14/10/2025
राणाशासनका समयमा “दस्वत” स्वीकार नगर्ने तामाङ समुदायमाथि कठोर दमन र शोषण गरिएको ऐतिहासिक तथ्य सर्वविदित छ। त्यही कारणले, त्यस समयमा धेरै तामाङहरूले जीविकाको खोजी र राज्यसेवामा प्रवेश पाउन आफ्नै मूल जातीय पहिचान लुकाएर “घले”, “गुरुङ” लगायत अन्य थर लेख्न बाध्य भएका थिए। नुवाकोट, गोर्खा र धादिङका धेरै तामाङहरू आज पनि नागरिकतामा “घले, गुरुङ" लेखिएको पाइन्छ। उनीहरूलाई राम्रोसँग थाहा छ आफूहरू वास्तविक तामाङ नै हुन्। तर कानुनी प्रक्रिया र प्रशासनिक जटिलताका कारण आजसम्म नागरिकता सच्याउन सकेका छैनन्। यद्यपि उनीहरूले कहिल्यै आफ्नो मूल पहिचान लुकाएका छैनन् गर्वका साथ छाती फुलाएर भन्छन्, “हामी तामाङ हौं।” किनभने उनीहरूको नशा–नशामा, रगत–रगतमा ओरिजिन तामाङको रक्तसञ्चार बगिरहेको छ। तर अर्कातर्फ, मुगु, डोल्पा र हुम्ला क्षेत्रका मानिसहरूले भने भिन्न व्यवहार देखाएको पाईन्छ। उनीहरूले विगतमा राज्यका सुविधा, अवसर वा पहुँच (Access) प्राप्त गर्नका लागि नागरिकतामा “तामाङ” लेखे तर अहिले आएर आफूहरू तामाङ नभएको, र आफ्नो भेषभूषा, परम्परा र रहनसहन तामाङ समुदायभन्दा भिन्न भएको दाबी गर्छन्। उनीहरूले तामाङ हुनुमा कुनै गर्व गर्दैनन्, बरु सार्वजनिक रूपमा “हामी तामाङ होइनौं” भन्छन्। जब उनीहरूले आफैं तामाङ हुनु अस्वीकार गर्छन्, तब हामीले कसरी र कुन आधारमा तिनीहरूलाई “तामाङ” भनेर समर्थन गर्न सक्छौं? किनभने पहिचान केवल कागजमा लेखिएको नाम होइन त्यो चेतना, गर्व र सांस्कृतिक उत्तरदायित्वको प्रतीक हो। हामीले स्पष्ट रूपमा भनिसकेका छौं यदि कुनै समुदाय वा समूहले तामाङ पहिचानलाई हृदयदेखि स्वीकार गर्न चाहन्छ भने, त्यसप्रति हाम्रो कुनै आपत्ति वा विमति छैन। बरु त्यो तामाङ समुदायकै लागि सकारात्मक कुरा (plus point) हो, किनभने यसले हाम्रो भाषा, संस्कृति र प्रभावको दायरा विस्तार भएको जनाउँछ। तर समस्या त्यतिबेला सुरु हुन्छ, जब केही व्यक्तिहरू केवल अवसरका लागि “तामाङ” नाम अपनाउँछन् र जब त्यो अवसर प्राप्त भइसकेपछि आफ्नै मूल पहिचानमा फर्किएर “हामी तामाङ होइनौं” भन्छन्।
यस्तो दोहोरो व्यवहार दोस्रो पुस्तासम्म पुग्दा अझ गम्भीर बन्छ उनीहरूले तामाङ शब्द नै प्रयोग गर्न छोड्छन्, र तामाङ समुदायसँग कुनै सम्बन्ध नरहेको जस्तो व्यवहार गर्छन्। हाम्रो दृष्टिमा, यस्तो प्रवृत्ति न त नैतिक रूपमा उचित छ, न सांस्कृतिक रूपमा स्वीकार्य। यसले वास्तविक तामाङ समुदायको पहिचान, इतिहास र अस्तित्वमै चोट पुर्याउँछ। तामाङ हुनु केवल अवसरको ढोका खोल्ने नाम होइन यो हाम्रो भाषा, संस्कृति, परम्परा र आत्मसम्मानसँग गासिएको पहिचान हो।
त्यसैले जो तामाङ बन्न चाहन्छ, उसले त्यो पहिचानलाई गर्वका साथ, जिम्मेवारीपूर्वक र स्थायी रूपमा आत्मसात् गर्नुपर्छ।