12/09/2025
ऐतिहासिक र अभूतपूर्व जेन जी आन्दोलनले दलाल पुँजीवादी व्यवस्थाको ढाड भाँच्ने अवस्था देखिएपछि यसलाई हाइजेक गरियो। र, शीतल निवासको बुख्याचालाई प्रयोग गरी दलाल पुँजीवादी व्यवस्थालाई नै जोगाउने ठाउँमा पुर्याइयो। यो आन्दोलनमा बगेको नयाँ पुस्ताको रगतमाथि गरिएको घोर उपहास हो।
दलाल पुँजीवादी व्यवस्था भनेको भ्रष्ट माफियातन्त्र हो। यो भ्रष्ट माफियातन्त्र रहँदासम्म देश भ्रष्टाचारमुक्त हुन सम्भव छैन। दलाल पुँजीवादी व्यवस्था भनेको विदेशीहरूको इशारामा चल्ने देशद्रोहीहरूको व्यवस्था हो। यो देशद्रोहीहरूको व्यवस्था कायम रहँदासम्म राष्ट्र स्वाधीन हुन सक्दैन। देशको राजनीति स्वाधीन हुन सक्दैन। राष्ट्र र राजनीति स्वाधीन नहुँदासम्म देशको समृद्धि सम्भव छैन। देशको समृद्धि नहुँदासम्म नयाँ पुस्ताको लागि यो देशमा सुन्दर र सुरक्षित भविष्य सुनिश्चित हुन सम्भव छैन।
त्यसैले, जेन जी पुस्ताले भ्रष्टाचार मुक्त देश, सुशासनयुक्त देश बनाउने भन्नुको अर्थ दलाल पुँजीवादी व्यवस्थाको अन्त्य गर्नु नै हो। आज देशी विदेशी शक्तिकेन्द्र र यहाँका भ्रष्ट, पतित र दलाल तत्वहरूको मिलोमतोमा जेन जीको बलिदानमाथि सौदाबाजी गर्दै दलाल पुँजीवादी भ्रष्ट व्यवस्था जोगाउने तानाबाना वुनिसकेका छन्। भ्रष्ट दलालहरुको यो षड्यन्त्र नयाँ पुस्ताको सुनौलो सपनामाथिको देशद्रोही अपराध हो।
अब जेन जी पुस्ताले गम्भीर आत्मसमीक्षा गर्दै नयाँ ढंगले अगाडि बढ्ने संकल्प गर्नुको विकल्प छैन। नयाँ पुस्ताले चाहेको नयाँ व्यवस्था हो, नयाँ प्रणाली हो। त्यो नयाँ व्यवस्था भनेको समाजवाद नै हो, समाजवादी प्रणाली नै हो। नयाँ पुस्ताका सपनाहरू समाजवादले मात्र पुरा गर्न सक्छ। किनकि यो धर्तीमा समाजवाद मात्र यस्तो व्यवस्था हो, जसलाई मानव जातिले आफ्नो सभ्यताको विकास क्रममा आर्जन गरेको समग्र ज्ञान, विज्ञान र अनुभवद्वारा सर्वोत्कृष्ट व्यवस्थाको रूपमा विकसित गरेको हो।
यसर्थ, नयाँ पुस्ताले आफ्नो सुन्दर सपना र सुरक्षित भविष्यको लागि अब समाजवादको सपना देख्न सिक्नुपर्छ। समाजवाद निर्माणको महान संकल्प बोक्नुपर्छ। भ्रष्ट, दलाल र माफियाको व्यवस्थाभित्र सहमति र सम्झौता गर्नु आफ्नो पुस्तामाथिको धोखा बाहेक अरु केही हुने छैन। आफ्नो गौरवमय बलिदानको उपहास हुने गरी यो दलाल पुँजीवादी व्यवस्थालाई जोगाउन सहमति गर्नु आफ्नै भविष्यमाथिको खेलबाड बाहेक अरु केही हुने छैन।