12/11/2025
कर्णबहादुरको आरनमा पुग्दा!
रामकृष्ण कंडेल,युनिक खवर
वामीमैदान क्षेत्रको नजिकै वामीटक्सारमा अहिले पनि परम्परागत सीपको उज्यालो देख्न सकिन्छ। आधुनिक प्रविधि र मेसिनको युगमा पनि यहाँका कर्णबहादुर बिश्वकर्मा आफ्नो पुर्ख्यौली पेशा आरन सञ्चालन गर्दै आउनुभएको छ।
लौह धातुलाई आगोमा तताएर आकार दिने यो सीप उहाँले आफ्ना बुबा हजुरबुबाबाट सिक्नुभएको हो। अहिले पनि बिहान सबेरै आरनमा आगो बाल्दै,हातमा हथौडा लिएर पसिना बगाउने उहाँको जीवनशैलीले पुरानो मेहनती संस्कृतिको झल्को दिन्छ।
कर्णबहादुर बिश्वकर्माको आरनमा हँसिया,कोदाली, बन्चरो, हतियारदेखि लिएर दैनिक जीवनमा आवश्यक अन्य धारिला औजारहरू निर्माण गरिन्छ। गाउँकै कृषक र स्थानीय बासिन्दा उहाँकै हातले बनाइएका उपकरण प्रयोग गर्छन्।
धुँवा,आगो र फलामसँग घुलमिल भएर बित्ने उहाँको दिन केवल श्रम होइन,संस्कृतिको संरक्षण पनि हो।
“काम सानो ठुलो हुँदैन, इमानदार परिश्रम नै ठूलो धन हो,” भन्ने विश्वासका साथ उहाँले आफ्नो पेशा निरन्तरता दिइरहनुभएको छ।
वामीटक्सार परूवा निवासी स्थानीय अभिभावक बेदप्रसाद सापकोटा कर्णबहादुर बिश्वकर्माको यो आरन कार्यप्रति अत्यन्तै खुशी देखिनुभएको छ।
युनिक खवर डट कम संगको कुराकानीमा बेद सर भन्नुहुन्छःयस्ता परम्परागत सीपधारी व्यक्तिहरूले गाउँमै आवश्यक औजार उत्पादन गरेर आत्मनिर्भरता बढाएको मात्र होइन, गाउँको पहिचान पनि जोगाइराखेका छन्।
बेदप्रसाद सापकोटाले भन्नुभयोः
“हाम्रा गाउँमा अझै पनि यस्ता सीपधारी मानिसहरू छन् भन्नेमा गर्व लाग्छ। कर्णबहादुरजीले आफ्नो पुर्ख्यौली पेशा निरन्तरता दिनु भनेको हाम्रो मौलिक संस्कृतिलाई जोगाउने काम हो।”
वामीटक्सारको यो आरन केवल फलाम पिट्ने ठाउँ होइन यो मेहनत, सीप र आत्मनिर्भरताको जिवन्त प्रतीक हो।
कर्णबहादुर बिश्वकर्माजस्ता हस्तकर्मीहरू नै हाम्रो गाउँ र संस्कृतिको वास्तविक सम्पत्ति हुन।