिएका थियौँ । आफ्नो अध्ययनकाल र सेवाकालतिर फर्केर उनी हामीसँग निकै गफिइन् ।

जङ्गबहादुरका पालाको जीवनारायण तेल

‘जङ्गबहादुरले आफ्नी श्रीमती सुत्केरी हुँदाका लागि भनेर जीवनारायण तेल बनाउन लगाएका थिए रे,’ गफिँदै जाँदा मायाले भनिन्, ‘संंसारभरि पाइने जडिबुटी, सारा जीवजन्तु, कसैले मान्छे पनि भन्छन् त्योचाहिँ मलाई थाहा छैन, सबैलाई मिलाएर बडेमानको तामाको भाँडोमा तीन वर्षसम्म अखण्ड आगो बालेर जीवनारायण तेल पकाइएको थियो रे । अहिले पनि त्यो तेल बनाइएको भाँडोलाई सिंहदरबार वैद्यखानामा भैरव भनेर राखिएको छ ।’

मायाका अनुसार, त्यो तेल सरकारका ठुल्ठुला मान्छेले लैजान्थे । कसैको कुनै रोग केही गर्दा पनि निको भएको छैन, उसको शरीरमा जीवनारायण तेल घसिदिने हो भने निको हुन्छ भन्ने विश्वास थियो । त्यसरी निको हुनेहरू पनि थिए ।

यो तेलको बारेमा सबै सर्वसाधारणलाई थाहा थिएन । वैद्यखानामा यो तेल छ भन्ने थाहा पाउने सर्वसाधारणहरू मन्त्री र सचिवकहाँ अनुनय–विनय गर्न पुग्थे । मन्त्रीले दिएको चिटका आधारमा उनीहरूलाई वैद्यखानाका कर्मचारीले तेल दिन्थे । कर्मचारीले त्यो तेल झिक्दा अर्को अधिकृत स्तरको कर्मचारीलाई साक्षी राख्नुपथ्र्यो । तेल झिकिसकेपछि ढोकादेखि नै लाहाछाप हानेर राखिन्थ्यो ।

एकपटक चल्न चलमलाउन नसक्ने एक व्यक्तिलाई वैद्यखानामा बोकेर ल्याइएको थियो । मन्त्रीको चिट लिएर आएका उनलाई जीवनारायण तेल दिएर पठाइयो । केही दिनपछि ती व्यक्ति निको भई हिँडेर वैद्यखाना आएको माया बताउँछिन् ।

‘मैले वैद्यखानामा काम गर्दासम्म जीवनारायण तेल थियो । अहिले के छ मलाई थाहा छैन,’ माया भन्छिन्, ‘चन्द्रनिघण्टु भन्ने छुट्टै तरकिब संग्रह सिंहदरबार वैद्यखानामै छ । त्यसको केही भाग देश–विदेश गयो पनि भन्छन् । त्यसमा जीवनारायण तेलदेखि अनेक औषधी बनाउने विधि थियो ।’

हालै नरदेवीबाट सिंहदरबार वैद्यखानामा कार्यकारी निर्देशकको रूपमा कामकाजका खटाइएका डा. प्रदीप केसीका अनुसार, जीवनारायण तेल बन्न छाडेको धेरै अघिदेखि हो । ‘त्यसमा मान्छेको मासु पनि राखिन्थ्यो भनिन्छ, त्यो पनि जीवितै मान्छेको । जीवनारायण तेल बनाउने विधि वैद्यखानाकै तरकिबमा छ, अन्य आयुर्वेदिक ग्रन्थमा यसको विधि पाइँदैन र त्यो तेल अन्यत्र बनेको छैन,’ सोमबार साँझ डा. केसीले टेलिफोनमार्फत भने, ‘अहिले म वैद्यखानामा हाजिर भइसकेको छैन, त्यसैले अहिले त्यहाँ त्यो तेल भए वा नभएको मलाई जानकारी भएन ।’

सिंहदरबार वैद्यखानाका निवर्तमान कार्यकारी निर्देशक डा. रामदेव यादवले भने जीवनारायण तेल वैद्यखानामा भए वा नभएको बारे आफूलाई जानकारी नभएको बताए ।

पाठेघर खस्ने रोग र मुसाको तेल

मायाको जन्म काठमाडौँ सिफलमा भएको हो । उनका बुवा पण्डित कृष्णप्रसाद भट्टराई १६ भाषाका ज्ञाता थिए । दर्शन र तन्त्रमा आचार्य गरेका कृष्णप्रसादले वीर पुस्तकालय र राष्ट्रिय अभिलेखालयमा सेवा गरे । विवाह पद्धति, व्रतबन्ध पद्धति, हरमेखला आदि पुस्तक लेखेका उनले राजा वीरेन्द्रका गुरु धनशमशेरलाई लेखनमा सघाएका समेत गरे । ‘संस्कार पद्धति’ पुस्तक धनशमशेर र कृष्णभट्टराईले संयुक्त रूपमा लेखेका छन् ।

मायाले सामान्य प्राथमिक शिक्षा घरबाटै लिइन् । उनका बुवाले टोलका केटाकेटीलाई बोलाएर घरमै पढाउँथे । पछि उनका बुवाले समाजका गन्यमान्य मानिसको सहयोगमा कालिकास्थानमा नारी विद्यापीठ नाम दिएर स्कुल खोलेका थिए । त्यहाँ उनले प्रथमासम्म पढिन् । यही बेला उनका बुवा कलकत्ता जानुपर्‍यो, विदेशी भाषा पढ्नका लागि । बुवा घरमा नभएका बेला मायाले पढाइमा त्यति रुचि देखाइनन्, संगिनीहरूसँग घुमफिर गर्नमै मन दिइन् र केही समय उनको पढाइ छुट्यो ।

आफ्नी आमाले कान्छो भाइ जन्माएका बेला ‘दशमूल काँढा’ किन्न माया नरदेवी पुगेकी थिइन् । त्यतिबेला नरदेवीमा आयुर्वेदिक मध्यमाका लागि भर्ना खुलेको थियो । त्यहाँ २०२० सालमा भर्ना भएर मध्यमा, शास्त्री हुँदै २०२७ सालमा आचार्य गरिन् । आचार्यपछि एक वर्षसम्म वीर हस्पिटल, प्रस्तुतिगृह आदिमा प्राक्टिकल गरेपछि उनको जागिरे जीवन सुरु भयो । त्यतिबेला उनीहरूले संस्कृतमा लेखिएका किताब पढ्नुपथ्र्यो, प्रश्नपत्र पनि संस्कृतमै हुन्थे, संस्कृतमै लेख्नुपथ्र्यो । ‘मैले पढ्दा नेपालमा कति किताब किन्न नपाएर बनारसबाट मगाउनुपथ्र्यो,’ माया भन्छिन्, ‘कति किताब रत्न पुस्तकलाई बनारसबाट मगाइदेऊ भन्थ्यौँ ।’

यहीबिच (२०२२ फागुन)मा उनले बिहे गरिन्, पशुपतिका अग्निहोत्री रामप्रसाद गौतमसँग । छोराछोरी हुर्काउँदै उनले जागिरे जीवन अगाडि बढाइन् । उनकी छोरी प्रतिमा गौतम यतिखेर कांग्रेस सांसद् छन् । छोरा अनुयाज गौतम तेक्वान्दोको अन्तर्राष्ट्रिय प्रशिक्षक हुन् ।

सुरुमा अस्थायी जागिर खान माया फर्पिङ आयुर्वेद औषधालयमा पुगेकी थिइन् । त्यहाँ उनले जीवनमै पहिलोपटक पाठेघर खसेकी महिलाको उपचार गर्नुपर्‍यो । ‘बिचरीले भर्खरै छोरी गुमाएकी रहिछन् । त्यहाँका बुढा–बुढा बाठा कविराजहरूले सरकारले पठाएको राम्रा औषधी सबै घरमा लगेर सकेका थिए । अब औषधी के दिने ?’ माया भन्छिन्, ‘तैपनि त्यहाँ भएका औषधीलाई नै मिसाएर, मात्रा मिलाएर उनलाई दिएँ । सफा गर्ने, लगाउने, खाने औषधी दिएकी थिएँ । आयुर्वेदमा एउटा रोगको औषधीले अर्को रोगलाई पनि निको गर्छ । आयुर्वेदको प्रभावकारिता त्यो छ ।’

ती महिलालाई त्यहीँको औषधीले निको भयो । एकपछि अर्को बिरामीलाई निको पारेपछि फर्पिङमा माया सबैकी प्रिय हुन थालिन् । ‘मैले छोएपछि धेरैको रोग सजिलै निको भएको छ,’ माया आफ्नो आस्था र विश्वासमा टेकेर भन्छिन्, ‘रोग निको हुन औषधी दिएर मात्रै हुँदैन, बिरामीको भाग्य र भगवानको कृपा पनि चाहिन्छ ।’

मायाले पाठेघर खसेकी अर्की एक महिलाको पनि उपचार गरेकी छन् । कुपोण्डोलको एक धनीमानी परिवारकी बुहारीको पाठेघर खसेर मायाकहाँ ल्याइयो । मायाका अनुसार, आयुर्वेदशास्त्रले भनेका सबै विधि पुर्‍याएर औषधी बनाउन सजिलो छैन । कुनै कुनै औषधी बनाउन महँगो र मेहनत पनि पर्छ । शास्त्रले भनेकै द्रव्य खोज्न सकियो भने रोग अझ छिटो निको हुन्छ ।

ती महिलाको उपचारमा मायाले मुसाको तेल पनि प्रयोग गरिन् । ‘मुसाको छाला फ्याँकेर उसुन्ने । त्यसपछि तेलमा के के फुर्याउनुपर्छ विधि अनुसार फुर्‍यायो अनि मुसालाई पकाएर तेल बनाउने । यो तेल खसेको पाठेघरमा लगाउँदा फाइदा हुन्छ,’ माया भन्छिन्, ‘मुसाको तेललाई आँखुतेल भनिन्छ । अहिले त यो विधि गर्दैनन् ।’

उनका अनुसार, आयुर्वेदिक औषधी बनाउँदा कुनै द्रव्यको अभाव भयो भने त्यो ठाउँमा अर्को उस्तै गुणको द्रव्य राख्न सकिन्छ । च्यवनप्रास बनाउन मात्रै ४२ थोक चाहिन्छ । त्यसमध्ये केही पाइएन भने, त्यसको अभावमा अर्को राख्न सकिन्छ । प्रकृतिमा औषधीय गुण भएका चिज धेरै छन् तर अहिले त्यसलाई प्रयोग गर्न जान्ने मान्छेको अभाव भयो । अर्कोतिर, अचेल कानुन र सन्धिहरूका कारण पनि सबैको औषधी बनाउन पाइँदैन । ‘आयुर्वेदमा कस्तुरीको विशेष महत्त्व छ । यसबाट मृगमदासव, कस्तुरी भूषण आदि नाम दिएर औषधी बनाइन्थ्यो । शीतांग गम्भीर बिरामी पनि अलिकति कस्तुरी चटाइदियो भने उठ्छ,’ माया भन्छिन्, ‘अहिले कस्तुरी ब्यान्ड गरेको छ । पहिले त जफत भएका कस्तुरी, सुन, चरेस आदि राजाकहाँ जान्थ्यो । महेन्द्र र वीरेन्द्रकै पालासम्म ती चिज औषधी बनाउनका लािग सिंहदरबार वैद्यखानालाई दिइन्थ्यो ।’

उनका अनुसार, वैद्यखानामा २०४०–५० सालसम्म (उनलाई घटना वा प्रसंगका मिति त्यति सम्झना रहेनछ) सुन लगायत धातु गालेर औषधी बनाइन्थ्यो । ‘एकपटक चार किलो सुन ल्याएर गाल्ने बेला मलाई काजमा खटाइएको थियो । त्यो सुनको काममा आरोप लाग्ला, के होला भनेर मैले काज फिर्ता लिएँ,’ उनी भन्छिन्, ‘सुनलाई भस्म बनाउन धेरै लामो प्रक्रिया छ ।’

औषधीजन्य चरेस, अफिम आदिलाई प्रतिबन्ध गर्न नहुने उनी बताउँछिन् । उनका अनुसार, चरेस, अफिमसँगै अनेक किसिमका सर्पको विषबाट विभिन्न औषधी बनाइन्छ । ‘अहिले सर्पको विषबाट औषधी बनाउन कसले सक्नु ? पहिले पुराना बुढाहरूले निकै फाइदाजनक औषधी बनाउँथे,’ उनी भन्छिन्, ‘पहिले मेरा गुरुहरुले बनाएको अमिलो पाचक भन्ने थियो, एउटा गोली खाएपछि पेटलाई आनन्द हुने । औषधी धेरै छन्— काष्टादि, रसादि, विषादि ।’

मायाका कुरा सुन्दा यस्तो लाग्छ, कतिपय आयुर्वेदिक ज्ञान क्रमशः हराउँदै छन् । मायाले रक्त क्यान्सरदेखि जन्डिसका थुप्रै बिरामीलाई निको पारेकी छन् । १० वर्षको उमेरमा रक्त क्यान्सर भएका व्यक्तिलाई मायाले निको पारिदिइन्, अहिले उनले बिहे गर्दै छन् । माया यस्ता बिरामीको नाम खुलाउन चाहन्नन् । ‘नाम नलेख्नुस् है,’ मायाले भनिन्, ‘मान्छेले आफ्नो रोग सबैलाई सुनाउन भन्दा लुकाएकै राम्रो मान्छ ।’

पशुपतिनाथमा अञ्चल अस्पताल

कविराज (नासु स्तरको पद, जसले आयुर्वेदीय उपचार गर्छ) मा स्थायी हुनका लागि उनले २०३० सालमा लोकसेवा दिएकी थिइन् । नाम निकालेर नियुक्तिपत्र बुझेको भोलिपल्ट सिंहदरबार आगलागी भयो । त्यतिबेलै मायाले अधिकृत अर्थात् डाक्टरका लागि पनि लोकसेवा दिएकी थिइन् । तर सिंहदरबारमा आगलागी हुँदा कागजपत्र सबै जले र त्यसको रिजल्ट निस्केन ।

स्थायीमा नाम निकालेपछि उनी नरदेवी आइन् । त्यहाँ डेढ वर्षजति बसेपछि उनलाई पुनः फर्पिङ पठाइयो । यसपालि स्थायी भएर गएकाले त्यहाँको आयुर्वेद औषधालयलाई उनले अञ्चल आयुर्वेद औषधालयमा परिणत गरिन् ।

२०५१ सालमा आएर मात्रै उनी डाक्टर अर्थात् अधिकृत भइन् । त्यतिबेला धेरैले मध्यमा र शास्त्री पढेपछि जागिर खान्थे । फेरि पढेर आचार्य भएपछि अधिकृत दिन्थे । आचार्य गरेर जागिरमा आएकी मायालाई अधिकृत हुन निकै धौ भयो । ‘अधिकृत दिँदा मैले लिखितमा सधैँ नाम निकाल्थे तर इन्टरभ्युमा फालिन्थेँ । त्यतिबेला मसँग परीक्षा दिने सबै बुढा–बुढा हुन्थे, म भर्खरकी थिएँ । उनीहरू पावरको मान्छे भएकाले इन्टरभ्युमा उनीहरूकै नाम निस्कन्थ्यो,’ माया कर्मचारीतन्त्रभित्रको तत्कालीन विकृतिप्रति गुनासो गर्छिन्, ‘इन्टरभ्युमा बडो स्वार्थ हुँदो रहेछ, मान्छेहरूले खुवाउन जान्दा रहेछन् । कसैको पाउ पर्दारहेछन् । मलाई सबैले तारिफ गर्थे तर इन्टरभ्युमा पास अर्कै हुन्थ्यो । दशचोटि जति परीक्षा दिँदा पनि नाम ननिस्केकामा मलाई सबैभन्दा बढी दुःख लागेको छ ।’

सोर्सफोर्स लगाउन माया कम होइनन्, लोकसेवाकै तत्कालीन अध्यक्षले उनका बुवालाई मान्थे । दरबारमा सोझै सम्पर्क थियो तर उनले सोर्सफोर्सलाई उचित मान्दैनथे । परीक्षा दिँदादिँदा हारेर उनी परीक्षा नदिने मनस्थितिमा पुगेकी थिइन् । तर उनलाई माया गर्ने आयुर्वेदका भाइहरूले कर गरे – दिदी ! हाम्रो निम्ति भए पनि परीक्षा दिइदिनू ।’

अन्तिमपटकका लागि भनेर उनले लोकसेवा दिइन् — बढुवा र खुला दुवैमा । खुलामा नाम निस्क्यो । ‘त्यतिबेला अन्तर्वार्ता हुँदा लोकसेवा आयोगका अध्यक्ष आफैँ बस्नुभएको रहेछ । लोकसेवाकै एक महिला सदस्य पनि बस्नुभएको रहेछ । हाम्रो आयुर्वेदका मान्छे पनि दुईजना बसेका थिए,’ माया भन्छिन्, ‘आयुर्वेदसम्बन्धी मेरा कुरा सुनेर लोकसेवाका मान्छेहरू दंग पर्नुभयो । मलाई लाग्छ, लोकसेवाकै मान्छेले नम्बर दिएर मेरो नाम निस्क्यो ।’

अधिकृत भएपछि सुरुमा उनलाई आयुर्वेद विभाग पठाइयो, त्यसपछि फर्पिङ । यसपालि उनले अञ्चल अस्पताल फर्पिङलाई काठमाडौँ ल्याइन् । तर कहाँ राख्ने भन्ने समस्या भयो । ‘अस्पताल खोल्ने भनेपछि पैसा आउने रहेछ । यस्ता कुरामा मेरो कुनै चासो थिएन । त्यसैले ठाउँ खोज्न धेरै मान्छे खटिए । उनीहरूले कहीँ ठाउँ पाएनन् र मलाई भेट्न घरैमा आए,’ माया भन्छिन्, ‘मैले उनीहरूलाई पशुपति क्षेत्रका प्रख्यात व्यक्ति नरोत्तम वैद्यकहाँ लिएर गएँ र आफ्ना कुरा राखेँ । उनले खुसी हुँदै भने— माया दिदी ! यति राम्रो काम गर्न लाग्नुभएको रहेछ मैले हजुरलाई देउपाटनको मुटु दिन्छु ।’

यसरी पशुपतिनाथको ढोकैभन्दा बायाँतिर दुईतले घरमा अस्पताल राखियो । त्यसको केही समयपछि माया सरुवा भइन् । उनले अस्पताल सित्तैमा राखेकी थिइन्, भाडा तिर्नुपरेको थिएन । त्यसो हुँदा हाकिमले पैसा खान पाउँदैनथे । पछि आउनले खै कुन स्वार्थले हो अस्पतालाई त्यहाँबाट सारे । ‘जयवागेश्वरी हुँदै कता कता सारे, अहिले भीमसेनगोलामा छ भन्ने सुन्छु,’ माया भन्छिन्, ‘मैले के जानिनछु भने पशुपति क्षेत्रबाट अन्यत्र सार्न नपाइने भनेर लेख्नुपथ्र्यो, त्यो गरिनछु । अहिले मेरो निकै चित्त दुखेको छ । त्यहाँ अस्पताल भए बाहिरबाट आउने भक्तजनले पनि उपचार पाउँथे ।’


राज्यले के गर्नुपर्छ ?

मायाको अनुभवमा, आयुर्वेदको विकास गर्न देशमै जडिबुटी उद्यान खोलिनुपर्छ । जिल्ला–जिल्लामा माटो अनुसार जडिबुटी खेती गर्नुपर्छ ।

‘किसानकै जग्गामा किसानलाई नै अर्गानिक किसिमले जडिबुटी खेती गर्न लगाउने, पैसा पनि दिने तर रेखदेख सरकारले गर्ने । अनि त्यहाँबाट उत्पादित वस्तु सरकारले किनिदिने । एक–दुईचोटि पैसा दिएर सरकारको रेखदेखमा जडिबुटी खेती गर्ने हो भने पछि किसानले आफैँ सिक्छन्,’ माया भन्छिन्, ‘औषधीजन्य धातुहरू पनि सरकारले संकलन गरेर औषधी उत्पादनका लागि दिनुपर्छ । आधुनिक प्रविधि भित्र्याएर योग्य चिकित्सकबाट आधुनिक किसिमले औषधी बनाइनुपर्छ । यससम्बन्धी ज्ञान बढाउन विदेशतिर पढ्न पठाउनुपर्छ, गएका छन् तर थोरै गएर पुगेन ।’

केपी ओली सुर्ती खादै मनमोहन सगै
26/12/2023

केपी ओली सुर्ती खादै मनमोहन सगै

गणेश रसिकको हिजोको कुरा : राजा वीरेन्द्रसँग कुरा गरिरहेको थिए,पछाडिबाट तानेर सचिवले लडाउन पो खोजे...--------------------...
24/12/2023

गणेश रसिकको हिजोको कुरा : राजा वीरेन्द्रसँग कुरा गरिरहेको थिए,पछाडिबाट तानेर सचिवले लडाउन पो खोजे...
-------------------------------------------
गणेश रसिक राई भोजपुरको छिनामखु, नौलागाउँका हुन्। उनको बाल्यकाल उतै बित्यो। चार दाजुभाइमा गणेश जेठा। बुबा ब्रिटिस आर्मीको क्याप्टेन। उनी दार्जिलिङको सरकारी विधालयमा पढ्न पाए। घर नजिकैको त्रिभुवन धर्मोदय विद्यालयबाट औपचारिक शिक्षाको सुरूवात गरेका उनले बिएसम्मको अध्ययन गरेका छन्।

नाटक र गायन क्षेत्रमा सक्रिय उनले २००८ सालतिर धरानमा रहेको मामाघर आउँदा रामायणमा आधारित नाटक ‘रामलिला’ हेर्न पाए। त्यही नाटकबाट प्रभावित भएर उनले भोजपुर फर्केपछि स्कुलमा नाटक गर्न थाले। नाटकमा अभिनय मात्र गरेनन् उनले गाउन पनि थाले।

गायन र अभिनयमा समेत रूचि भएका उनी २०२२ सालमा काठमाडौं आए। काठमाडौंमा उनको चिनजान राष्ट्रिय नाचघरका कलाकारसँग भयो। त्यही शिलशिलामा उनले महेन्द्रकै पालामा दरबारमा समेत गीत गाउने अवसर पाए। उनी राजा महेन्द्र र वीरेन्द्रसँग पनि नजिकिन पाए।

रसिकले थुप्रै विभाग र संस्थाहरूमा ३१ वर्षसम्म विविध जिम्मेवारी निभाउने मौका पाए। २०२६ सालमा राष्ट्रिय नाचघरको जागिरे हुँदै रत्न रेकर्डिङ संस्थानको अध्यक्ष तथा महाप्रबन्धक र सांस्कृतिक संस्थानको महाप्रबन्धक समेत भएका उनले आफ्नो यात्रा यसरी सुनाए :

मामाघर जाँदा ‘रामलिला’ रस बस्यो

मरो मामाघर धरान। त्यहाँ जाँदा प्रायः नाटक भइरहन्थ्यो। म त्यति बेला ६ वर्षको थिएँ होला। मामाघर जाँदा रामायणको कथामा आधारित ‘रामलिला’ नाटक देखाइएको थियो। यो नाटक हेर्न म पनि गएँ।

यो नाटक खेल्न र देखाउन भारतबाट कलाकारहरू आएका थिए। उनीहरूले रामलिला नाटक हप्तौँ हप्तासम्म देखाउँथे। मलाई अहिले पनि सम्झना छ- जे जे रामायणको कथामा पढिन्थ्यो, भगवान रामचन्द्र, हनुमान लगायतले यो नाटकमा त्यही अभिनय गर्थे। अनि नाटक सकिन लागेपछि भजनकीर्तन गर्थे,‘श्रीराम कि जय’ भनेर ठूलो ठूलो स्वरमा।

त्यो बेला नाटक गर्दा अहिलेको जस्तो आधुनिक हल थिएन। नाटक गर्न बाँसको किला गाडेर कपडाले तीनतर्फ बेरेर स्टेज बनाउँथे। स्टेजको छानो पनि कपडाकै हुन्थ्यो। उनीहरूले दुईतिर पर्दालाई डोरीले बाँधेर एक/एक तिर तानेर पर्दा उघार्थे। त्यो समयमा बिजुली बत्ती थिएन। रातको समयमा मैन बालेर दर्शक तर्फको उज्यालो छेकेर कलाकारतर्फ पारिन्थ्यो।

एक दृश्य सकेपछि पर्दा तानेर स्टेज छोप्ने गरिन्थ्यो। फेरि अर्को दृश्यका लागि उघारिन्थ्यो। हरेक दृश्यमा पर्दा उघार्ने र बन्द गर्ने गर्थे। नाटक सकिएपछि ‘श्रीराम कि जय’ भन्ने गर्थे। नाटक गर्दा चाहिने हरेक सामग्रीहरू कलाकारहरूले नै लिएर आएका हुन्थेँ। अहिले पनि मलाई त्यो बेलाको नाटकका कतिपय दृश्यहरू याद छन्।

नाटक खेल्ने कलाकारहरूलाई त्यहाँका धनाढ्य व्यापारीले खाना खुवाउने व्यवस्था गरेको सुनिन्थ्यो। स्टेजबाट ठूलो आवाजमा ‘आज र भोलि विहानको खाना फलाना महाजनको घरमा हुनेछ, अथवा उहाँले दिनुभएको छ’ भनिन्थ्यो।

मैले जीवनमा पहिलो पटक नाटक हेरेको नै त्यही ‘रामलिला’ हो। यो नाटक हेरेपछि ममा पनि नाटकतर्फ रूचि बढ्न थाल्यो।

मामाघरको बसाइ सकिएपछि म घर आएँ। घर आएपछि सानातिना नाटकहरू गर्न थालेँ। त्यो समयमा नेपालमा पढ्नुपर्छ भन्ने खासै चलन थिएन। नेपालमा शिक्षा नभएकाले नै हाम्रो गाउँमा दार्जिलिङबाट केही शिक्षकहरू आएर पढाउनुभयो। यो २०१० सालतिरको कुरा हो।

मेरा भाइहरू स्वर्गीय भइसके। दुई बहिनी हुन्। स्कुल पढ्दै गर्दा मलाई संगीतमा पनि रूचि बढ्न थाल्यो। मेरो बुबा पनि संगीतको पारखी हुनुहुन्थ्यो। त्यसैले पनि मलाई अलि सहज चाहिँ पक्कै भयो।

शिक्षकलाई तलब खुवाउन केटी भएर नाचियो

त्यो बेला स्कुलका शिक्षकलाई तलब दिन धौधौ थियो। तलब दिनका लागि स्कुलसँग पैसा नभएपछि हामीलाई अभिनय गराएर, गीत गाउन लगाएर गाउँ गाउँमा चन्दा उठाउने गरिन्थ्यो। स्कुलका सञ्चालक समितिहरू सबै मिलेर पैसा उठाउन अनेक गतिविधि गर्नुपर्थ्यो।

देवराज राई, मछिन्द्र बहादुर राई, नारायण प्रसाद राई भन्ने कलाकारहरू हुनुहुन्थ्यो। अनि मसँग नाच्ने कृष्ण बहादुर राई चाहिँ मेरो साथी। म र उहाँ केटी भएर नाच्थ्यौँ।

त्यो बेलामा केटीहरू नचाउने चलन थिएन। केटाहरूलाई राती जहाँ लगे पनि हुन्थ्यो, जति नचाए पनि हुन्थ्यो तर केटीहरूलाई राती हिँड्न दिने चलन थिएन। नाच्नका लागि केटीहरू हुँदैनथे। अनि आफै केटीको लुगा लगायो,नाच्यो।

एकाध केटीहरूले मात्र मनले जितेर नाचेको देखेको थिए। नत्र अहँ नाच्दैनथे। अहिलेको जस्तो कहाँ सजिलो थियो र, त्यो बेला केटीलाई नाच्न! अनि केटा नै केटी भएर नाच्नुपर्थ्यो।

जब म पाँच कक्षा पास गरेर ६ मा गएँ, हाइस्कुल पढ्नका लागि भोजपुर बजार आइसकेपछि साहित्यिक माहोल भयो। अनि मात्र मेरो नाटक यात्रा सुरू भयो।

हृदयसिंहको 'निसिद्ध' भन्ने नाटक थियो। त्यसमा मलाई एउटा पात्रको भूमिका दिइएको थियो। सौतेनी आमाले हेला गरेको बालकको भूमिका थियो त्यो । अनि मैले 'सौतेनी आमाले हेला गरेको छैन, तपाईहरूले दस वटा कुरा सुनाएर हुन्छ' भन्ने संवाद बोल्नुपर्ने थियो, त्यो बोलेँ। अनि पर्दा बन्द भयो।

त्यो बेला हामीले त्यहाँको खुल्लामञ्चमा नाटक गरेका थियौँ। स्टेज सबै बाँसको कपडाको हुने भएकाले अलिअलि खर्च लाग्थ्यो। कतिपय लाहुरेले ल्याएको कपडालाई पर्दा बनाइन्थ्यो।

स्टेजमा कलाकार तयार भो है भनेपछि तिर्रर सिठी बजाइन्थ्यो अनि पर्दा उघारिन्थ्यो। पर्दा डोरीले तान्दा आएन भने हातैले तानेर उघार्नुपर्थ्यो। अनि कस्तो हुन्थ्यो भने, ‘तिमीलाई कस्तो छ भनेपछि अर्कोले ठिक छ भन्थ्यो। कता हिँडेको भन्दा स्कुल भन्ने जवाफ आउँथ्यो। अनि एक सिन सकिन्थ्यो। त्यसपछि सिठी तिरर पारिन्थ्यो। एउटा नाटकमा २४/२६ चोटि पर्दा लगाउने र बन्द गर्नुपर्थ्यो। हेर्ने दर्शक चाहिँ असाध्यै हुन्थेँ।

रामायण जस्तो नाटक

रामायण जस्तै नाटक भोजपुरको टक्सारका अग्रज कलाकार तथा दाजुहरूले देखाउनुहुन्थ्यो, त्यो पनि जात्राको समयमा । पाल-साल टाँगेर नाटक देखाउनुपर्ने वाध्यता थियो। अनि नाटक सकेपछि पैसा उठाउने गर्नुहुन्थ्यो। तर त्यहाँ चाहिँ धरानमा जस्तो खानाको व्यवस्था गरिएको थिएन।

त्यो समयमा नाटक देखाएर ५० पैसा, १ रूपैयाँ, २ रूपैयाँ त्यस्तै उठाउने चलन थियो। त्यो समयमा एक रूपैयाँको महत्व ठूलो थियो। मैले थाहा पाउँदा स्कुलको फिस नै महिनाको १ रूपैयाँ थियो। एउटा शिक्षकको तलब त १५/२० रूपैयाँ भन्थेँ। अनि अरू के कुरा गर्नु र?

नाटक गर्दा एक कुनामा बसेर कलाकारहरूले नै बाजा बजाइरहेका हुन्थे। नाटकको भाव अनुसारको बाजा बजाउथे। अहिले त धेरै सजिलो भइसक्यो। नाटक घरमा पर्दा लगाउनुपर्दैन। बत्ती र लाइटको तालमेल गर्दा हुन्छ।

साहित्यमा गतिविधि, हस्त लिखित पत्रिका

त्यो समयमा पत्रपत्रिका भन्ने पनि थिएन। अनि साहित्यमा लागेका हामी कृष्ण जोशी दाइ, पर्शु प्रधान, मेघराज मन्जुल लगायत थुप्रै थियौँ। पत्रिका छपाउने भन्ने थियो।

तेह्रथुमको आठराईबाट हस्त लिखित पत्रिका आउँथ्यो। त्यसमा जेतप्रसाद सिटौलाहरू हुनुहुन्थ्यो। यता बुँइपाबाट ‘गोरेटो’, ‘घुँएत्रो’ यस्तै यस्तै हस्त लिखित पत्रिका निस्कन्थ्यो। हाम्रोबाट चाहिँ ‘चोइटा’ भन्ने हस्त लिखित पत्रिका निकाल्थ्यौँ।

अहिलेको जस्तो कम्प्युटर सिस्टम थिएन। त्यो बेलामा हातले ५/६ पन्ना लेखेको हुन्थ्यो। त्यसैलाई पत्रिका भनिन्थ्यो। त्यही पत्रिका सबैतिर पठाइन्थ्यो। सबै जनाले पढ्थेँ र हामीले पनि पढ्थ्यौँ। रंगिन अक्षरमा कार्टुनका चित्रहरू पनि बनाउँथ्यौँ। कविता छापिएको छ भने त्यही अनुसारको चित्र बनाएर हस्त लिखित पत्रिका निकाल्थ्यौँ।

एसएलसी पछिको यात्रा

एसएलसीपछि म राजविराज हुँदै धरान र इलाम पुगेँ। विराटनगरमा राजन कार्की भन्नेले एकल नाटक गर्नुभएको थियो। राजविराजमा चाहिँ हाम्रो शिशिर प्रसाद देवकोटाले छायाँ अभिनय भनेर सेतो पर्दामा लाइट बालेर पर्दा पछाडिबाट अभिनय गर्नुभएको थियो।

त्यो भनेको कस्तो भने, सेतो पर्दामा कलाकारको हाउभाउ दर्शकलाई देखाउने। मलाई अहिले पनि याद छ, उहाँले कुन मन्दिरमा जान्छौ यात्री भन्ने कविता बाचन गर्दै अभिनय गर्नुभएको थियो। यो नाटक हेरेको मैले २०२० सालतिरको हो।

यो नाटक हेरेपछि म इलाम गएँ। इलाम पुगेपछि म आफैले पनि एकल नाटक गर्ने सोच बनाएँ। अनि आफै लेखेँ पनि 'पश्चाताप।'

त्यतिबेलाको परिवेशमा एउटा देशभक्त युवा युद्ध लडेर फर्केर आएको भूमिका थियो। त्यो पनि घाइते अवस्थामा आफ्नो देशको सिमानामा आइपुगेको। मलाई त्यो संवाद अहिले पनि याद छ 'हे नेपाल आमा, म तपाईँको माटोमा आइपुगेँ’ भनेर सिमानामा देहत्याग गर्ने दृश्य थियो। देशको माटो सुहाउँदो नाटक गर्दा सय दिनसम्म चलेको थियो।

२०२२ सालतिर लाहुर जानुहुँदैन भन्ने लहर अलिअलि आएको थियो। त्यसैले पनि होला, यो नाटकले सय दिन मनाउन सफल भयो।

त्यो बेला लाहुरेको एकदमै दुःखी अवस्था थियो। लाहुरेको घरमा छोराछोरी धेरै, एउटाको कमाइले नपुग्ने। लाहुरेकी श्रीमती सुखसयलमा बस्नुपर्ने खाल्का थिए। मेरो घर अगाडि पनि त्यस्तो अवस्था थियो। त्यो बेलामा के भन्थे भने,‘आयो लाहुरे बुट जुत्ता कसेर, गयो लाहुरे खरानी धसेर’। एकदमै नाजुक अवस्था थियो। अहिले त धेरै राम्रो भएको छ।

रेल चढेर काठमाडौंको यात्रा

त्यो समयमा काठमाडौं आउने अहिलेको जस्तो बाटो थिएन। भर्खर बाटो बन्दै थिए। इलामबाट झापाको भद्रपुर हिँडेर आउनुपर्थ्यो। त्यहाँसम्म भारत पुगेर रक्सौलसम्मको रेल चढेर आएँ। अनि त्यहाँबाट विरगंज आएपछि काठमाडौं आउने आराथुन भन्ने बस चल्दो रहेछ। त्यो बस चढेर त्रिभुवन राजपथहुँदै काठमाडौं आएको थिएँ। यो २०२२ साल तिरैको कुरा हो।

खास म काठमाडौं जेटिए कृषि विषय पढ्न आएको थिएँ। अनि जेटिए भर्ना भएँ, पढेँ। यो विषय पढेपछि कृषिमा नै जागिर खाएँ, पाटनमा। जेटिए पढ्ने क्रममा मेरो शैलेन्द्र साकारसँग भेट भयो। उहाँ हामी भन्दा अघिल्लो टोली हुनुहुँदो रहेछ। कवि मन्जिलसँग (मेघराज नेपाल) पनि यही भेट भयो।

हुँदाहुँदै बिस्तारै काठमाडौंका कलाकारहरूसँग जोडिन थालेँ। राष्ट्रिय नाचघरका कलाकारहरूसँग नजिक भएँ। कलेजको कार्यक्रमबाट त्रिभुवन युनिभर्सिटीमा गएका थियौँ। त्यहाँ मैले नाटक हेर्न मौका पाएको थिए ‘अपमानित मानिसको आत्मा'। यो नाटक कस-कसले खेल्नुभयो मलाई यकिन छैन।

त्यसपछि २०२६ सालमा म पनि राष्ट्रिय नाचघरमा जागिरेको रूपमा आएँ, त्यो पनि कलाकार भएर। त्यो समयमा बालकृष्ण समका नाटकहरू प्रायः देखाइन्थ्यो। सम आफै आएर नाटक सिकाउनुहुन्थ्यो। जस्तो ‘मुटुको व्यथा’, ‘अमरसिंह’। यसमा अमर सिंहको संवाद सम आफै बोल्नुहुन्थ्यो। त्यो बेला सेटिङ र ड्रेसमा धेरै खर्च हुन्थ्यो।

नाचघर राजा महेन्द्रले आफ्नै खर्चमा बनाउन लगाएका रहेछन्। पहिला यहाँ सांस्कृतिक विभाग भन्ने अन्तर्गत राखेर त्यसको निर्देशक सत्यमोहन जोशीलाई बनाइएको थियो। त्यसपछि यो नाचघरमा आगलागी भयो। फेरि निर्माण गरियो। यो निर्माणका रत्नराज्य लक्ष्मी शाहले फेरि पैसा दिएर निर्माण गरिएको थियो। यो निर्माण गर्दाको शिलापत्र त्यहीँ थियो। अहिले त खै कता फाले कुन्नि, देख्दिनँ पनि।

राष्ट्रिय नाचघरमा नाटक हुँदा राजपरिवारका सदस्यसहित राजा पनि हेर्न आउँथे। नाटकहरू प्रायः त्यो समयको व्यवस्थासँग सम्बन्धित हुन्थ्यो। जस्तो कि ‘अँध्यारो, उज्यालो’, पृथ्वीनारायण शाहको ‘चार पक्ष’ लगायतका मञ्चन हुन्थे। नातिकाजीले त्यो बेलामा संगीत गर्नुहुन्थ्यो। गीति नाटकको लहर चलेको थियो बेला।

राजा महेन्द्रसँग तीन भेट

राजाले त्यो बेलामा कलाकारसँग आफै डिल गर्थे। मेरो पनि नाटकको सिलसिलामा राजा महेन्द्रसँग ३ पटकसम्म भेट भएको थियो। मलाई विशेषगरी गीत गाउन निम्ता गर्थे।

अनि भेटमा राजा महेन्द्रले घर कहाँ हो, के गर्छौ भनेर सोध्नुभएको थियो। पछि वीरेन्द्रसँग पनि भेट भएको थियो तर त्यहाँका सचिवले राजालाई भेट्नै दिँदैनथे। मेरो त राजा वीरेन्द्रको सचिवसँग झगडै परेको थियो। भेट हुन लागेपछि पछाडिबाट तानेर लडाउनै खोज्थे, किन जान्ने भाको भनेर।

ती सचिवको नाम नलिउँ, पाण्डे थरका थिए। मैले राजा वीरेन्द्रसँग केही कुरा गरिरहेको थिए,मलाई पछाडिबाट तानेर लडाउनै खोजे। जब म भित्र आएँ अनि के खाल्को मान्छे तपाई, त्यसरी अगाडि गएर कुरा गर्ने भनेर हकार्दो रैछ। तब मैले ‘ए बाबा! सरकारले मसँग कुरा गर्न चाही बक्सेको छ। कुरा गरेका छौँ। मैले कसैको खराब कुरा गरेको छैन। तपाईँलाई के टाउको दुखाई भो? किन जङगिनु हुन्छ? भन्दै थर्काएँ। भोलिपल्ट सचिव आएर माफी मागेका थिए।

राजा नचिन्दाको त्यो क्षण

राजा महेन्द्रसँग भेटहुँदा मलाई घर कहाँ हो भनेर सोधेपछि मैले 'भोजपुर हो सर' भनेँ। सरकार भनेर मलाई थाहा थिएन। अनि सर भने। राजाले तिमी भन्ने शब्दले बोलाएका थिए। किनभने हामी त छोरा समानको मान्छे तपाई भन्ने कुरा पनि भएन नि त!

अब राजा जस्तै नदेखिने सिम्पल लुगामा थिए। कुर्था सुरुवाल र कालो चस्मा लगाएका थिए। राजा यस्तो हुन्छ भनेर कल्पनै नगरेको मैले। हामीले त दौरा सुरुवाल, श्रीपेज लगाएको सोचेको। त्यो बेला दरबारमा पुगेर राजासँग नै बात मारिएछ तर राजा भनेर चिन्दै चिनिँन।

अनि तिमीलाई कहाँ बसेर गीत गाउन सजिलो हुन्छ भनेर सोधे। आफैले माइक, हार्मोनियन, बाजा-गाँजा कता कता राख्ने भनेर मिलाइदिए। मैले सर, हामी गर्छौ भनेर हार्मोनियम बोकेँ मिलाउनलाई। उहाँलाई बाजा-गाजाका सामानहरू राख्नलाई सहयोग गरेँ।

तर उता एडिसी चाहिँ हेरेर बसेका थिए। टोपी नलगाएका युनिफर्म मात्रै थियो। यता उति हेर्छन् मात्रै। राजा काम गरिरहेका छन् उनी हेरेर बस्ने।

सुन्ने दर्शक यता बस्ने, त्यहाँ बसेर गीत गाऊ, त्यहाँ बाट बाजा बजाऊ भनेर अर्हाए। अनि हामीले त्यसरी नै बसेर गीत गायौँ। मैले त्यो बेला ‘मलाई प्यारो लाग्छ, मलाई राम्रो लाग्छ, लहरा पहरा’ लगायत ५ वटा जति लोकगीत गाएँ।

२२/२३ वर्षको अल्लारे उमेर। गीत गाएर बाहिर आइसके पछि राजाले काम गरेका बेला गर्नु हुँदैन भनेर सुनाए। अनि मात्र उनी राजा महेन्द्र भएको चाल पाएँ। पछि थाहा भो, राजाले काम गरेको बेलामा अरूले गर्नु नहुने रहेछ।

मलाई दरबारको नियम थाहा थिएन। मैले त राजासँग सँगै काम गरेँ। राजाले जे-जे गर्छन् दिनु पर्ने रहेछ। त्यही भएर राजाको एडिसीले पनि काम नगरेको रैछ।

राजा महेन्द्रसँगको त्यो अन्तिम भेट

दरबारमा कार्यक्रमका लागि तेस्रो पटक बोलाइएको थियो। त्यो बेला राजा महेन्द्रको अनुहार उज्यालो थिएन। अहिले म सम्झन्छु, सायद राजालाई हर्ट अट्याक भा'को रैछ क्यार! महेन्द्रलाई मैले दुब्लो देखेँ, पहिलाको त्यो जोस जाँगर पनि देखिँन।

राजा चितवन जानु अघि हामी कलाकारहरूलाई भेट्छु भन्नु भएको थियो। जब राजा चितवन सवारी भयो। त्यहाँबाट राजा फर्कदै फर्किएनन्। उतै स्वर्गवास भयो।

महेन्द्रपछि वीरेन्द्र राजा हुनुभयो। पाँच विकास क्षेत्रको भ्रमणमा हामीलाई पनि लैजानुभयो। त्यहाँ जाँदा खाली उर्जावान गीतहरू सुन्न रुचाउनुहुन्थ्यो। जुन विकास क्षेत्रमा गयो त्यहीको स्थानीय संस्कृति तथा गीतहरू गाउन लगाउने र त्यसको महत्व बुझ्ने गर्नुहुन्थ्यो।

यो २०२८ सालबाट सुरू भएको थियो। विभिन्न ठाउँका कलाकारहरूले आफ्नो कला संस्कृति झल्काउने गीतहरू शुक्रबार दरबारमा सुनाउन लैजानुपर्थ्यो। धेरैले लैजान्थेँ।

रत्न रेकर्डिङ संस्थानको जिएम

दरबारसँग म नाचगानको हिसाबले नजिक थिएँ। मेरा गीतहरू पपुलर थिए। म २०३८ सालमा रत्न रेकर्डिङ संस्थाको जिएम भएँ। यहाँ काम गर्दागर्दै २०४० सालमा राष्ट्रिय नाचघरको जिएम भएँ।

सरसर्ती हेर्दा ४० को दशकमा नेपाली रङ्गमञ्चमा विदेशी नाटकको प्रभाव भयो। नाटक क्षेत्रले फड्को मार्यो। तर नेपाली नाटक लेखनमा कमी आयो। नाटक लेख्ने मान्छे धेरै कम भएका थिए।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Arjun Shrestha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share