19/12/2022
नेप्से सूचकमा सामान्य वृद्धि हुँदा समग्र बजारको प्रवृत्ति कस्तो देखिएको छ ?
काठमाडौं : नेप्से सूचक सोमबार ३.८३ अंकले बढेको छ । यस वृद्धिसँगै सूचक १८५८.८९ विन्दुमा आएको छ । ८८ करोड ६० लाख रुपैयाँको सेयर कारोबार भएको छ । धौलागिरी लघुवित्तमा सकारात्मक सर्किट लागेको छ ।समग्रमा भने सेयर बजार साइडवेजमै देखिएको छ । बजार खासै तल झर्न सकेन भने माथि जान पनि सकेन । १८ सयको लाइनमा झरेपछि केही दिन दोहोरो अंकले घटेको बजार सोमबार भने केही सम्हालिएको छ । यतिबेला धमाधम सेयरहरु अकुमुलेसन भइरहेको विश्वास गरिएको छ ।
यस्तो चरणमा बजार सामान्यतयः साइडवेजमै रहने गर्छ । खरिदकर्ताले विस्तारै–विस्तारै गरेर सेयर उठाइरहेका हुन्छन् । यता, विक्रेताहरुमा भने अब बजार नबढ्ने भन्ने जस्तो मानसिकता हावी भइरहेको हुन्छ । यस्तै सोचहरुका बीचमा बजारमा अकुमुलेसन चलिरहने जानकारहरुको भनाई छ । अकुमुलेसनको चरण समाप्त भएपछि मात्र बजारको गति परिवर्तन हुनेछ ।
सोमबार सूचक सुस्त हुँदा खरिदबिक्री रकम पनि सस्त नै देखिएको छ । नेप्सेको गति सुस्त भएपछि कतिपय लगानीकर्ता भने ‘पर्ख र हेर’ को अवस्थामा बसेका छन् । घट्दा किन्नेहरु वा बढ्न थालेपछि मात्र किन्न चाहनेहरु दुवैथरी साइडवेज रहँदा भने वेट एन्ड वाच मुडमा रहेका हुन्छन् । किन भने यस्तो बेला सूचकमा खासै ठूलो उतारचढाव आएको हुँदैन । अर्थतन्त्रको सूचकहरुमा सुधार आउन थालेको, तरलता बढ्न थालेको लगायतका कारण आगामी दिनमा बजार क्रमशः सकारात्मक बन्दै जाने अनुमानहरु हुन थालेको छ ।
बजार निकै तल्लो विन्दुमा रहेको र मूल्यका आधारमा हेर्दा पनि निकै सस्तो भएकाले अकुमुलेसन चरण पूरा भएपछि बजारले गति लिन सक्ने कतिपयको तर्क छ । यता, बियरिस अवधि पनि १७ महिनामा लागिसकेको छ । गएको बुल अवधि पनि निकै छोटो रहेकाले वियरिसले पनि अब धेरै लामो समय नलिने कतिपयको भनाई रहेको छ । हाम्रो सेयर बजार जहिले पनि चक्रीय प्रणालीमै चलेको पाइन्छ ।
निश्चित वर्षको बुल र बियर हुने प्रचलन अहिलेसम्म पनि जारी छ । त्यही कारण बजार करिब १७ महिनादेखि बियरिस चक्रमा हिँडिरहेको छ । यो अवधि सकिएपछि फेरि बुलिस चक्र सुरु हुने धेरैले अनुमान लगाएका हुन् ।यद्यपि, भाउ सस्तो भएका बेला आम लगानीकर्ताहरुले योजनाबद्ध रुपमा सबल वित्तीय सूचक भएका तथा लाभांश क्षमता पनि राम्रो रहेका कम्पनीहरुमा लगानी गर्दै जान अनुभवीहरुले सुझाव दिने गरेका छन् ।