05/09/2026
कास्कीकोटमा खेलियो दहीको होली, रथयात्रा स्थगित
कास्की २० भदौ
श्रीकृष्ण जन्माष्टमीको अवसरमा कास्कीको कास्कीकोटमा परम्परागत दहीको होली खेल्दै पर्व मनाइएको छ । परापूर्वकालदेखि सञ्चालन हुँदै आएको दहीको होली र रथयात्रा कार्यक्रमअन्तर्गत यस वर्ष दहीको होली खेलिए पनि रसुवामा आएको विनाशकारी बाढीका कारण रथयात्रा भने स्थगित गरिएको आयोजकले जनाएको छ ।
जन्माष्टमीको भोलिपल्ट मनाइने दहीको होलीका लागि स्थानीय बासिन्दाले घरघरबाट दही सङ्कलन गरी सामूहिक रूपमा उत्सव मनाएका थिए । स्थानीय समुदायको आस्था र एकताको प्रतीक मानिने यो परम्परामा गाउँका विभिन्न उमेर समूहका व्यक्तिहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
कास्कीकोट मौलास्थित ऐतिहासिक भारदारी चौतारामा आयोजित कार्यक्रममा कृष्ण, राधा, कंस, गणेश तथा कृष्णका दूतलगायतका पौराणिक पात्रको भेष धारण गरी झाँकी प्रस्तुत गरिएको थियो । पौराणिक कथालाई जीवन्त बनाउने उद्देश्यले गरिएको प्रस्तुतिले दर्शकको ध्यान आकर्षित गरेको थियो ।
स्थानीयवासीका अनुसार सयौँ वर्षदेखि पुस्तान्तरण हुँदै आएको यो परम्पराले गाउँको धार्मिक, सांस्कृतिक तथा सामाजिक एकतालाई थप मजबुत बनाउँदै आएको छ । श्रीकृष्णको जन्मको खुसीयालीमा खेलिने दहीको होली कास्कीकोटको मौलिक सांस्कृतिक पहिचानका रूपमा परिचित छ ।
श्रीकृष्ण जन्माष्टमीको अवसरमा हरेक वर्ष जस्तै अहिले पनि दहीको होली खेलिएको हो । श्रीकृष्णको जन्म भएको भोलिपल्ट परापूर्वकालदेखि नै यहाँ दही जात्रा हुने गरेको थियो । गुप्तकाली कश्यप धार्मिक क्षेत्र विकास समितिले दहीको होली आयोजना गर्दै आएको छ ।