08/09/2026
रसुवामा आएको विनाशकारी बाढीपछि प्रभावित परिवारको उद्धार तथा राहतका लागि गायक तथा अभिनेता दुर्गेश थापा पनि सक्रिय भए । उनले बाढीपीडितका लागि व्यक्तिगत रूपमा विभिन्न राहत सामग्री उपलब्ध गराउँदै आफ्नो तर्फबाट सक्दो सहयोग गरे ।
दुर्गेशले प्रभावित परिवारका लागि आफैं खाना पकाएर खुवाउनुका साथै घरायसी सामानदेखि तत्काल आवश्यक पर्ने विभिन्न सामग्रीसमेत वितरण गरे । बाढीका कारण प्रभावित परिवारको अवस्था कठिन बनेपछि उनी राहत तथा उद्धार अभियानमा प्रत्यक्ष रूपमा जोडिएका हुन्।
दुर्गेशले व्यक्तिगत रूपमा करिब १० लाख रुपैयाँसम्मको राहत तथा सहयोग गरेको उनी निकट एक व्यक्तिले बताएका छन्। उनले आफ्नो क्षमताअनुसार प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले राहत सामग्री वितरण गरेको बताइएको छ।
केहि दिन राहत तथा सहयोग वितरण गरेपछि दुर्गेश आज लण्डन प्रस्थान गरेका छन्। लण्डनमा केही व्यक्तिगत तथा व्यावसायिक काम सकेर उनी छोटो समयमै नेपाल फर्किने तयारीमा रहेको बताइएको छ। नेपाल फर्किएपछि पुनः रसुवा, नुवाकोटका बाढीपीडितका लागि राहत वितरण तथा सहयोग अभियानमा सहभागी हुने उनको तयारी रहेको उनी निकट स्रोतले जनाएको छ।