12/12/2025
केही दिनअघि मात्र भ्रष्टाचार मुद्दामा पुर्पक्षका लागि थुनामा गएका नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको नियुक्तिबारे तत्कालीन पर्यटनमन्त्री प्रेम आले मगरले दिएको पुरानो अभिव्यक्तिलाई फेरि चर्चामा ल्याइएको छ।
आलेको भनाइ थियो—
“मैले प्रदीप अधिकारीलाई महानिर्देशक बनाउन एकदमै चाहेको थिइनँ। उनी त जुनियर नै थिए। उनीभन्दा माथि पाँच जना सिनियर इन्जिनियर थिए। तर ममाथि जुन दबाब आयो, त्यो बयान गरेर साध्य छैन। मलाई विभिन्न तह र तप्काबाट फोन आयो, धम्की आयो, प्रेसर आयो। कारण एउटै थियो— उनले भ्रष्टाचार गरेर कमाएको अकुत पैसाले नेतादेखि लिएर माथिल्लो तहसम्म सबैलाई ‘म्यानेज’ गरेका रहेछन्।
म बाध्य भएँ। नियुक्ति दिनुअघि मैले उनलाई दुई औँलाले च्यापेर ल्याप्चे लगाएँ र अग्रिम राजीनामा लेखाएर मात्र हस्ताक्षर गरेँ। यो मान्छे यति धनी छ कि असनको साँढेको बाजेसम्म किन्न सक्छ। भ्रष्टाचारको क्षेत्रमा त ऊ नायक नै हो। उसको कारण म रातभर निदाउन सकिनँ।
सार्वजनिक लेखा समितिमा कुरा पुग्छ, उपसमिति बन्छ, प्रतिवेदन बन्छ, तर कारबाही अघि बढ्दैन। उपसमितिको प्रतिवेदन बुझाउने बेलामा त सांसदहरू नै किनिएर हस्ताक्षर गर्न मानेनन् र भागेका थिए।
यस्ता दुई-चार जना ठूला माछा अझै कम्बल ओढेर घ्यू खाइरहेका छन्। बोल्दैनन्, देख्दैनन्, सुन्दैनन्। तर पापको घडा फुट्ने दिन टाढा छैन, एक-एक गर्दै सबैको पालो आउँछ।
नेपालमा राजनीति सेवा होइन, पेशा बन्यो।”
(प्रेम आले मगरको पुरानो अभिव्यक्ति, अहिले प्रदीप अधिकारी पक्राउ परेपछि फेरि भाइरल बनेको छ।)