12/05/2026
कांग्रेस केन्द्रीय समिति विस्तारमा इतर पक्ष शेखर कोइराला र पूर्णबहादुर खड्का असन्तुष्ट, कसले के भने ?
पूर्णबहादुर खड्काको फेसबुक स्टाटस :
भर्खरै विशेष महाधिवेशनबाट गठन गरिएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको विस्तार गरिएको छ । यस विषयमा विभिन्न सञ्चार माध्यममा गरिएका टिप्पणीहरू र देशभरि साथीहरूमा देखिएको भ्रम अनि जिज्ञासा तथा यसमा मेराे भूमिकाका बारेमा उठाइएका प्रश्नका सम्बन्धमा मेराे गम्भीर ध्यानाकर्षण भएको छ ।
१. केही हप्ता पहिला गगन थापाजीसँग एक्लै र केही दिन अघि गगनजी र विश्वप्रकाशजीसँग सामूहिक भेटघाट–छलफल हुँदा मैले आफ्ना तर्फबाट–
क) देशको राष्ट्रियता इतिहासमै अत्यन्त ठूलो जोखिममा रहेको कुरा केही दृष्टान्त दिएर मेराे धारणा बताएकाे थिए ।
ख) नेपाली कांग्रेस स्थापना कालदेखि आजसम्मको हरेक भूमिका र कालखण्डमध्ये सबैभन्दा अप्ठेरो र प्रतिकूल अवस्थामा उभिएको घडी छ ।
ग) पपुलिज्मको नाममा संविधानवाद र लोकतन्त्रका आधार स्तम्भ तथा हाम्रा मूल्यमान्यताहरूमा एकपछि अर्को आक्रमण निरन्तर भइरहेकाे अवस्था छ लगायतका विषयहरू ......
यस्तो अवस्थामा,
२. सर्वप्रथम म प्रष्ट छु र प्रष्ट पार्न चाहन्छु कि नेपाली कांग्रेस पार्टीको बृहत् र सम्पूर्ण एकता नभई हामी राष्ट्रिय राजनीतिमा प्रभावकारी, हस्तक्षेपकारी र सार्थक भूमिका खेल्न सक्दैनौँ । त्यसैले पार्टीको बृहत् र सम्पूर्ण एकता गर्ने जिम्मेवारी मूलतः गगनजीको र दोस्रोमा विश्वजीको हातमा छ, त्यसमा हामी अरूको सहयोगी भूमिका हुन्छ । समय कम छ । अरू सबै कुरा भन्दा सर्वाधिक प्राथमिकतामा राखेर पार्टीलाई सम्पूर्ण रूपमा एक बनाउने अभियानमा आजैदेखि लाग्नुहोस् भनेर अनुरोध गरेको थिएँ ।
३. सम्बन्धित सबैमा प्रष्ट होस्, हिजो वैशाख २८ गते गरिएको भनिएको केन्द्रीय कार्यसमितिको मनोनयन सम्बन्धमा मसँग कुनै छलफल–परामर्श भएको छैन, मेराे जानकारीमा छैन ।
मेराे प्रष्ट मत छ :– २८ गतेको निर्णयले पार्टीको बृहत् र सम्पूर्ण एकता गर्नुपर्ने उद्देश्यमा ठेस पुग्न गएको छ ।
४. विभाजित कांग्रेसले विगतमा धेरै ठूलो हन्डर मात्र खानु परेन, हामीले आम नागरिकको भरोसा र विश्वास पनि गुमाउन पुग्यौँ । त्यसैले त्यतिबेला जिम्मेवारीमा रहेका शीर्ष नेता र भूमिकामा रहेका दुवैतर्फका सबैले आत्मसमीक्षा गर्दै पार्टीलाई बृहत् र सम्पूर्ण रूपमा संगठनात्मक र भावनात्मक एकता गराएर अगाडि बढेको इतिहासको अनुभव हामीसँग छ ।
५. हामीले फागुन २१ गते सम्पन्न आम निर्वाचनमा प्राप्त गरेको परिणामले हामीलाई झस्काएको मात्रै होइन, ठूलो क्षति समेत बेहोर्नु पर्यो । यसबाट सबक सिक्दै हामीले नयाँ सोच, दृष्टिकोण र साझा भावधारासहित सम्पूर्ण एकताको बाटोबाट अगाडि बढ्न प्रेरणा लिनुपर्ने संगीन घडीमा उभिएका छौँ ।
६. अझै पनि मलाई आशा छ– पार्टीको निर्णायक भूमिकामा बस्ने साथीहरू पार्टीको बृहत् र सम्पूर्ण एकता गरी सामूहिक भावना र साझा विचारबाट अगाडि बढ्ने दिशातर्फ अग्रसर हुनुहुनेछ ।
जय नेपाल 🙏🌳
शेखर कोइरालाको फेसबुक स्टाटस :
भर्खरै नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको विस्तार भएको छ । साथीहरुमा यसवाट स्वभाविक रुपमा मेरो भूमिका के कस्तो रह्यो र मैले कसरी यसलाई लिएको छु भन्ने जिज्ञाशा होला ।
१. मेरो सामान्य सोच के छ भने– पार्टीको समग्र एकता नभै हामी राष्ट्रिय राजनीतिमा सकृय र सार्थक भूमिका खेल्न सक्दैनौं ।
विगतको निर्वाचन परिणामले हामीलाई धेरै ठूलो शिक्षा दिएको हुनुपर्छ । कांग्रेसको समग्र एकता नै राष्ट्रको आवश्यकता हो । यसमा पद र व्यक्तिको कुरा गौंण हुन जान्छ । कांग्रेसको इतिहास र परम्परा यही हो ।
२. विभाजित कांग्रेसले विगतमा धेरै ठूलो हण्डर मात्र खानु परेन, आम नागरिकको भरोसा र विश्वास पनि गुमाउन पुग्यो । हामीले भर्खरै सम्पन्न आम निर्वाचनमा प्राप्त गरेको मत परिणामले हामीलाई झस्काएको मात्रै छैन, बरु नयाँ सोच, दृष्टिकोण र साझा भावबाट अगाडि नबढी नहुने प्रेरणा पनि दिएको हुनुपर्छ ।
३. हाम्रा अगाडि स्थानीय तह र प्रदेशको निर्वाचन छ । यसमा पनि हामी आम नागरिकको भरोसा जित्न असमर्थ भएमा राष्ट्रिय राजनीतिमा कांग्रेसको औचित्य माथि प्रश्न उठने खतरा म देख्दैछु ।
४. कांग्रेससँग आबद्ध हजारौं युवा, संघर्षशिल, त्यागी समूहको राजनीतिक भविष्य र राष्ट्र निर्माणमा तिनको भूमिकालाई सुनिश्चित तब मात्र गर्न सकिन्छ जब हामी भावनात्मक रुपले एकतावद्ध हुँदै राजनीतिक रुपले नागरिक मैत्री पार्टी बनाउने दिशातर्फ अगाडि बढछौं । मलाई विश्वास छ– पार्टीको निर्णायक भूमिकामा बस्ने साथीहरु सामूहिक भावना र साझा विचारवाट अगाडि बढनु हुनेछ ।
५. आज संविधानवाद र लोकतन्त्रलाई धरापमा पारेर लोक रिझ्याई (पपुलिज्म) को नाममा चौतर्फी हाम्रा आदर्श, मूल्य र सिद्धान्त माथि आक्रमण भैरहँदा पनि हामी गुट उपगुटमा विभाजन हुनु उदेक लाग्दो अवस्था हो, यसको अन्त्य जति छिटो हुन्छ नेपालको लोकतान्त्रिक पद्धतिले आफ्नो मौलिक मूल्य त्यति छिटो भेट्छ ।
अन्त्यमा, हिजो बैशाख २८ गते नेपाली कांग्रेस केन्द्रीय समितिमा गरिएको १९ जनाको मनोनयनले पार्टीको बृहत्तर एकतामा ठेस पुगेको छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनपछि नविकरण गरिएका र नयाँ वितरण गरिएका क्रियाशील सदस्यताको आधारमा नै पार्टीको १५ औं महाधिवेशन (एकता महाधिवेशनका रुपमा) सम्पन्न गरिनुपर्छ । कांग्रेस एकताको मुख्य आधार यो हुनुपर्छ ।