03/01/2026
कोसीपारी मानेडाँडा–सल्लेमा मानवता झल्काउने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न
कोसीपारि मानेडाँडा–सल्लेमा शुक्रबार आयोजित एकदिने बृहत् नि:शुल्क स्वास्थ्य शिविर मानव सेवाको अनुपम उदाहरण बनेर भव्यताका साथ सम्पन्न भएको छ। भुम्लु दुवार बोम्जन परिवारको आयोजनामा, भुम्लु गाउँपालिका स्वास्थ्य शाखा र काठमाडौँ मेडिकल कलेजको समन्वयमा तथा उज्यालो नेपाल र लायन्स क्लब अफ काभ्रेपलाञ्चोकको सहकार्यमा सम्पन्न शिविरले ग्रामीण बस्तीमा आशा, भरोसा र उज्यालो स्वास्थ्यको सन्देश फैलाएको छ।
शिविरमा महिला, पुरुष, ज्येष्ठ नागरिक, बालबालिका गरी जम्मा ५४० जना सेवाग्राहीले विभिन्न स्वास्थ्य सेवा प्राप्त गरेका छन्। लामो समयदेखि उपचारको पहुँचबाट टाढा रहेका नागरिकका लागि यो शिविर केवल उपचार मात्र नभई जीवनप्रतिको नयाँ भरोसा बनेको सहभागीहरूले बताएका छन्।
दुर्गम भूगोल, सीमित साधन र आर्थिक अभावका बीच पनि निःस्वार्थ भावनाले जुटेका चिकित्सक, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा आयोजक संस्थाहरूको समर्पणले शिविरलाई अर्थपूर्ण बनाएको थियो। बिरामीका आँखामा देखिएको सन्तोष, मुस्कान र धन्यवादका शब्दहरूले स्वास्थ्य सेवा भनेको केवल औषधि होइन—मानवताको स्पर्श पनि हो भन्ने सन्देश दिएको छ।
स्थानीय समुदाय, आयोजक परिवार, सहकार्य गर्ने संस्थाहरू र समन्वयकारी निकायप्रति सेवाग्राहीहरूले हार्दिक आभार व्यक्त गरेका छन्। यस्ता शिविरहरूले ग्रामीण क्षेत्रमा स्वास्थ्य सचेतना बढाउँदै, राज्य र समाज मिलेर गर्न सक्ने सकारात्मक परिवर्तनको मार्ग प्रशस्त गरेको विश्वास गरिएको छ।
मानवता, सेवा र सहकार्यको सुन्दर संगम बनेको यो नि:शुल्क स्वास्थ्य शिविरले कोसीपारि मानेडाँडा–सल्लेलाई मात्र होइन, सम्पूर्ण भुम्लु क्षेत्रलाई स्वस्थ र उज्यालो भविष्यतर्फ अघि बढ्ने प्रेरणा दिएको छ।