11/06/2026
जानकी मन्दिर नजिकै वार्ड नम्बर–३ को सडक र नाला वर्षौंदेखि निर्माण नहुँदा केही घण्टाको वर्षामै पानी घर तथा पसलमा पस्न थालेपछि स्थानीयवासी र व्यवसायीहरू समस्यामा परेका छन् । पानी जम्दा दैनिक आवतजावत प्रभावित हुनुका साथै व्यापारीहरूले आर्थिक क्षति समेत व्यहोर्नुपरेको गुनासो गरेका छन् ।
स्थानीयको भनाइ अनुसार अहिले नै सामान्य वर्षामा यस्तो अवस्था छ भने सावन–भादोजस्तो निरन्तर वर्षाको समयमा अवस्था अझ भयावह हुने चिन्ता बढेको छ । धार्मिक तथा पर्यटकीय महत्व बोकेको क्षेत्रमा समेत आधारभूत सडक र नाला व्यवस्थापन हुन नसक्नु जनप्रतिनिधि र सम्बन्धित निकायको चरम लापरवाही भएको भन्दै स्थानीयहरू आक्रोशित बनेका छन् ।
“कर तिर्ने बेला जनता चाहिने, तर समस्या समाधान गर्ने बेला जिम्मेवार निकाय मौन बस्ने?” भन्दै पीडितहरूले तत्काल सडक तथा नाला निर्माण गरी दीर्घकालीन समाधान गर्न माग गरेका छन् ।