12/10/2025
नेपाली भाषामा चौरासी भनिने नेवारी भाषामा (जंकु) संस्कार भब्याताका साथ मनाउदै टंगाल, ललितपुरमा। वास्तवमा नेपाल भाषा, संस्कार र संस्कृतिले अतिनै धानी र सुन्दर देशको रूपमा परिचित भएता पनि यस्को उत्चित संरक्षण, प्रबर्द्धन र बिकास भने गर्न सकिएको देखिदैन। चाहे त्यो राज्यको तर्फबाट होस चाहे समाजको तर्फबाट । यस्को बिकास प्रबर्द्धन गर्न सके आन्तरिक तथा बाह्यपर्यटको वृद्धि गरि देशको अर्थतन्त्रमा ठुलो टेवा पुग्ने कुरोमा विस्वास गर्न सकिन्छ।
नेवार समुदायमा बच्चा हुँदा गरिने पास्नी र भात खुवाइलाई जंकुको संज्ञामा राखे पनि पाँचवटा विशेष महत्वका पर्व हुन् ।
बूढाबूढी भएपछि नेवारहरूको जंकू गर्ने चलन छ । सकेसम्म परिवार, समाज र देशका लागि धेरै काम गरिसकेको हुँदा त्यसै कार्यको उच्च मूल्यांकन गरी सम्मान गर्ने र उसको सुस्वास्थ्यको कामना गर्दै लामो आयु होस् भन्ने मनसाय राखी उनीहरूबाट आशीर्वाद थाप्ने हो ।
पहिलो जंकु (भीम रथारोहण) ७७ वर्ष ७ महिना, ७ दिन, ७ घडी, ७ पला उमेरमा गरिने जंको पहिलो जंको हो । यो जंकुमा साइट हेरेर दम्पती दुबै जना भए श्रीमान्को साइट अनुसार र श्रीमान् वा श्रीमती एकल भए जसको जंकु गर्नुपर्ने हो उसैको उमेर साइट अनुसार जंकु गरिन्छ ।
दोस्रो जंकु मानीस जन्मिएर एक हजार पटक चन्द्रमा उडाइसकेको वा दर्शन हुने साइटको रूपमा ८२ वर्षको उमेरलाई लिइन्छ । त्यसैले दोस्रो जंकुमा लाख बत्ती बालेर विभिन्न विधि विधान अनुसार पूजा गरि मखमलको कपडा ओच्छाएर त्यसमाथी काठद्धार निर्मित रथमा आसन बनाएर रथारोहण गरिन्छ । रथलाई छोरा, नाती पनातीले तान्ने परम्परा छ ।
तेस्रो जंकु जंको गर्ने व्यक्तीको उमेर ८८ वर्ष ८ महिना, ८ दिन, ८ घडी, ८ पला पुगेपछि तेस्रो जंको गर्ने परम्परा छ । यस बेला जंकु गरिएको जेष्ठ नागरिकलाई रथयात्रापछि ढोकाबाट नभई घरको झ्यालबाट भित्राइन्छ ।
चौथो जंकुलाई दिव्य रथारोहण भनिन्छ । जंकु गर्ने व्यक्तीको उमेर ९९ वर्ष ९ महिना, ९ दिन, ९ घडी, ९ पला पुगेकै समयमा रथारोहण गर्ने प्रचलन छ । यस बेलासम्म बाँच्न सफल व्यक्तीलाई नयाँ घ्याम्पोमा राखेर घ्याम्पो पूजा गरिन्छ । त्यसपछि फेरि बच्चा भएर जन्मेको भावले घ्याम्पो फुटालेर निकाल्ने प्रचलन छ । वृद्ध हुनु भनेको पुनः शारिरिक रूपमा बालबालिका बन्नु जस्तै हो भन्ने पनि प्रचलन छ । यसबेला पनि काठको पांग्रा भएको रथमा राखेर गाउँ वा नगर, टोल परिक्रमा गर्ने प्रचलन छ । नाति पतातिहरूले रथ तान्ने र छोरा छोरी ज्वाँईहरूले लावा अबिर छर्कने गरिन्छ । बेलाको रथलाई दिव्यरथ भनिन्छ । एक शताव्दी बाँचेको खुसीयालीमा थप जीउन हौसला प्रदान गर्न काम पनि यो जंकुले गर्दछ ।
पाँचौं जंकुलाई महादिव्य रथारोहण भनिन्छ । जंकु गर्ने व्यक्तीको उमेर १०८ वर्ष, ८ महिना, ८ दिन, ८ घडी, ८ पला को साइट पारेर जंकु गरिन्छ । अष्टमा टेकेको बेला केही अनिष्ट नहोस् भन्ने कामना गर्दै रथारोहण गरिन्छ । यसबेला निर्माण गरिएको रथलाई महादिव्य रथ भन्निछ ।
माथी उल्लेखित जानकारी प्रकश कापालीको सहयोगमा प्राप्त गरिएको हो।